पद पाउनासाथ एक हप्तामै इधरउधर ?

पद पाउनासाथ एक हप्तामै इधरउधर ?

सुवास कर्माचार्य, एमालेबाट भर्खरै विद्रोह गरेका नेता

कोमल वली, मोतीलाल दुगड, दुर्गा प्रसाईं ‘मार्सी’ जस्ता नवप्रवेशीहरू धमाधम केन्द्रीय सदस्यमा गोजीबाट छानिँदा ४०औं वर्षदेखि रगत–पसिना बगाएका सुरेन्द्र मानन्धर, नरेश खरेल, कृष्णभक्तहरू निषेधमा परे । नेतृत्वको यस्तै रवैयाका कारण सिन्धुपाल्चोकमा पुराना एमाले नेता सुवास कर्माचार्य एमालेबाट विद्रोह गर्नुपर्ने स्थितिमा पुगे । ०३७ सालको विद्यार्थी आन्दोलनबाट एमालेमा उदाएका हुन् उनी । ०५१ सालमा प्ररायुसंघको केन्द्रीय सदस्य, ०४८ देखि ०५७ सम्म नेकपा एमाले सिन्धुपाल्चोकको उप्रप्रमुख र ०५८ देखि २०६६ सम्म पार्टी प्रमुख भएर जिल्ला हाँके । सिन्धुपाल्चोकबाटै सांसद बने । ०६३ सालमा संसद् पुनःस्थापना भएपछि पूर्वराजाको सम्पत्ति छानबिन समितिको संयोजक भएरसमेत काम गरे । गत निर्वाचनमा सिन्धुपाल्चोकका १२ मध्ये ७ वटा पालिका एमालेले जित्यो । ६० प्रतिशत वडा एमालेकै कब्जामा थियो । झण्डै ५२ हजार मत एमालेको पोल्टामा पर्दा माओवादीले २५ हजार र कांग्रेसले २७ हजार मत ल्याएका थिए । एमाले निर्माणमा रगत–पसिना बगाएका कर्माचार्यजस्ता पुराना नेता अलग हुँदा सिन्धुपाल्चोकमा एमालेलाई कति असर पर्ला ? प्रस्तुत छ, उनका अनुभूति :

– हरि गजुरेल

२३ पुसमा सिन्धुपाल्चोकमा जिल्ला अधिवेशन छ यसको मुखैमा हठात् एमाले त्याग्नुपर्ने बाध्यता के आइलाग्यो ?

– पार्टीभित्र गलत चिन्तन, प्रवृत्ति, व्यवहार देखिएका छन् । यसबारे आन्तरिक रूपमा आवाज उठेको हो, ध्यानाकर्षण गराउने काम भइरहेकै हो । विधान महाधिवेशन गरिसक्दासम्म विगतमा भएका कमजोरी स्विकार्दै, सच्याउँदै, पार्टीमा उन्नतस्तरको र सबै खालको भावनात्मक एकता हुनेछ भन्ने अपेक्षा गरिएको थियो तर ती पूरा हुने देखिएन । गलत प्रवृत्तिविरुद्ध नयाँ ढाँचाको संघर्ष गर्नुपर्ने स्थिति आयो र विद्रोह गरिएको हो ।

तपाईं केन्द्रीय सदस्यको आकांक्षीलाई ल्याउनु हुँदैन भनेर केही नेता बालकोट पुगेको पनि सुनियो । के हो यथार्थ ?

