वैज्ञानिक समाजवादी यथार्थमा आधारित कृति ‘धूमिल स्मृति’

वैज्ञानिक समाजवादी यथार्थमा आधारित कृति ‘धूमिल स्मृति’

– समीक्षा यात्री

नेपालमा १० वर्षसम्म चलेको माओवादी युद्धका बेला लडाईंको मैदानमा होमिएकी योद्धा हुन् शोभा दुलाल । माओवादीमा रहँदा भातृसंगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को नेतृत्व तहसम्म पुगेकी शोभा विद्यार्थी आन्दोलन हुँदै जनयुद्धमा सामेल भएकी हुन् ।

मुलुकमा चरम विभेद, गरिबी र असमानता थियो । जातीय र वर्गीय विभेदको जीवन भोगाइसँगै दुलाल पनि परिवर्तनका लागि कठिन युद्धमा आफैँ समर्पित बनिन् । उनै शोभा हतियारको युद्धसँगै विचारको युद्धमा पनि कलम चलाउन रुचाउँछिन् । २०६८ सालमा ‘ज्वालामूखी फुटेपछि’ कवितासंग्रह प्रकाशित गरेकी उनको हालै संस्मरणात्मक कृति ‘धूमिल स्मृति’ प्रकाशित भएको छ । यो आलेख सोही कृतिमा देखिएको प्रवृत्ति चर्चामा केन्द्रित छ ।

जनताको बलमा जनताले शासकविरुद्ध विद्रोह गरेर नयाँ इतिहास रचना गरेको दृष्टान्त प्रशस्त भेटिन्छन् । शोभा त्यस्तै स्वप्निल यात्री बनेकी थिइन्, जो नयाँ इतिहास कोर्ने यात्रामा आफैँ लामबद्ध थिइन् । महान् जनयुद्धको प्रक्रियामा महिलाहरूले वर्गदुश्मन र पितृसत्तावाद दबावविरुद्धको संघर्षमा महत्वपूर्ण भूमिका निर्वाह गरे । यसै पृष्ठभूमिमाथि ध्यान दिँदै कविताका भावनाहरूमा शोभा यसरी पोखिन्छिन् ।

‘तिमी र म
वर्गसंघर्षको भट्टीमा
खारिँदै गर्दा पनि
मैले तिमीभित्रको संकीर्णतासँग
निरन्तर लड्नुपरेको छ
पेरिस कम्युनार्डदेखि
सगरमाथाको नौलो पथमा
नयाँ पाभेलहरू संगाल्दै
व्यक्तिगत स्वार्थहरूलाई त्यागेर
जनसमरको बिहानीमा
जीवन देख्दैछु
आफ्नै पसिना र रगतले
आफ्नो इतिहास लेख्दैछु
नारी जातिको मुक्तिका लागि ।’

(ज्वालामुखी फुटेपछि कविता संग्रहमा संग्रहित कविता नयाँ इतिहास लेख्दैछु)

यहाँ कविताको माध्यमबाट क्रान्तिकारी महिलाहरूले पुरुषहरूमा विद्यमान संकीर्णताको विरोध जनसमर अर्थात् जनयुद्धको बिहानीमा जीवन देख्दै गरेको कुरा राम्रोसँग प्रस्तुत गरिएको थियो । कविता संग्रह प्रकाशित भएको १० वर्षपछि शोभाले संस्मरणमार्फत वैज्ञानिक समाजवादी यथार्थ दृष्टिकोणमा आधारित कृति ‘धूमिल स्मृति’ पाठकमाझ ल्याएकी हुन् ।

परिवर्तन चाहनेहरु आफैँ बोल्नुपर्छ । जब परिवर्तन चाहनेहरु बोल्न थाल्छन् तब शासकहरुको ढोँगी चरित्र उदाङ्गिन्छ । वैज्ञानिक समाजवादी पार्टीका संयोजक तथा प्रगतिवादी साहित्यकार विश्वभक्त दुलाल आहुति भन्छन्, ‘महिलाहरू आफैँ बोल्न थालेपछि लोकतन्त्रको ढोँगी चरित्र पर्दाफास हुन्छ ।’ उनले पुस्तकको भूमिका लेख्नेक्रममा उल्लेख गरेका छन्, ‘संसारभरि जब महिलाहरू बोल्न थाल्छन्, सबै प्रकारका लोकतन्त्रहरूको ढोँगी चरित्र पर्दाफास हुन्छ । त्यसैगरी दक्षिण एसियामा जब दलितहरू बोल्न थाल्छन्, सबै प्रकारका प्रगतिशीलताहरू ढोँगी गफ प्रमाणित हुन्छन् । पुस्तकमा यस्ता सन्दर्भ जताततै असरल्ल बिस्कुन लागेका छन् ।’

