ट्राफिक जरिवानाको भुक्तानी अब मेसिनबाट

ट्राफिक जरिवानाको भुक्तानी अब मेसिनबाट

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवाना सहज तरिकाले अनलाईनमार्फत् भुक्तानी गर्नसक्ने प्रणालीको सुरुआत गरेको छ । महाशाखाले आजदेखि जरिवाना रकम प्रभु-पेको किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्था शुरु गरेको हो ।

ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र प्रभु-पेका अध्यक्ष कुसुम लामाले आज संयुक्त रूपमा नगद पैसा हालेर ट्राफिक जरिवाना तिर्न सकिने प्रविधी प्रभु-पेको किअस्क मेसिन उद्घाटन गरेका हुन् ।

एसएसपी जोशीले ट्राफिक सेवालाई थप प्रविधिमैत्री बनाउदै आमसेवाग्राहीलाई ट्राफिक जरिवाना तिर्न सरल एव सहज होस् भन्ने उद्देश्यले यो मेसिनको जडान गरेको बताए ।

उनले किअस्क मेसिनमा सिधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिने बताउँदै यसले बैंकमा गएर लामो समय लाइनमा बस्ने झन्झटबाट मुक्त हुने र समयको समेत वचत हुने धारणा व्यक्त गरे ।

ट्राफिक महाशाखाले जरिवाना भुक्तानी गर्ने प्रविधिलाई क्रमश: परिस्कृत गर्दै आजैदेखि मेसिनमा नगद प्रयोग गरी जरिवाना तिर्न सकिने सेवा शुरु गरेको छ । अनलाइन भुक्तानी शुरु भएसँगै ट्राफिक नियम उल्लंघनको कारबाहीमा परेकाहरुले बैंकमा लाइन लाग्नुपर्ने झन्झट अन्त्य हुने विश्वास लिइएको छ ।

टिप्पणीहरू