– केन्द्रीय सदस्य नपाउँदा आवेश, भावना, पैदा भएको भन्ने ढंगले पनि केहीले बुझ्ने गरेको पाएको छु । तर, म विन्रमतापूर्वक के भन्न चाहन्छु भने यो कुनै व्यक्तिले प्राप्त गर्ने वा नगर्ने भन्ने कुरा रहेन । पार्टीभित्र पूर्ण जनवाद मान्ने एउटा लाइन थियो । नवौं महाधिवेशनमा दुईवटा प्यानल बनाएर, सोहीअनुसार अभ्यास गरेर मत मागिएकै हो । त्यो बेला प्रतिनिधिले विवेक पु¥याएर सन्तुलित टिम बनाए, नभए पार्टी उहिल्यै विघटन हुन्थ्यो ।

अहिलेको सन्दर्भमा पनि नेतृत्वले सबैको नाम प्रस्ताव गरिरहँदा विवेक पु¥याउनुपर्ने थियो । केको मापदण्डका आधारमा ल्याउने ? योग्यता, क्षमता, जातीय, भूगोललगायत कुरा हेर्नुपर्ला । लामो समय काम गरेका साथीहरू के कारणले छुटाइयो ? उहाँहरूलाई नल्याउनुपर्ने कारण के हो ? स्थापनाकालदेखि पार्टी निर्माणमा लागेका साथीहरूलाई ल्याइयो ? नामै नसुनिएका, महाधिवेशनमा प्रतिनिधि हुनसमेत अयोग्य साथीहरूको नाम नेतृत्वले वाचन गरेर केन्द्रमा ल्याइएको छ ।

अध्यक्ष केपी ओलीले ल्याउनुभएका यी तमाम नामको विषयमा जवाफ दिनुपर्छ कि पर्दैन ? मूलतः यही विषयसँग असहमति थियो । हाम्रो पार्टीमा लामो समयदेखि दुईवटा छुट्टाछुट्टै समूह थियो । केपी ओलीले मदन भण्डारी फाउण्डेशन बनाएर त्यसलाई तलदेखि माथिसम्म समानान्तर रूपमा गुट चलाउनुभएको थियो । सम्भव भएसम्म माधव नेपालसँग उभिएका मान्छेहरूलाई निषेध गर्ने, नभए डिमोसन गर्ने प्रवृत्ति देखा परेको हो ।

माधव नेपाल निकट भएकै कारण निषेधै गरिएको हो वा अरू पनि केही कारण छन् ?

– मैले सुनेको चाहिँ जिल्लाका धेरै साथी नेतृत्वसमक्ष डेलिगेसन जानुभयो । यस्ता मान्छेलाई अहिले प्रमोट गरियो भने हामी सहँदैनौं, स्विकार्दैनौं । हामी तपाईंको कित्ता छाडिदिन्छौं, विद्रोह गर्छौं भन्ने तहसम्मको । योग्यता, क्षमता, गतिशीलतामा कुनै प्रश्न उठाउने ठाउँ छैन मप्रति तर विगतदेखि नै उहाँ हाम्रो मान्छे नै होइन भन्ने ढंगबाट कुरा उठाइयो ।

कृष्णभक्त पोखरेल, नरेश खरेल, श्रीमाया थकाली, सुरेन्द्र मानन्धरलगायत दर्जनाँै पुराना नेतामाथि यस्तै अन्याय भएको छ । यसरी अन्याय भुक्तमान गर्नेको संख्या सयौं छ । त्यही पार्टीभित्र रहेर संघर्ष गर्न सक्ने स्थिति रहेन ?

– गलत प्रवृत्तिविरुद्ध हामी लामो समयदेखि संघर्षरत छौं । आन्दोलन र पार्टीभित्र मिलेर संघर्ष गर्नुपर्छ भन्ने एउटा समूह छ । यदि, गलत प्रवृत्तिविरुद्ध संघर्ष नगर्ने हो भने ४ वर्षअघि एउटा उचाइमा पुगेको कम्युनिष्ट आन्दोलन र एकता आज समाप्त भइसकेको छ । जनमत गुमिसकेको छ । यो के कारणले भइरहेको छ ? समीक्षा गर्दै जाने हो भने नेतृत्वको कारण यो ठाउँमा आएको हो ।

