विपन्न र दुःखमा परेका परिवारलाई ४१ हजार सहयोग

विपन्न र दुःखमा परेका परिवारलाई ४१ हजार सहयोग

आत्महत्या गरेका खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका कर्णबहादुर मुग्रातीको परिवारलाई आर्थिक सहयोग जुटाइएको छ ।

कर्णबहादुर गत १४ मंसिरमा झुण्डिएको अवस्थामा मृत फेला परेपछि बिचल्लीमा परेका उनका वृद्ध आमाबुबा, श्रीमती र चार छोराछोरीको सहयोगार्थ अभियन्ता सञ्जयकुमार राईको पहलमा ४१ हजार ७ सय ३१ रुपैयाँ जुटाइएको हो ।

कर्णबहादुरको काजकिरिया गर्न तथा बालबच्चाको लालनपालनमा सहयोग पुर्याउने लक्ष्यका साथ १० जना दाताबाट संकलन गरिएको रकम नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल र नेपाली काँग्रेसका सचिव ज्ञानेन्द्र जोशीले मृतक परिवारलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

मुग्राती परिवारको आर्थिक अवस्था नाजुक भएकाले सहयोगी दाताबाट संकलन गरेर आर्थिक सहयोग प्रदान गरिएको अभियन्ता राईले बताए । अभियन्ता राईको पहलमा मुग्राती परिवारलाई सहयोग जुटाइएको यो दोस्रो चरण हो । आवश्यकताअनुसार मुग्राती परिवारको सहयोगमा सहयोग अभियान सञ्चालन गरिने राईले बताए ।

मुग्राती दम्पत्तीका तीन छोरा र दुई छोरीमध्ये १८ वर्ष पुगेकी जेठी छोरीको विवाह भइसकेको छ । उनका वृद्ध बुबा उच्च रक्तचापको समस्याबाट पीडित छन् भने आमा आँखा देख्दिनन् ।

टिप्पणीहरू