झाँक्री, पौडेल र न्यौपानेले छेकेको गरिब विद्यार्थीको विज्ञान पढ्ने सपना !

झाँक्री, पौडेल र न्यौपानेले छेकेको गरिब विद्यार्थीको विज्ञान पढ्ने सपना !

-विराट अनुपम

नेपालमा विद्यालय सकेर विज्ञान पढ्न मेधावी हुनुले मात्र पुग्दैन । धनी हुनुपर्छ । यसको एक जरो हो ०६५/६६ को आर्थिक वर्षदेखि त्रिभुवन विश्वविद्यालयले गरेको प्रविणता प्रमाणपत्र र तीनवर्षे व्यावसायिक शिक्षाको अन्त्य । त्यो वीभत्स निर्णयअगाडि एसएलसी (अहिलेको एसईई) सकेका गरिब विद्यार्थीले त्रिविअन्तर्गत विज्ञान संकाय पढाउने देशभरका क्याम्पसमा भर्ना हुन र प्रवेश परीक्षा दिएर पास हुनेहरूले पढ्न पाउँथे । पैसा तिरेर पढ्नेलाई शुल्क सस्तो हुन्थ्यो । तिरेर भन्दा नतिरेर पढ्नेको संख्या धेरै हुन्थ्यो ।

आइएस्सी पठन लोककल्याणकारी राज्यको शैक्षिक अवस्था झल्काउने त्यस्तो सुन्दर व्यवस्था थियो । विपन्न र मध्यम आय भएकाहरूलाई एक गज्जब विकल्प थियो त्यो । केही हजारको वार्षिक शुल्कमै विद्यार्थीले विज्ञान विषयमा आइएस्सी सक्थे । सक्नेहरूले पुनः प्रवेश परीक्षा दिन्थे । कसैले एमबिबिएसदेखि कसैले इञ्जिनियर हुने बाटो बनाउँथे ।  आइएस्सी नपढ्नेहरूले त्रिविकै सञ्चालनमा रहेका ओभरसियर पढ्थे । एचए पढ्थे । नर्सिङदेखि वन विज्ञान सम्म अत्यन्तै सस्तो र धेरै छात्रवृत्तिमा पढ्थे ।

जब त्रिविले प्रविणता प्रमाणपत्र र तीनवर्षे व्यावसायिक शिक्षा अन्त्य ग¥यो तब देशका विपन्न र निम्नमध्य आयका विद्यार्थीको भविष्य खोसियो । छात्रवृत्तिमा सित्तैमा वा शुल्कमा केही हजारमा विज्ञान पढ्न सक्नेहरूलाई अहिले निजीमा लाख माथि मात्रै त्यो शिक्षा लिन सम्भव छ । सहजै ओभरसियर कक्षा लिएर जागिर खानेहरूले अहिले सात लाखमाथिको पैसा तिरेर पढ्न विवश छन् । त्रिविको खारेजी अगाडि विपन्न तथा निम्नमध्यम आय भएकाहरूले कम्तीमा डाक्टर वा इञ्जिनियरको प्रवेश परीक्षासम्म जाने हैसियत राख्थे ।

सस्तो र निःशुल्क विज्ञान तथा व्यावसायिक पढाइले त्यो विकल्प दिएको थियो । अहिले त पैसा नहुनेहरूले विज्ञान ताक्नै सक्दैनन् । निजी क्षेत्रको नेतृत्वमा भएको प्लस टु विज्ञानमा गरिब र विपन्नलाई स्थान छैन । केही मेधावीलाई छात्रवृत्ति दिए पनि त्रिविको जस्तो सहज छैन । अनेकन नामका शीर्षकमा विद्यार्थी पैसा तिर्न विवश छन् ।