महाधिवेशनमा केही प्रतिस्पर्धा भएन । तल गाउँपालिकादेखि माथिसम्म पार्टीको सत्ता, शक्ति प्रयोग गरेर लिस्ट बाँड्ने, फरक विचार भएकाहरूलाई निषेध गर्ने काम भएको छ । यस्तो ठाउँमा बसेर संघर्ष गर्नुको के औचित्य ? विधानले १० प्रतिशत मनोनीत गर्न सक्ने भनेकोे छ । ३०१ जनामा ३० जनासम्म मनोनीत हुन सक्छन् तर ४४ जना मनोनीत गरिन्छ । त्यहीँभित्र कतिपय नेताले प्रश्न उठाउनुभयो । सुनुवाइ भयो ? अब छिट्टै हामी चुनावमा जाँदै छौं । पंक्तिभन्दा बाहिर उभिएका मान्छेलाई टिक्ने वातावरण नै छैन ।

त्यहाँ संघर्षको के औचित्य हुन्छ ? भोलि निर्वाचनमा जाँदा योग्यतम्, जनतामाझ प्रिय तर फरक मत राख्नेले टिकटै नपाउने अवस्था रहन्छ । त्यहाँ संघर्षको के अर्थ ? कमजोर मान्छेले टिकट लिएर आउँदा रूखमा भोट हाल्न सक्छौं वा पार्टीलाई असहयोग गर्न सक्छौं ? त्यसबेला अन्तरसंघर्षको के अर्थ रहन्छ ? गलत कुराविरुद्ध निरीह भएर आत्मसमर्पण गर्नु र तमाम पार्टी स्खलित भएको साक्षी बस्नुबाहेक केही हुन्न । त्यही कारण भित्र बसेर संघर्ष गर्नुको कुनै औचित्य देखिएन ।

ओलीले एमाले पार्टीलाई कहाँ पु¥याउनुहोला ?

– प्राप्त उपलब्धि जोगाउन सकेको भए चार वर्षमै यो हविगत भोग्नुपर्दैन थियो । अर्काे ५०औं वर्षसम्म देशमा नेकपा एमालेबाहेक विकल्पले औँला ठड्याउन सक्दैनथ्यो । अहिले हामी कहाँ छौं । अब हाम्रो दिशा कता ? पार्टीभित्र इमान्दार, असल, आन्दोलनलाई हाँक्ने र थेग्ने कार्यकर्ता अपमानित हुनुपर्ने स्थितिले समाप्तिको दिशातिर लैजान्छ । नेतृत्वको यो प्रवृत्तिले ढिलो वा चाँडो धक्का खानेछ ।

जीवनका चार दशक एमालेमा बिताउनुुभयो । पञ्चदेखि माओवादीको जगजगी हुँदासमेत पार्टी निर्माणमा सक्रिय रहनुभयो । अहिले सो पार्टी छाडेर हिँड्दा दुःख लागेको छैन ?

– नजानेर, भावना, आक्रोश वा आवेशमा गरेको निर्णय भए दुःख व्यक्त गर्नुपथ्र्याे । मैले त सबै घटनालाई हेरेर, विश्लेषण गरेरै पार्टी परित्यागको निर्णय गरेको हुँ । समाजमा रहेका सबै खालका शोषण, उत्पीडनको अन्त्य, समतामूलक समाज निर्माण, समाजवाद स्थापनाका लागि लागेका मान्छे हौं । त्यसकारण चिन्ता मान्नुपर्ने, बेठिक पो गरेछु कि भनेर अन्योलमा बस्नुपर्ने स्थिति छैन । विद्रोह नगर्नु भनेको आत्मसमर्पण गर्नु हो ।

