एमाले अधिवेशनमा धाँधली, मतगणना स्थगित

एमाले अधिवेशनमा धाँधली, मतगणना स्थगित

आमचुनावमा हुने धाँधलीका कुरा नेपाली राजनीतिमा नौलो होइन । संसदीय होस् या स्थानीय चुनाव, धाँधलीका घटना आइरहन्छन् । उम्मेदवारहरुले परिणाम आफ्नो पक्षमा पार्न साम, दाम र दण्डभेदको प्रयोग गर्नु चुनावी विशेषताजस्तै भइसकेको छ । घात–अन्तर्घातका कुरा पनि अनौठो मानिँदैन ।

आमचुनावमा नाजिजा हात पार्न हुने गरेका यस्ता तिकडम र षड्यन्त्र पार्टीको आन्तरिक चुनावमा समेत देखिन थालेको छ । हुन त, यसअघि पनि चुनाव हारेकाले अरुलाई षड्यन्त्र गरेको आरोप लगाएका थुप्रै घटना बाहिरिएका छन्, तर आधिकारिक रुपमै पार्टीको चुनावमा फर्जी मत खसेको भने त्यत्ति सुनिएको थिएन । तर, एमाले दैलेखमा भएको निर्वाचनमा फर्जी मत भेटिएपछि पार्टीका आन्तरिक चुनावमा समेत धाँधली हुने गरेको प्रमाणित भएको हो ।

मुलुककै सबैभन्दा ठूलो राजनीतिक पार्टी र व्यवस्थित संगठन भएको दाबी गर्ने एमालेको जिल्ला अधिवेशनका क्रममा दैलेखमा भएको नेतृत्व चयनको निर्वाचनमा फर्जी मत खसेको भेटिएको हो । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा खसेकोभन्दा ३१ मत बढी भेटिएपछि त्यहाँको मतगणना नै स्थगित भएको छ ।

स्थानीय एक नेताका अनुसार निर्वाचनमा जम्मा ७ सय २१ मतदाता रहेकामा ७ सय १८ मत खसेको थियो । तर मतगणनाको समयमा ७ सय ४८ मत भेटिएपछि मतगणना स्थगित गरिएको उनले बताए । अब केन्द्रीय निर्वाचन आयोगको छानबिनपछि मात्र थप प्रक्रिया अघि बढाइने छ ।

एमाले दैलेखमा अध्यक्षका लागि सूर्यबहादुर शाही र रविन्द्रराज शर्मा चुनावी मैदानमा छन् । फर्जी मत भेटिएपछि विवाद चर्किएको र पुनः मतदान गराउने या नगराउने भन्ने सहमति नजुटेको ती नेताले बताएका छन् । निर्वाचनमण्डलको कार्यक्षमता माथि पनि प्रश्न उठाइएको छ ।

टिप्पणीहरू