त्रिविका उपकुलपति माधवप्रसाद शर्मा, रेक्टर सूर्यलाल अमात्य र रजिस्ट्रार भीमराज अधिकारीको पालामा यस्तो प्रविणता प्रमाणपत्र खारेजीको निर्णय भएकाले प्राविधिक कोणमा दोष त्रिविकै हो । त्रिवि पदाधिकारीकै हो । तर, विद्यार्थी राजनीति गर्नेहरूको सक्रिय समर्थनमा उक्त खारेजी भएकाले त्यसमा उनीहरू मुख्य दोषी छन् । तत्कालीन अनेरास्ववियु अध्यक्ष रामकुमारी झाँक्री, नेपाल विद्यार्थी संघ अध्यक्ष प्रदीप पौडेल र अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष लेखनाथ न्यौपाने त्यसका मुख्य दोषी हुन् ।

अझ कम्युनिष्ट पार्टीको विद्यार्थी संगठनको नेतृत्व गर्ने झाँक्री र न्यौपाने मुख्य दोषी हुन् । देशमा राजनीतिक परिवर्तन ल्याएको, राजतन्त्र ढालेकोदेखि केपी ओली कै सत्ता ढालेको जस्ता कुरामा ठुल्ठूला हाँक र गफ हान्ने झाँक्री, पौडेल र न्यौपानेलाई एक बबुरो त्रिविको गरिबमारा निर्णय रोक्ने ल्याकत कसरी आएन? अहिले झाँक्री शहरीमन्त्री छिन् । न्यौपाने माओवादीका प्रभावशाली केन्द्रीय नेता भित्र पर्दछन् । पौडेल चौधौँ महाधिवेशनमा महामन्त्री हारे पनि नेपाली कांग्रेसका शक्तिशाली युवा नेता छन् ।

उनीहरूको राजनीतिको जग विद्यार्थी आन्दोलन हो । विद्यार्थीमा पनि सरकारी क्याम्पस पढ्ने बहुसंख्यक गरिब छन् । तिनैको नाममा राजनीति गरेर उनैको नाममा यी तीनले डन्डा चलाए । आफ्नो राजनीतिक लाचारी र केही स्वार्थको नाममा गरिब विद्यार्थीको भविष्य खोसे । गरिब विद्यार्थीको सुन्दर शैक्षिक भविष्य थुतेर आफ्नो राजनीतिक भविष्य बनाउन सफल भएका तत्कालीन तीन मुख्य विद्यार्थी संगठनका नेता त्रयलाई कुनै दिन इतिहासले अवश्य मूख्यांकन गर्नेछ ।

नेपालीको प्रतिव्यक्ति आय हजार अमेरिकी डलर पुगेको देखि हात–हातमा स्मार्ट फोन भएको दृश्य काठमाडौँका आलिसान महलमा बसेर हेर्दा झाँक्री, पौडेल र न्यौपानेलाई लाग्दो हो नेपाली धनी भइसके । निजीमा पढ्न सक्छन् । नेता त्रयलाई जानकारी होला अझै पनि एक चौथाइ हाराहारी नेपाली गरिबीको रेखामुनि छन् । उनीहरूले सहयोग गरेर त्रिविले प्रविणता प्रमाणपत्र खारेज गरेपछि त्यही एक चौथाइ नेपालीका छोराछोरीको विज्ञान पढ्ने बाटो बन्द भएको छ ।

उमेर बढाएर विदेश जाने वा अन्य विषयमा खुम्चन बाध्य छन् उनीहरू । आज झाँक्री, पौडेल र न्यौपानेले विज्ञापन गर्ने सार्वजनिक यातायातदेखि सिनेमामा हुने केही रुपैयाँ विद्यार्थी छुटले विज्ञान पढ्न लाग्ने लाखौँको शिक्षा शुल्कले गिज्याउँछ । केही रुपैयाँ मात्रै लाग्ने क्षेत्रमा केही प्रतिशत छुट दिलाएर लाखौँमा मात्रै पढ्न सकिने विज्ञान विषयमा गरिबलाई प्रवेश हुन नसक्ने अवस्था बनाउने यी नेतात्रय हुन् । यस्तो वीभत्स निर्णय उनीहरू नै आफ्नो संगठन प्रमुख हुँदा उनीहरूकै साक्षी सहमतमा भएको थियो ।