गलत कुराको साक्षी बसेर आफ्नो मृत्यु कुर्नु हो । विद्रोह गर्नु भनेको नयाँ कुरा सिर्जना गर्नु हो, क्रान्तिलाई जोगाउनु हो । जनभावनाको सही ढंगले नेतृत्व गर्नु हो । नेकपा एमालेभित्र पलाइरहेको प्रवृत्तिविरुद्ध विद्रोह गर्नेहरूको संख्या विस्तारै बढ्नेछ । नेतृत्वलाई अहिले लाग्न सक्छ, एक–दुई जनाले पार्टी छाड्दैमा केही हुँदैन तर मूल नेतृत्वमा जुन खालको दम्भ छ, यस्ता सानोतिनो विद्रोह बढ्दै गएको खण्डमा भोलि त्यसले एउटा विशेष परिस्थिति निर्माण गर्नेछ ।

तपाईंले ४ पटक संसदीय निर्वाचनमा टिकट पाउनुभयो, दश वर्षसम्म पार्टी कमाण्ड गर्नुभयो । पार्टीमा यति धेरै अवसर पाएको मान्छेमाथि अन्याय कहाँ र कसरी भयो र ? भन्नेहरू पनि छन् । के जवाफ दिनुहुन्छ ?

– जिम्मेवारी भनेको भागबण्डा होइन । पहिलो पटक पार्टी संकटमा परेको बेला टिकट पाएको हुँ । ०६४ मा कोही साथी उठ्न नमान्ने । माओवादीको आतंक । रोल्पापछि अर्काे जनाधार भएको ठाउँ । सारा मान्छे त्राहिमाम, तीन जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाउनुपर्ने, नाम पठाउन कोही नमान्ने, ०७० मा पनि साथीहरूलाई आग्रह गरेँ । कोही मान्नु भएन ।

अग्नि सापकोटासँग लड्ने कोही भएन, ६ सय मतान्तरले हारेँ । पार्टीभित्र विद्रोह गरिरहेको छु । विषय उठान गरिरहेको छु भने त्यसबारे नेकपा एमालेले जवाफ दिन सक्नुपर्छ । सार्वजनिक ढंगले मैले उठाएको होइन भनेर खण्डन गर्न सक्नुपर्छ, विद्रोह गरेर हिँडेका मान्छेलाई तँैले यति पटक लाभको पद पाएको थिइस् भन्नु वैचारिक हिसाबले स्खलित हुने दिशातिर जानु हो ।

अग्नि सापकोटा तपार्इंकै क्षेत्रको सांसद । अहिले सभामुखको भूमिकामा हुनुहुन्छ । उहाँको गतिविधि वा भूमिकालाई कसरी लिइरहनुहुन्छ ?

– उहाँभन्दा म फरक पार्टीको । अहिले संसद् भनेको जनताका तमाम समस्या हल गर्ने, कानुन बनाउने ठाउँ । त्यसलाई अवरोध गर्ने विषय गैरलोकतान्त्रिक, गैरसंसदीय हुन्छ । व्यक्तिगत रूपमा सभामुखले के भूमिका खेल्नुभयो भन्ने कुरा सार्वजनिक नै छ । जसरी माधव नेपाललगायतका सांसदलाई त्योभित्र प्रवेश गर्न नदिने काम हुँदै छ । यो गैरसंसदीय र गैरकानुनी कुरा भयो ।

माधव नेपाल पक्षधर सांसदहरू गैरसंसदीय, गैरकानुनी ढंगबाट सांसदमा प्रवेश गरेका त होइनन् नि ! बल प्रयोग, हुलहुज्जत गरेर सांसद वा मन्त्री भएका हुन् र ? जहाँसम्म कानुनको कुरा छ । न हिजो ओलीले दल विभाजनका लागि ३० प्रतिशतको व्यवस्था राख्न खोज्नु ठीक थियो न त अहिले २० प्रतिशतमा झार्ने व्यवस्था नै सही छ । यो त संंसद्भित्र छलफल गर्ने विषय हो । संसद् अवरुद्ध गरेर, नजानिँदो ढंगले बन्धक बनाउने काम संसदीय वा लोकतान्त्रिक अभ्यास होइन ।

तपाईंकै जिल्लाका सांसद तथा पूर्व सहकर्मी शेरबहादुर तामाङ दम्पतीसँगको रिस त होइन ?

