एमालेको निर्देशन दैलेखमा पनि लागू भएन, आजै चुनाव हुने

एमालेको निर्देशन दैलेखमा पनि लागू भएन, आजै चुनाव हुने

सहमतिमा नेतृत्व चयनको प्रयास सफल नहुँदा एमाले दैलेखमा चुनाव हुने भएको छ । जारी जिल्ला अधिवेशनले सर्वसम्मत पदाधिकारी चयन गर्न नसकेपछि त्यहाँ निर्वाचन हुने भएको हो ।

६१ जिल्लामा एकैचोटी अधिवेशन उद्घाटन गरेको एमालेमा सहमतिबाटै नेतृत्व छान्न अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिनुभएको थियो । तर, धेरै जिल्लामा सहमति जुट्न नसक्दा निर्वाचनबाट नेतृत्व चयन गरिएको छ । दैलेखमा पनि आकांक्षीहरु आफ्ना अडानबाट टसमस नभएका कारण अध्यक्षसहितका पदाधिकारी र खुला सदस्य पदमा निर्वाचन हुन लागेको हो । उपाध्यक्षमा भने नन्दकिशोर बस्नेत निर्विरोध चयन भएका छन् ।

अध्यक्षमा रवीन्द्रराज शर्मा र सूर्यबहादुर शाहीबीच प्रतिस्पर्धा निश्चित भएको छ । रुद्रबहादुर शाही र तिलकप्रसाद रिजाल सचिवको प्रतिस्पर्धामा छन् । उपसचिव पुरुष (खुला) तर्फ गंगाराम दाहाल, चन्द्रप्रसाद दाहाल, जनक न्यौपाने, कविराज खत्री, प्रेमबहादुर खड्का, विष्णुबहादुर शाही र लोकेन्द्रजंग शाहीबीच प्रतिस्पर्धा हुने भएको छ ।

उपसचिव महिलातर्फ कलावती न्यौपाने र लक्ष्मीकुमारी कार्कीको उम्मेदवारी परेको छ । आजै मतदान हुने नेकपा एमाले दैलेखले जनाएको छ । जिल्ला कमिटी सदस्य भने निर्विरोध निर्वाचित भएका छन् ।

टिप्पणीहरू