संसद हाहु गरेर सिध्याउने सुर

संसद हाहु गरेर सिध्याउने सुर

– वैकुण्ठ ढकाल

नेपालको सबैभन्दा ठूलो दलका शीर्ष नेता खड्गप्रसाद ओलीले केही दिनअगाडि विराटनगर पुगेर चेतावनी दिए– अब नयाँ सांसद् नआएसम्म संसद चल्दैन । यसको मतलव नेकपा एमाले सबैभन्दा लामो समय संसद अवरुद्ध गरेर खराब कीर्तिमान राख्ने योजनामा रहेको स्पष्ट हुन्छ ।

यसअघि पनि लामो समय संसद अवरुद्ध गरेको कीर्तिमान एमालेको नाममै थियो । एमालेले इतिहासमा झण्डै दुई महिना लगातार संसद् अवरुद्ध गरेको थियो । अब त्यो क्रम झण्डै दुई वर्ष पुग्ने देखिएको छ । किनकि संसद्को निर्वाचन हुन नियमित प्रक्रियामा गए, डेढ वर्षजति लाग्छ । मतगणना र समानुपातिक निर्वाचनको नतिजा आउन हिसाबकिताब गर्दा एक महिनाजति लाग्छ । त्यसपछि बैठक बोलाउने प्रक्रियाका लागि केही समय गर्दा झण्डै दुई वर्ष लाग्ने देखिन्छ ।

दुई दुई पटक संसद् विघटन गरेको ओलीलाई संसद् चल्नु र नचल्नुले केही फरक पर्नेवाला छैन । सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापना भएकै मन परेकै थिएन । मै शासक हुँ, मैले गरेको सबै ठीक भन्ने लागेका ओलीलाई आफूबाहेक अरु प्रधानमन्त्री बनेको किन मन पथ्र्यो र ? हुँदाखाँदाको संसद् विघटन गरेर पनि प्रधानमन्त्रीमा भने टिकिरहने योजनामा बिराम लागेपछि ओली विक्षिप्त भएकै हुन् ।

आफूबाहेक प्रधानमन्त्रीको कुर्सीमा अरुलाई देख्न नचाहने ओली फेरि पनि त्यो कुर्सीमा पुग्ने भनिरहेका छन् । हुन त राजनीतिमा असम्भव केही हुन्न । राजनीति सरल रेखामा हिँड्थ्यो भने त संसद्को सबैभन्दा ठूलो दल प्रमुख प्रतिपक्षी किन हुन्थ्यो र ! यो सबै हुनुमा ओली आफ्नो हैन अरुकै बढी हात देखिरहेका छन् ।

ओलीलाई लागिरहेको छ यो सबै कुरा सर्वोच्च अदालतको कारणले हो । ओलीकै भाषामा भन्ने हो भने अदालतले चोर बाटोबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री नबनाइदिएको भए यो दिन आउने थिएन । त्यो त पछिको कुरा हो, आफ्नो सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले जस्तै सर्वोच्च अदालतले पनि अनुमोदन गरिहाल्छ भन्ने लागेको थियो ।

ओलीले घोषणा गरे पनि ६ महिनामा निर्वाचन हुने थिएन । यो वा त्यो बहानामा प्रधानमन्त्रीको कुर्सीमा रहिरहने चालबाजी थियो । यदि सही तरिकाले प्रधानमन्त्रीको कुर्सीमा रहिरहने चाहना थियो भने त आफ्नै दलभित्रको सहयात्रीलाई चित्त बुझाएर पूरा कार्यकाल चलाउँथे । राम्रो काम गरेर फेरि अर्को कार्यकालको लागि प्रधानमन्त्रीको दाबेदार हुन्थे । के थाहा उनी नै फेरि प्रधानमन्त्री हुन्थे कि !

कुरा जेसुकै होस् । ओलीलाई पहिले पनि संसद् चलेको मन परेको थिएन । अहिले पनि मन परेको छैन । संसद् कसरी हुन्छ चल्न नदिने ओलीको योजना देखिन्छ । संसद् अवरुद्ध गर्नुपर्ने कुनै कारण छैन । संसद्मा माधवकुमार नेपाल भएको कत्ति पनि चित्त बुझेको छैन ।

हुन पनि हो आफैँले कारबाही गरेको नेपालसहितका १४ जना सांसद संसद्मा भएको मन परेको छैन ।अनि आफूले कारबाही गरेका सांसदलाई नहटाएको सभामुख अग्निप्रसाद सापकोटाप्रति पनि निकै ठूलो असन्तुष्टि छ । हुन त ओलीलाई सापकोटा सभामुख भएकै मन परेको थिएन । मन नलागी नलागी सभामुख बनाउनुपरेको तुष अझै पनि मनमा छ ।

