ऋण नदिएको झोंकमा बैंकमा आगो सल्काइयो

ऋण नदिएको झोंकमा बैंकमा आगो सल्काइयो

बैंकमा अधिकांश सर्वसाधारण पैसा जम्मा गर्न वा ऋण लिन जान्छन् । जम्मा गर्नभन्दा ऋण लिन लामो र झण्झटिलो प्रक्रिया पार गर्नुपर्ने हुन्छ । ऋणका लागि आवश्यक कागजातहरू पेश गर्नेदेखि तिनको प्रमाणीकरणसम्मको चरण पार गरेपछि मात्र ऋण रकम स्वीकृत हुन्छ ।

तर, भारतको कर्नाटक राज्यस्थित हावेरी जिल्लाका ३३ वर्षीय एक व्यक्तिले ऋण नदिएको भन्दै बैंकमा आगो लगाइदिएका छन् । बैंकले ऋण नदिएपछि रिसको झोंकमा उनले बैकमा आगो लगाएको बताएका छन् । बैंकले सुरुमा उनलाई ऋण दिन मञ्जुर गरेको थियो । तर, कागजात र अन्य विवरणमा त्रुटी भेटेपछि बैंकले ऋण दिन नसकिने जवाफ फर्कायो । त्यसपछि रिसाएर आगो भएका उनले बैंकमा आगै लगाइदिएका हुन् ।

उनले धेरैवटा बैंकबाट ऋण लिन प्रयास गरेका थिए । एक गैरसरकारी संस्था सञ्चालन गर्न उनलाई कुनै पनि बैंकले ऋणको निम्ति पत्याएनन् । त्यसको कारण चाँही उनले अन्य बैंकहरुबाट यसअघि नै धेरै ऋण लिइसकेका थिए ।

ऋण नपाएपछि उनी बैंकको पछाडिको झ्यालको सिसा फोरेर भित्र प्रवेश गरेका थिए । साथमा पेट्रोल लिएर गएका उनी आगो सल्काएपछि नजिकैको नालीमा हाम फालेका थिए । तर स्थानीयले उनलाई समातेर प्रहरीको जिम्मा लगाइदिए । बैंकका अनुसार आगलागीबाट करिब १६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

टिप्पणीहरू