हत्या गरिएकी महिलाको परिवारलाई न्याय माग्दै इन्सेक

हत्या गरिएकी महिलाको परिवारलाई न्याय माग्दै इन्सेक

खोटाङमा विभत्स तरिकाले हत्या गरिएका तीन महिलाको परिवारलाई न्याय दिलाउन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले माग गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालयलाई ज्ञापन–पत्र पठाउँदै इन्सेकले २६ माघ २०७३ मा मृत अवस्थामा फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रिता तामाङ, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमायाँ विश्वकर्मा र ४ साउन २०७४ मा हत्या गरिएकी ३७ वर्षीया जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी देवी विकको परिवारलाई न्याय दिन माग गरेको हो ।

इन्सेक प्रतिनिधि तारानाथ फुयाँलले प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालमार्फत बुझाइएको ज्ञापनपत्रमा जघन्य अपराधका घटनाका दोषीलाई पहिचान गरी कानुनी कठघरामा उभ्याएर पीडित परिवारलाई न्यायको प्रत्याभूति गराउन माग गरिएको छ ।

तीन महिलाको हत्या भएको वर्षौं बिते पनि दोषीलाई प्रहरीले अहिलेसम्म पहिचान गर्न सकेको छैन ।

प्रहरीको अनुसन्धान टोलीबाट दोषी पत्ता लाग्न नसक्दा प्रहरी अनुसन्धानमाथि नै प्रश्न उठेको फुयाँलले बताएका छन् । महिलाहरुको हत्यामा संलग्न पत्ता लगाउन नसकेको भन्दै जिल्लामा प्रहरी प्रशासनको आलोचना भने भइरहेको छ ।

टिप्पणीहरू