ठगी आरोप लागेकी एन्जिनाले भनिन् : प्रहरीले हिरासतमा दमन गर्यो

ठगी आरोप लागेकी एन्जिनाले भनिन् : प्रहरीले हिरासतमा दमन गर्यो

जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा रहेको ठगी मुद्दा खेपी रहेकी भारतीय जी न्यूजकी पूर्वनेपाल संवाददाता एन्जिना कार्कीले आज पत्रकार सम्मेलन गरेकी छन् । रिर्पोटर्स क्लबमा बोल्दै उनले आफूलाई फसाइएको बताएकी हुन् ।

आफूले १० लाख जम्मा गरेर २१ महिनामा १६ लाख बनाउने लोभमा कारागारसम्म पुग्नुपरेको उनको भनाइ छ । कार्कीले सहकारीका सञ्चालक र उनका भाइ मिलेर आफूलाई फसाइएको बताएकी छन् । उनले आफूलाई फसाउने केदारनाथ शर्मा र ज्ञानेन्द्र शर्मा भनिने इन्दु तथा गोर्खे रहेको उल्लेख गरिन् । कार्कीले ज्ञानेन्द्रका तीन फरक फरक नाम रहेको दाबी गरेकी छन् ।

उनीहरुसँग आफू साढे तीन वर्षदेखि परिचित रहेको बताउँदै उनले चिनजान र लोभका कारण आफूले शर्माको सहकारीमा रकम जम्मा गरेको बताएकी छन् । पहिलो पल्ट पाँच लाख रुपैयाँ दिएपछि केदार शर्मा आफ्नो सम्पर्कमा नआएको आरोप लगाइन् ।

सम्पर्कविहीन हुन थालेपछि उनले शर्मालाई पटक पटक फोन गरेको र कैयौं बाहना बनाएर टारेकाले भेट हुन नसेको बताइन् । तर दोस्रो पटकमा उनका भाइ भनिने इन्दुलाई थप पाँच लाख रुपैयाँ दिएर उनीहरुलाई कुल १० लाख दिएको विवरण सुनाएकी छन् ।

कार्कीको भनाइलाई सत्य मान्ने हो भने केदारनाथले आफू उपत्यका बाहिर रहेको भन्दै भाइ इन्दु शर्मासँग भेट्न लगाएका थिए । केदारनाथले इन्दुसँग सम्पर्क गर्न लगाएपछि आफूले इन्दुलाई फोन गरेको कार्कीको जिकीर छ । फोन गर्दा इन्दुले बालुवाटारस्थित नेपाल हाउसमा बोलाएर पाँच लाख, दुई वटा फोटो र नागरिकताको प्रतिलिपी लिएर गएको उनको भनाइ छ । तर केही घण्टामा सहकारीको पासबुक उपलब्ध गराउने भने पनि पासबुक कहिल्यै नदिएको कार्कीले बताइन् ।

पासबुक नदिएपछि कार्कीले पटक पटक इन्दुलाई फोन गरेको तर सम्पर्कमा नआएको पनि बताएकी छन् । लामो समयपछि सम्पर्कमा आएका उनले पनि आफू र आफ्नी श्रीमती बिरामी परेकाले सम्पर्कमा आउन नसकेको जानकारी गराएको उनको दाबी छ । शर्मा सम्पर्कमा आएपछि उनले कार्कीलाई १६ लाखको चेक दिए पनि साट्न जाँदा बाउन्स भएको कार्कीको भनाइ छ ।

चेक बाउन्स भएपछि शर्मा दाजुभाईले आफूलाई फसाउने योजना बुनेको कार्कीको दाबी छ । शर्मा दाजुभाईले एक पटक ८ लाख, अर्को पटक ६ लाख बराबरको चेक गरि १४ लाख बैंक मार्फत दिएको र अन्तिम पटक होटल हिमालयमा बोलाएर २ लाख दिने क्रममा आफूलाई ठगेको भन्दै प्रहरी हिरासतमा पुर्याएको उनको आरोप छ ।

प्रहरी हिरासतमा १० दिनमा अनुसन्धान सकिए पनि आफूलाई प्रहरीले भन्नै नमिल्ने खालको दबाब दिएको बताएकी छन् । कार्कीका अनुसार उनलाई हिरासतमा भौतिक र मानसिक दुबै प्रकारको दबाब दिइएको थियो । साथै, शर्मा दाजुभाइले जाहेरी फिर्ता लिन आफूले उपत्यका बाहिरका शर्माको विरोधमा लेख्ने केही पत्रकारसँग मिलेर ठगी धन्दा चलाएको कबुलेमा फिर्ता लिने भनेर समेत बताएको उल्लेख गरेकी छन् ।

कार्कीले प्रहरीले समेत बयान परिवर्तन फेर्न भन्दै आफूमाथी क्रुरतापूर्ण व्यवहार गरेको जानकारी दिएकी छन् । प्रहरीलाई आफूले साथी मान्दै आएको तर आफू परेपछि मात्र प्रहरीको व्यवहार थाहा पाएको भन्दै आफूमाथि भएको घटनाको उनले घोर भत्र्सना समेत गरेकी छन् ।

गत मंसिर २७ गते संगठित ठगी आरोपमा जनसेवा प्रहरीले उनलाई होटल हिमालयबाट पक्राउ गरेको थियो । कार्कीको मुद्दा हाल जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ । उनले अदालतबाट आधा न्याय पाएको बताउँदै आफू पूर्ण न्याय पाउनेमा विश्वस्त रहेको दाबी गरेकी छन् ।

उनले भनेकी छन्, ‘मामाथि भएको गैरन्यायिक अनुसन्धानको विरोध गर्छु । बरु मलाई फसाउने शर्मा दाजुभाइहरुमाथि आवश्यक अनुसन्धान थालियोस् ।’

टिप्पणीहरू