आहुतिको ‘नयाँ घर’ उपन्यासलाई प्रेरणाको स्रोत मानेर जनयुद्धमा सामेल हुने सयौँ योद्धाहरू भेट्न सकिन्छ । नेपाली समाज र विश्व सर्वहारा वर्गीय आन्दोलन एवम् विद्रोहको परिघटनाहरूलाई गहिरोसँग अध्ययन गरेका आहुति असफल विद्रोहहरू पनि क्रान्तिकारीका लागि प्रेरणाको स्रोत हुनसक्ने ठान्छन् । ‘नेपालको इतिहासमा जनयुद्ध सबैभन्दा ठूलो तुफानी बलिदानको परिघटना थियो । जनयुद्ध जुन रफ्तारमा विकसित भयो, त्यही रफ्तारमा विसर्जन पनि हुन पुग्यो । जनयुद्ध नेपाली श्रमजीवी जनताले लिएको महान् पहलकदमी थियो । दुई हजार वर्षअघि युद्ध त स्पार्टाकसले पनि हारेका थिए तर उनका कामहरू आज पनि क्रान्तिकारीहरूका निम्ति प्रेरणाका स्रोत हुन्’, उनले शोभाको पुस्तकमाथि भूमिका लेख्दै भनेका छन् ।

शोभा कविताहरुमा जस्तै संस्मरणात्मक कृतिमा पनि सरल तरिकाले भाव व्यक्त गर्दै यथार्थ चित्रणमा अब्बल ठहरिएकी छन् । कृति सार्वजनिकीकरण कार्यक्रममा उभिएर नेकपाका नेता कृष्णहरि भट्ट भन्छन्, ‘पहाडी ग्रामीण भेगमा ढिँडो ओडाल्ने झाँगालाई विम्व बनाएर एक स्थानमा लेख्नुभएको छ । यो नयाँ विम्व निकै सुन्दर लागेको छ । कवि तथा लेखक आहुतिले भनेझैँ शोभा कला, कौशलभन्दा आन्दोलनमा निरन्तरताको कारण लेखक भएझैँ लागेको छ । कृतिमा आफ्नो वैवाहिक सन्दर्भ र भोगाइको मर्मस्पर्शी प्रस्तुती छ । तर आफूले भोगेका समस्याको दिशावोध छैन । नयाँ पुस्ताको लागि दिशाबोध पनि गरेको भए हुन्थ्यो । साँस्कृतिक रुपान्तरणको प्रक्रिया र चिन्तनको विषयमा पनि आएको छ । रुपान्तरण एउटा विषयमा भएर हुँदैन, सबै ठाउँ र प्रक्रियामा हुनुपर्दछ ।’

शोभाले आफ्नो कृतिमार्फत समाज परिवर्तनको लागि उत्कट अभिलाषा हुनुपर्छ र यस्तो अभिलाषाले समाजमा नयाँ पुनर्सिजना हुनसक्छ भन्ने कुरा भोगाइमा आधारित हुँदै लेखेकी छन् । सोही कुरामा सहमत छिन्, जनयुद्धको चर्चित गोरखा जेलब्रेकका एक योद्धा (नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता) उमा भुजेल ‘शिलु’ । उनले प्रस्तुत कृतिमा आफ्नो मन्तव्य व्यक्त गर्ने क्रममा भनेकी छन्, ‘शोभाको यो कृति आगोको पुनर्सिर्जन हो भन्दा हुन्छ । महिला उत्पीडनविरुद्ध आगो, जातीय उत्पीडनविरुद्ध आगो, विकृतिविरुद्ध आगो, संसोधनवादविरुद्ध आगो । रुसी महासंघ अन्तर्गत दागिस्तानका कवि रसुल हमजातोवले ‘मेरो दागिस्तान’ कृतिमा भनेका छन्, ‘पहाडी कथाव्यथा र पहाडका नारीहरूको आँखाको आँशुमा पनि आगो हुन्छ । बन्दुकको नालको टुप्पोमा पनि र म्यानबाट निकालिएको खुकुरीको धारमा पनि आगो हुन्छ ।’

शोभाको कृतिलाई नै उल्लेख गर्दै नेकपा मसालका नेता एवं प्रगतिशील लेखक संघका महासचिव समिर सिंहले यतिबेला हामी सबै धूमिल स्मृतिमा छौँ भन्दै भन्छन्, ‘जनयुद्धको समयमा यस्ता कृतिहरू कम लेखिएका थिए । हामी युवाहरूको गीत, आहुतिको नयाँ घर पढेर उद्धेलित हुँदै आयौँ । यस्ता कृतिहरूले दृष्टिकोण निर्माण गर्न सहयोग पु¥याएका थिए । आन्दोलनमा केही समय जो पनि लाग्न सक्छन् । निरन्तरता र अन्तिमसम्म लागिरहने कुरा महत्वपूर्ण हो । आन्दोलनमा निरन्तरता शोभाको लेखन शक्ति हो ।’

