चीनमा थप दुई संक्रमित फेला परे

चीनमा थप दुई संक्रमित फेला परे

चीनमा कोभिड–१९ का थप दुई जना संक्रमित फेला परेका छन् । उत्तरपूर्वी चीनको लिआओनिङ प्रान्तको तालियान शहरमा आज गरिएको परीक्षणको क्रममा दुई व्यक्तिमा कोभिड–१९ पोजेटिभ देखिएको हो ।

उत्तरी चीनको थिएन्चीन नगरपालिकाबाट फर्किएका दुई जनाको गत शनिबार थिएन्चीन छाड्दा गरिएको परीक्षणमा नतिजा नेगेटिभ आएको थियो । उनीहरुको सोमबारको रिर्पोट पनि नेगेटिभ आए पनि बुधबार बिहान गरिएको नियमित परीक्षणमा दुबैको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमित दुबैजना कलेजका साथी रहेको र आइतबार राति रेल चढेर तालियान पुगेका हुन् । त्यहाँ पुगेपछि कोभिड पोजेटिभ देखिएकाले दुबैलाई चिकित्सकीय निगरानीमा राखिएको बताइएको छ ।

आगामी महिना चीनमा हिउँदे ओलम्पिक शुरु हुँदैछ । त्यसअघि चीनमा शुन्य संक्रमितको लक्ष्य राखिएको छ । यसअघि जापानको राजधानी टोकियोमा भएको गृष्मकालीन ओलम्पिकमा धेरै जना खेलाडी, पदाधिकारी र स्थानीय संक्रमित भएकाले चीनले हिउँदे ओलम्पिकलाई सुरक्षित बनाउन जोड दिएको हो ।

टिप्पणीहरू