– हामी राजनीतिक मान्छे, व्यक्तिगत रूपमा कसैका विषयमा भन्न उपयुक्त हुँदैन यद्यपि, त्यस्तो प्रवृत्तिले नै नेकपा एमालेलाई संकटमा पारेको हो । पार्टीभित्र अहिले अवसरको खोजी गर्नेहरू हाबी भए । अवसर प्राप्त भएको खण्डमा आदर्श, मूल्य–मान्यता, सिद्धान्त सबै बिर्सने भए ।

तिमीलाई केन्द्रीय कार्यालय सचिव र स्वास्थ्यमन्त्री दिन्छु भन्दा विचारै छाडिदिने, श्रीमतीलाई १ नम्बर प्रदेशको मन्त्री बनाइदिन्छु भन्नेबित्तिकै जनतामाझ गरिएको कबोल बिर्सने । एक साताअघि एउटा निर्णय गर्ने, लाभको पद प्राप्ति हुँदा फेरि अर्काे निर्णय गर्ने । मूल्य, मान्यता, आदर्श सबै कुरा बिर्सने । त्यस्ता मान्छे नेतृत्वमा पुगे भने उनीहरूले निर्माण गर्न पार्टी कस्तो होला ? कस्तो क्रान्ति गर्ला ? नेकपा एमाले समाप्तिको दिशातिर जानुको कारण यही हो । मेरो लडाइँ यस्तै प्रवृत्तिविरुद्ध हो ।

यो वर्ष महाधिवेशनको वर्ष । माले, एमाले हुँदै माओवादीको महाधिवेशन सकियो । राप्रपा, कांग्रेसको महाधिवेशन पनि देखियो । नेतृत्व चयन गर्ने मामलामा कम्युनिष्टभन्दा कांग्रेस, पञ्चहरूको पार्टी लोकतान्त्रिक देखिए । कसरी हेर्नुहुन्छ ?

– लोकतान्त्रिक अभ्यासलाई प्रयोग गर्ने कुरामा कम्युनिष्टहरू तुलनात्मक रूपमा कांग्रेस, राप्रपाभन्दा संकुचित देखिने ठाउँमा पुगे ।

आगामी निर्वाचनमा एमालेको पोजिसन कस्तो अनुमान गर्नुभएको छ ?

– एमालेभित्र रहँदा पनि छलफल गरेकै विषय हो, हामीले प्राप्त गरेको जनमत स्खलित हुँदै गएको छ । जनभावनालाई बुझ्न सकेनौं । पार्टीलाई कम्युनिष्ट पार्टी बनाउन सकेनौं । मूल्य, मान्यताबाट च्युत भएको छ । संसद्भित्रको हाम्रो आकार, पार्टीभित्रको हैसियत, समाजले हामीलाई हेर्ने दृष्टिकोण हेर्नुहोस् ।

हाम्रा नेताले भनिरहनुभएको छ, म झ्यालबाट होइन, ढोकाबाट आउँछु । परिस्थिति उहाँले आकलन गर्नुभएभन्दा निकै फरक भइसकेको छ । जनताले हामीलाई हिजोको जस्तो सम्मान गर्ने वा विश्वास गर्ने स्थिति रहेन । प्रवृत्तिकै कारण एमाले हण्डर र ठक्कर खानुपर्ने, भाँचिनुपर्ने अवस्थामा पुगेको छ ।

यस्तो अवस्थामा पुग्दा पनि ओलीले किन नचेत्नुभएको होला ?

– उहाँको दम्भ वा घमण्डले होला । उहाँलाई लाग्दो हो दुनियाँमा मभन्दा ठीक कोही छैन । मबाहेक अरु कुनै चिज छैन । त्यही अहम्ता, घमण्डले यी कुरा आइरहेका छन् ।

टिप्पणीहरू