मान्छेका जीवनभोगाइ र लेखाइबिचको गहिरो अन्तरलाई संकेत गर्दै लेखक इमान्दार हुनुपर्छ भन्ने विन्दु शर्माको धारणा छ । पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै शर्माले भनिन्, ‘कृतिमा तथ्य, तर्क र विश्वासको सन्तुलन हुनुपर्छ । आत्मकथनमा कथाको जस्तो मिठास हुनुपर्छ । त्यसले पाठकलाई तान्न सक्नुपर्दछ । राजनीतिमा अगुवाहरूको संस्मरणमा अभिरुची हुन्छ । शोभामा अरु थुप्रै अनुभूति र विषय होलान् । भेटघाट र छलफलमा उहाँ ‘रिजर्भ’ बस्नुहुन्थ्यो । कृतिमा केही विषयय खुलेका छन् । तर अझै ‘रिजर्भ’ भएझैँ लाग्छ । उहाँ अन्तरमुखी स्वभावको हुनुहुन्छ ।

सामाजिक भेदभाव र त्यसको प्रतिरोधलाई कृतिमा उदिन्न लेखक सक्षम हुनुभएको छ । यो नै शोभाको लेखनमा रहेको शक्ति हो । कृतिले उठाएका विषयमा आफ्ना पाठकलाई सहमत गराउन सक्नुपर्छ । त्यसको लागि तथ्य र तर्कहरू आवश्यक पर्दछ । अझै तथ्यहरू संयोजन गर्नुपर्छ । उहाँका अझै संस्मरणहरू होलान् । अनुभूतिको अतिरञ्जना नगरिकन पाठकलाई सहमति गराउने शक्ति हुनुपर्छ । लुकाएर लेख्न नहुने, सबै उदाङ्गो पारेर लेख्न नसकिने समस्यामा लेखक पर्न सक्छ । लामो सहकार्य गर्दा पनि शोभालाई बुझ्न सकिनँ । अहिले कृतिमार्फत् थोरै बुझेको छु । पाठकको चरित्रमा परिवर्तन आयो भने सुन्दर मानिन्छ । यहाँका पात्रहरूमा समयक्रममा परिवर्तन देखिन्छ । त्यसैले कृति सशक्त छ । लेखकले आफूलाई नबढाई, अतिरञ्जना नगरि लेख्नुभएको छ । अहिले बजारका संस्मरण र आत्मकथा पढिनसक्नु छन् । उहाँले आत्मप्रसंशा गर्नुभएको छैन । यो लेखकको शक्ति हो ।’

नेकपाका केन्द्रीय सचिवालय सदस्य एवम् एचपी हिमालीको उपनाममा साहित्यमा स्थापित लेखक हेमन्तप्रकाश वली सुदर्शन भन्छन्, ‘आगमनात्मक र निगमनात्मक दुबै शैली लेखनमा स्वाभाविक हुन्छन् । कृति आगमनात्मक शैलीमा लेखिएको छ । निगमनात्मक शैलीमा पनि लेख्न सकिन्छ । दुवै आवश्यक छन् । शोभाको जीवन नै कथाको स्रोत हो । गृहयुद्धको समयमा यस्ता कृतिहरू लेखिन गाह्रो छ ।’

‘युवाहरूको गीत, रातो चट्टान क्रान्तिपछि लेखिए । ओयाङ हाइको गीत समाजवादी कालमा मात्र लेखियो । कार्ल माक्र्सले दर्शन, राजनीति, अर्थशास्त्र, संस्कृति तथा साहित्य अध्ययन गर्नुभएको थियो । साहित्यको अध्ययन नगरी समाज बुझ्न सकिन्न ।’ उनले भनेका छन् ।

शोभा विद्रोही स्वभावकी छन् । खरो मिजासको स्वभाव हो उनको । तर उनको जीवनशैली सरल छ । जीवनजस्तै लेखन पनि सरल पाइन्छ उनको कृति ‘धूमिल स्मृति’मा । पुस्तकमा समेटिएको धर्म, भेदभाव, सबै अरु कसैले भन्दा उनी आफ्नै जीवन व्यवहार र भोगाइबाट निष्कर्षमा पुगेकी छन् । भनिन्छ, समाजबोध पुस्तकको शक्ति हो । जुन समाजमा समस्या छ, समाधान पनि त्यहीँ समाजभित्रै छ भन्ने चित्र दुलालको कृतिमा पाइन्छ । यसर्थ समाजवादी यथार्थमा आधारित कृति हो ‘धूमिल स्मृति’ भनेर भन्न सकिन्छ ।

टिप्पणीहरू