पहिले स्याउको अब मेडिकल हब

पहिले स्याउको अब मेडिकल हब

नेपालका विकट जिल्लाको सूचीमा जुम्लाको नाम पनि समावेश छ । जुम्ला नाम सुन्नेबितिक्कै धेरैको आँखा अघिल्तिर दुर्गम, पिछडिएको क्षेत्र, अशिक्षा, खाद्यान्न अभाव, आधुनिक भौतिक पूर्वाधारविहीन क्षेत्रको दृश्य आउन थाल्छ । धेरैले जुम्लालाई दुर्गम जिल्लाको रुपमा चिनाउँदै आएका छन् ।

तर, केही समययता जुम्ला शताब्दीऔँ देखिएको आफ्नो पहिचान बदल्ने दौडमा छ । दुर्गम र स्याउको जिल्ला भनेर चिनिएको जुम्ला अब ‘मेडिकल हब’ बन्ने तयारीमा देखिएको हो । कुनै समय स्वास्थ्यकर्मी अभावमा बाँचेको जुम्ला अहिले डाक्टर (एमबीबीएस) को पढाइ हुने जिल्ला बनेको छ । मंसिर २६ गते जुम्लामा एमबीबीएससहित मेडिकल शिक्षा कार्यक्रम सुरू भएपछि भौतिक संरचनाको निर्माणले गति लिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालले जुम्ला सदरमुकामबाट ६ किलोमिटर टाढा च्यारेचौरमा एमबीबीएस अध्ययन र अध्यापनका लागि दुई दर्जन भौतिक संरचना निर्माणको तयारी गरेको उपकुलपति डा. मंगल रावलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रतिष्ठानले एमबीबीएस सुरू गरेपछि सो स्थानलाई मेडिकल हबको रुपमा विकास गर्न २३ वटा भवन निर्माण योजना अगाडि बढाइएको छ ।’ अब च्यारेलाई प्रतिष्ठानको दीर्घकालीन योजनामार्फत मेडिकल हबको रुपमा विस्तार गरिनेछ ।

एमबीबीएससहितका शैक्षिक कार्यक्रमहरूको अध्ययन अध्यापन गराउन चन्दननाथ नगरपालिका–३ का स्थानीयले च्यारेचौरमा निःशुल्क जग्गा प्रदान गरेका छन् । च्यारेचौरमा एउटा भवन निमार्णाधीन अवस्थामा छ भने अरु पनि रसुवा कन्स्ट्रक्सन कम्पनीले बनाउन थालेको हो ।

जुम्लाको डाँफे लेक नजिक च्यारेचौर जुम्ला भ्यालीको सबैभन्दा अग्लो स्थान हो । सो स्थान पर्यटकीय क्षेत्रको रुपमा समेत परिचित छ । मेडिकल शिक्षाको अध्ययन हुने भएकाले जुम्ला र च्यारे संसारकै रोलमोडेल मेडिकल हब हुने सम्भावना देखिएको हो ।

‘हिमाली क्षेत्र भएकाले हिउँदभर हिउँले ढाक्ने भागमा अब सेता एप्रोन लगाएका डाक्टर उत्पादन हुनेछ,’ रजिष्ट्रार नृपेन्द्र महतले बताए । उनले च्यारे चौरमा रहेको पाँच सय रोपनी जग्गा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई स्थानीयले दिने सहमति गरेको बताए । तीन सय रोपनी प्रतिष्ठानको नाममा दर्ता समेत भइसकेको छ । ‘सोही क्षेत्रमा शैक्षिक भवनहरू निर्माण हुनेगरी नेपाल सरकारसमक्ष योजना पेश भएको छ,’ उनले भने ।

जुम्ला सदरमुकाममा रहेको तीन सय शैयाको अस्पतालमा अहिले एमबीबीएस लगायतका कक्षा सञ्चालन भइरहेका छन् । वर्षेनी बिरामीको संख्या बढ्दै जाने र संरचना साघुँरो हुँदै गएकाले एमबीबीएससहितका शैक्षिक कार्यक्रम सञ्चालन गर्न च्यारेमा ठूला भौतिक संरचना निर्माण गर्न लागिएको हो ।

टिप्पणीहरू