‘जयतु संस्कृतम’ भाग दुई र ‘कामिला बायेखो’ पर्खिरहेको नेपाली विद्यार्थी आन्दोलन २००४ साल असार १ गते तीनधारा पाठशालामा बढेर संस्कृत प्रधान पाठशाला रानीपोखरी पढ्ने विद्यार्थीले सडकमा आन्दोलन छेडे । श्री ३ पद्मसमशेरको पालामा भएको आन्दोलनको मुद्दा शिक्षाको आधुनिकीकरण थियो । संस्कृतका अतिरिक्त इतिहासदेखि भूगोलजस्ता विषय पढाइ हुनुपर्ने थियो । उक्त आन्दोलनले शैक्षिक सुधार मात्रै भएन राणाशासन नै अन्त्य गर्न भूमिका खेल्यो । सोही आन्दोलनबाट आएका काशिनाथ गौतम २०१५ को चुनावमा गुल्मीबाट निर्वाचित मात्रै भएनन् बीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारको मन्त्रीसमेत भए ।

जयतु संस्कृतम् आन्दोलनपछि भएका नेपाली विद्यार्थी आन्दोलन विशुद्ध राजनीतिक भए । विद्यार्थीकै एजेण्डा प्रमुखता बनाएर आन्दोलन आएका छैनन् । अब नेपालमा त्यस्तो आन्दोलनको माहोल बढ्दै गएको छ । शिक्षामा गरिब भएकैले क्षमता नभएर पढ्न नपाएका लाखौँ विद्यार्थी छन् । सरकारको गलत नीतिले विज्ञान पढ्ने बाटोमै तगारो लगाइएको लाखौँ गरिब नेपालीका छोराछोरी छन् । तिनको मुद्दा बोक्ने नेताको अहिले आवश्यकता छ ।

त्यो नेता हुने अनुहार न अनेरास्ववियु अध्यक्ष सुनिता बरालको छ न नेपाल विद्यार्थी संघ अध्यक्ष राजीव ढुंगानाको छ न त छ अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष पन्चा सिंहकै । बराल, ढुंगाना र सिंहको राजनीतिको प्रमुख चन्दादाता निजी क्षेत्रका शैक्षिक साहुजी हुन् । आफ्ना साहुविरुद्ध आन्दोलनको जेहाद छेड्ने नैतिक बल छैन । उनीहरू आफ्नो संगठनमा निर्वाचित भएर आएका पनि हैनन् । टीका लाएर आएका हुन् । टीका लाएर आएकाहरूले आफ्नै संगठनको भावना बोक्न सक्दैनन् । आम विद्यार्थीको त झन् सक्ने कुरै आउँदैन ।

नेपाली विद्यार्थी आन्दोलनले खोजेको अनुहार कामिला बायेखोको हो । यसलाई अंग्रेजी उच्चारणमा भने क्यामिला भालेजो भनिन्छ । सन् २०११ देखि २०१३ सम्म ल्याटिन अमेरिकी मुलुक चिलीकी यी नेत्रीजस्तै नेतृत्व नेपाली विद्यार्थी आन्दोलनमा आएमा आन्दोलनले उचाइ लिन सक्छ । बायेखोले थालेको आन्दोलनले निजीकरणले थलिएको र महँगो शिक्षा शुल्कमा चिली सरकारले खुकुलो बनाउन बाध्य भयो । शिक्षामा लागानी बढाउन तयार भयो ।

बिबिसीदेखि न्युयोर्क टाइम्ससम्मले बायेखोको कभरेज गरेका थिए । स्पेनको एबिसी अखबारले त उनलाई चिलीकी चे गुएभारासमेत भनेको थियो । रोचक कुरा कामिला भायेखो उक्त आन्दोलन शुरु गर्दा २३ वर्षकी मात्रै थिइन् । निजीकरण र महँगी आतंकले थलिएको नेपाली शिक्षा क्षेत्रले जयतु संस्कृतम् आन्दोलन भाग दुई र नेपाली कामिला भायेखोको नेतृत्व खोजिरहेछ ।

टिप्पणीहरू