असहमतिमा एमसीसी पास हुँदैन : काँग्रेस सह–महामन्त्री

असहमतिमा एमसीसी पास हुँदैन : काँग्रेस सह–महामन्त्री

नेपाली काँग्रेसका सह–महामन्त्री भीष्मराज आङदेम्बेले दलहरुबीच सहमति भएपछि मात्र एमसीसी पास हुने बताएका छन् । प्रेस युनियन पाँचथरले सदरमुकाम फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आङ्देम्बेले दलहरुबीचमा सहमति नभई एमसिसी पास नहुने बताएका हुन् ।

उनले हिजो सत्तामा भएकाहरुले सत्तामा हुँदा र आज सत्तामा नहुँदा दिएका फरक अभिव्यक्तिले जनतामा एमसीसीप्रति भ्रम सिर्जना गरेको पनि बताए । पार्टीभित्र विसंगतीहरु रहेको बताउँदै आङ्देम्बेले त्यसलाई केन्द्रदेखि नै शुद्धीकरणको अभियान चलाइने जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा एमालेले गरेको संसद अवरुद्धबारे बोल्दै उनले विपक्षीले संसद अवरुद्ध गर्दासमेत वार्ताबाटै समस्या समाधान गर्नुपर्नेमा आफूहरुले जोड दिएको टिप्पणी गरेका छन् । ‘संसद अवरुद्ध गर्ने अनि भत्ताचाँही खाइरहने प्रवृत्तिले मुलुकलाई थप अन्योलमा पुर्याएको छ,’ आङ्देम्बेको ठहर छ ।

नेपाल प्रेस युनियन पाँचथरका अध्यक्ष जितेन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काँग्रेस जिल्ला सभापति रुपनारायण जवेगु, प्रदेश १ सदस्य मित्रप्रसाद काफ्ले, प्रदेश ‘ख’ सभापति मैयाँ श्रेष्ठ लावती, नेपाल पत्रकार महासंघ प्रदेश १ उपाध्यक्ष लवदेव ढुंगाना, नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष गिरीराज बास्कोटा, युनियन पाँचथरका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघ प्रदेश १ पूर्वसदस्य विपेन्द्र गौतम लगायतको उपस्थिति थियो ।

– लेखनाथ शिकारु

टिप्पणीहरू