ओलीको बानी नै हो मन नपरेको मानिसको सास परबाटै गन्हाउँछ । उनले गरेका निर्णय गलत नै भए पनि अनुमोदन हुनै पर्छ, त्यो नभए निकै बिज्छ । जसरी अहिले ओलीलाई एउटै पार्टीमा भए पनि भीम रावलर घनश्याम भुसालको सास परैबाट गन्हाइरहेको छ । यो गन्हाउने क्रम ओलीलाई आजीवन रहिरहने पक्का छ ।

सर्वोच्चपछि ओलीलाई सबैभन्दा धेरै रिस उठ्ने मानिस माधवकुमार नेपाल हुन् । नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन भइसक्दा पनि उनी नेपालबाहेकका नेताहरू फर्किए पार्टीमा स्थान दिने बताइरहेका थिए । माधव नेपाललाई कुनै पनि हालतमा ठाउँ नदिने अडान थियो ।

हुन त नेपाललाई लामो समयदेखि साथ दिएका १० भाइ १० बुँदेका नाममा एमालेमै रहे । एमालेमै रहे पनि १० भाइको स्थिति के छ भन्ने सबैले बुझेका छन् । एमाले फुटेर अर्को दल भइसक्दा पनि मन्त्रीको गुलियो चास्नीमा भुलेर माओवादीका केही भाइ ओलीकै पछि लागे । अहिले ओली उनीहरूको संरक्षणका लागि मरिमेटेर लागेका छन् ।

उनीहरूको संरक्षणका लागि चितवनमा भएको दशौं महाधिवेशनमा के गरे भन्ने विषय जगजाहेर छ । सामान्यतया जुनसुकै निर्वाचनमा पनि अमुक अमुकलाई मतदान गरौं भनिन्छ । तर एमालेको चितवन महाधिवेशनमा त अमुक अमुकलाई मतदान नगरौं भनेर पर्चा बाँडियो ।

चितवन महाधिवेशनको मुख्य योजना त ओलीलाई नेतृत्वमा अनुमोदन गर्नु र नेकपा माओवादी केन्द्रबाट एमालेमै रहेकाहरूलाई संरक्षण गर्नु थियो । त्यसमा सफल भए । ओलीले जे भन्यो त्यही हुन्छ भन्ने कुरा त गोदावरीमा भएको विधान महाधिवेशनले पनि देखाएकै हो ।

संघीय सरकारदेखि प्रदेशका सरकारबाट हात झिक्नु परेकोमा पनि कुनै पछुतो थिएन । त्यो सबै भएको आफ्नो कारणले हैन अरुकै कारणले हो भनेर लागिरहेकै थिए । अहिले ओलीलाई जतिसक्दो छिटो चुनाव चाहिएको छ । चुनावको शर्तमा ओली संसद्बाट एमसीसी पास गर्न तयार छन् ।

ओलीले भनेजस्तै भयो, प्रधानमन्त्री शेरबहादुर देउवाले अर्ली इलेक्सनका लागि तयार भएर निर्वाचनमा गए पनि ओलीले भनेजस्तो सजिलो छैन । अहिले केपी ओलीले जस्तै शेरबहादुर देउवाले पनि पार्टीलाई पहिलो बनाउने दाबी गरिरहेका छन् । संसद्को तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले पनि आगामी निर्वाचनबाट पहिलो पार्टी बन्ने भन्दैछ ।

जसले जे भने पनि पहिलो पार्टी त एउटा हुने हो । यी तीनवटै दलका शीर्ष नेताले चुनावपछि भन्ने पनि एउटै कुरा हो, मेरा कारणले हैन अर्कैका कारणले हो पहिलो हुन नसकेको । जसरी ओलीले आफ्नो कारणले हैन अर्काकै कारणले सत्तापक्षबाट प्रतिपक्षी हुन परेको हो भनेका छन् । जसरी गत चुनावमा शेरबहादुर देउवाले पार्टी हार्नुको कारण आफू मात्रै हैन भने ।

जसरी दोस्रो संविधानसभा निर्वाचनपछि धाँधलीका कारण आफ्नो पार्टीले चुनाव हारेको भने । यसरी हेर्दा आफूबाहेक अरुलाई खराब देख्ने चश्माबाट नेताहरू मुक्त छैनन् । यसले उनीहरूको स्वार्थ त सिद्ध होला, देश र जनताको स्वार्थ सिद्ध हुने देखिँदैन । नेताहरूले आफ्नो मात्रै लाभ हेरिरहँदा जनताले लामो समय दुःख पाइरहनुपर्ने देखिन्छ ।

टिप्पणीहरू