“आइ लभ यु बा” भित्रने,पुरानो पुस्ता बाहिरिने

“आइ लभ यु बा” भित्रने,पुरानो पुस्ता बाहिरिने

नेकपा एमालेमा ‘आइ लभ यू केपी बा’ भन्नेहरुले महत्वपूर्ण जिम्मेवारी पाउँदा पाका नेताहरुले भने धमाधम पार्टी छोड्न थालेका छन् । कम्युनिष्ट आन्दोलनमा सिन्कोसमेत नभाँचेका दुर्गा प्रसाईं ‘मार्सी’,कोमल वलीजस्ता नवप्रवेशीहरुको पार्टीमा हालीमुहाली हुन थालेपछि पुरानाहरू बाहिरिने क्रम बढेको हो ।

चितवन महाधिवेशन हुँदै जिल्ला अधिवेशनसम्म आइपुग्दा ‘बा’ संस्कृतिको कोपभाजनमा परेका धेरैले एमाले परित्याग गरेका हुन् । महाधिवेशनपछि केन्द्रीय जिम्मेवारीबाट पन्छाईएका सुनसरीका धर्मराज निरौलादेखि सिन्धुपाल्चोकका सुवास कर्माचार्यसम्मले एमाले छोडिसकेका छन् । झापा विद्रोहका योध्दा नरेश खरेल,मनकुमार गौतम,सुरेन्द्र मानन्धर,रविन कोइराला,पवित्रा खरेल निरौला,कृष्णभक्त पोख्रेल,श्रीमाया थकालीलगायतलाई पनि जिम्मेवारीबाट पाखा लगाइएको छ । औपचारिक रुपमा एमालेमै रहे पनि भूमिकाविहीन बनाइएकाले उनीहरुले पनि पार्टी छोडेसरह नै हो ।

पछिल्लो समय जिल्ला अधिवेशनका क्रममा पनि कतिपयले एमाले छोडेको घोषणा गर्न थालेका छन् । जिल्ला अधिवेशनका क्रममा अध्यक्ष केपी ओलीलाई ‘बा’ भन्नेहरुले आलोचनात्मक चेत राख्नेहरुलाई ठेलठाल पार्न थालेपछि एकपछि अर्को बिद्रोह चर्किन थालेको बताइन्छ । सर्वसम्मत नेतृत्व चयनका नाममा ओलीको चाहना अनुमोदन गराउन खोजिएको भन्दै पार्टी परित्याग गर्नेहरुको भीडमा दाङका पुराना नेता टिकाराम खड्कादेखि अर्घाखाँचीका युवा गोविन्द भुषालसम्म थपिएका छन् ।

एमाले अर्घाखाँचीको इञ्चार्जसमेत रहेका भुषाल पार्टीनिकट राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय कमिटी सचिवको भूमिकामा समेत क्रियाशील थिए । पार्टीभित्र चरम गुटबन्दी,व्यक्तिवादी मनोमानी,चरम अवसरवाद,नातावाद,कृपावाद र नेतृत्वमा देखिएको निरंकुशताजस्ता प्रवृत्तिबाट इमान्दार र निष्ठावान नेता तथा कार्यकर्ताहरुलाई काम गर्ने वातावरण नभएको भन्दै उनले पार्टी छोडेका हुन् ।

‘आराम गर्ने अवसर प्राप्त भएको छ । अब सांगठानिक जिम्मेवारीबाट बिश्राम लिने मनस्थितिमा छु ।’

यता,एमाले दाङका निवर्तमान अध्यक्षसमेत रहेका खड्काले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत राजनीतिक यात्राबाट आफूले विश्राम लिएको बताएका छन् । उनले सार्वजनिक रुपमा कुनै असन्तुष्टि जनाएका छैनन् तर, जिल्ला अधिवेशनका क्रममा नेतृत्व चयन प्रक्रियामा भएका अस्वस्थ प्रतिष्पर्धा र अस्वभाविक चलखेलका कारण पार्टी छोड्ने निर्णय लिएको अनुमान गरिएको छ ।

‘नेकपा एमाले दाङको १३ औँ जिल्ला अधिवेशनलाई भब्य र सभ्य रूपमा सफल पार्न सहयोग गर्ने सहयोगी मित्रहरुलाई आयोजकका नाताले धन्यावाद दिन चाहन्छु’, उनले भनेका छन्, ‘आराम गर्ने अवसर प्राप्त भएको छ । अब सांगठानिक जिम्मेवारीबाट बिश्राम लिने मनस्थितिमा छु ।’

दाङ कम्युनिष्ट आन्दोलनको उर्वर भूमि तथा किसान आन्दोलनको पनि क्षेत्र भएको र त्यहाँ जन्मेर सामाजिक मुक्ति आन्दोलनमा लाग्न पाउँदा गर्व अनुभूति भएको खड्काले बताएका छन् । एमाले छोडेका खड्का ०३५ सालदेखि नै कम्युनिष्ट आन्दोलनमा लागेका थिए । प्रारम्भमा अनेरास्ववियुमा लागेका उनी अखिल नेपाल किसान संघमा पनि संगठित भए ।

०३९ सालदेखि भूमिगत भएर राजनीतिमा होमिएका उनी ०४२ सालमा आठ महिना जेल परेका थिए । दाङका साथै कम्युनिष्ट आन्दोलनको प्रभाव क्षेत्र रोल्पा, रुकुम,सल्यान र प्युठानमा पनि काम गरेका थिए । ०५७ सालदेखि दाङ जिल्ला कमिटीमा रहेर भूमिका खेलेका खड्का एमाले छोड्ने निर्णय गर्दासम्म पनि सकृय राजनीतिमा थिए ।

पाल्पामा पूर्वसांसद यादवबहादुर रायमाझीले एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादीमा प्रवेश गरिसकेका छन् । डडेल्धुराबाट ताराप्रसाद जोशीले उसैगरी विद्रोह गरी एकीकृत समाजवादीमा समाहित भइसकेका छन् ।

टिप्पणीहरू