यौनकाण्डमा मुछिएपछि भुवन मर्माहत

यौनकाण्डमा मुछिएपछि भुवन मर्माहत

सानिमा बैंकका सीईओ भुवन दाहाल अबको दुई सातामा जिम्मेवारीबाट हट्दै छन् । दुई कार्यकाल सीईओ बनेपछि उनी कम्तीमा छ महिना घरमा आराम नगरेसम्म अरु बैंकमा त्यहि पदमा जान मिल्दैन ।

आफूलाई निकै ‘सादगी’ भनेर चिनाउँदै आएका उनै भुवन नाम जुधेकाले एक पटक सीईओको यौनकाण्डमा नराम्रोसँग मुछिएका थिए । कुमारी बैंकका तत्कालीन रंगिला सिईओ उदयकृष्ण उपाध्याय अपहरणमा परेको भनेपछि परिवारले प्रहरीमा उजुरी हाले । प्रहरीले पनि धुईंपाताल खोज्यो तर केही दिन भेउ नै पाउन सकेन । एक हप्तापछि थाहा भयो कि जसलाई प्रहरीले खोजिरहेको थियो त्यो मान्छे प्रहरीकै कस्टडीमा रहेछ ।

कोटेश्वरको एउटा क्याबिन रेष्टुरेन्टमा छापा मार्दा रंगेहात समातिएपछि प्रहरीले नाम सोध्दा उपाध्यायले ढाँटेर भुवन शर्मा लेखाएका रहेछन् । त्यसपछि बजारमा हल्ला भयो, ‘कोटेश्वरको यौनकाण्डमा सीईओ भुवन पक्राउ,’ भनेर । पछि वास्तविकता थाहा पाएपछि बैंकरहरूले उनै भुवनलाई त्यतिबेला ‘के हो ?’ भन्दै ठट्टा गर्न भ्याएका थिए ।

नबिल बैंकमा छँदादेखि नै निकै बाठोमा दरिएका दाहालका कारण अहिलेसम्म पनि नबिल र पूरै बैंकिङ इण्डष्ट्रिमा आवश्यकताभन्दा बढी चलाखीपन देखाउने बैंकरलाई कस्तो भुवन दाहालजस्तो भनेर जिस्काउने गरिएको उनका समकालीनहरू बताउँछन् ।

नबिलअघि उनले केही समय संसद सचिवालयमासमेत जागिर खाएका थिए । २०४८ सालको कर्मचारी आन्दोलनमा अधिकांश कर्मचारी कारबाहीमा पर्दा उनी भने जोगिएका थिए । हुलमुलमा जिउ जोगाउनु र अनिकालमा बीऊ जोगाउनु भन्ने उखानलाई सानै उमेरदेखि कार्यान्वयन गर्दै आएका उनी आन्दोलनमा काँग्रेसी कर्मचारीसँग लपक्क टाँसिएपछि जोगिएका थिए ।

भलै उनले गृहजिल्ला भएकाले रौतहटका माधवकुमार नेपालसँग नजिकको सम्बन्ध रहेको बताउँथे । एमाले नफुटुञ्जेल उनले उक्त फर्मुला भनिरहेकै थिए । तर अहिले भने बूढानीलकण्ठस्थित प्रधानमन्त्री शेरबहादुर देउवाको घर नजिकै ठूलो कम्पाउण्ड भएको भिल्ला बनाएकाले उनी सो क्षेत्रका काँग्रेस सांसद गगन थापालाई आफ्नो भन्न भ्याएका छन् ।

यसअघि कपनको नीलो पुल नजिकै रहेको घरको सट्टा अहिले उनी बूढानीलकण्ठ गएका हुन् । त्योभन्दा अघि नबिल बैंकको कर्मचारी भएर ५० को दशकमा विमानस्थलस्थित विदेशी मुद्रा सटही काउण्टरमा काम गर्ने बितिक्कै उनले बागमती किनारमा ईंटा र माटोले बनेको साढे दुई आना जग्गामा बनेको घर समेत किनेका थिए ।

तीक्ष्ण दिमाग भएका दाहाललाई नबिलमा प्रवेश गरेको छोटो समयमा सबै हाकिमको घरसमेत एक एक थाहा भएको चाल पाएपछि साथीहरू नै छक्क परेका थिए । त्यतिबेलाको एउटा रोचक प्रसंग सुनाउँदै हाल सेवा निवृत्त भएका नबिलका एक जना हाकिमले भने,‘त्यतिबेलाका पावरप्ले गेम म्यानेजरको रुपमा चिनिएका विनयको त उनी अभिन्न अंग नै थिए । कर्मचारीको सरुवा र बढुवामा प्रत्यक्ष हस्तक्षेप गर्ने आरोप लागेका स्वर्गीय सञ्चालक शम्भु पौडेललाई पनि खुशी पार्ने कला जानेका थिए । डिल्लीबजारका पौडेल मर्निङ वाकमा कुकुर डोराएर सडकमा हिँड्दा पौडेललाई नमस्कार गरेर कुकुर डोर्याएको दाम्लो समात्न समेत दहाल पुगिहाल्थे ।’

बैंकको सीइओ भएपछि बैंकमा ट्रेड युनियन खोल्न दिनुहुन्न भन्ने युनियनको घोर विरोधीको रुपमा परिचित दाहालले नबिल बैंकमा युनियन दर्ता गर्न भने सकारात्मक भूमिका निर्वाह गरेको बताइन्छ । उनलाई नबिल बैंक युनियनको संस्थापक नै भनिन्छ ।

२०४७ सालमा ट्रेड युनियन खोलेर सोमार्फत् त्यो बेलाका ब्रिटिस सिईयो स्ट्राफर्डलाई गलाएर युनियनले आफ्ना मागहरू पूरा गरेको थियो । त्यसैले युनियनले उपलब्धि दिँदो रहेछ भन्ने विश्वास कर्मचारीमा त्यतिबेलै जागेको एक जना पूर्व कर्मचारीले जनआस्थासँगको कुराकानीमा बताएका छन् । यसको चुरो दाहाललाई पनि थाहा थियो । किनभने उनले संसद सचिवालयको जागिर र २०४८ सालको कर्मचारी आन्दोलनबाटै थाहा पाइसकेका थिए ।

२०४९ सालमा नबिल छिरेका भुवनले तत्कालीन म्यानेजमेण्टको ब्याकअपमा म्यानेजमेन्टको चाहनाबमोजिमको टिम बनाएर म्यानेजमेन्टकै स्वार्थमा प्रयोग हुने वचन दिएर २०४९ सालमा युनियन दर्ता गराउन ठूलो भूमिका खेलेका थिए । त्यसपछि उनी गिभ एण्ड टेकको खेलमा लागेपछि कहिल्यै पछाडि फर्केर हेर्न नपरेको स्रोतको दाबी छ । भलै सानिमामा सीईओ भएर गएपछि उनी युनियनको चर्को बिरोधी बनेर निस्किए ।

नबिल युनियनका त्यतिबेलाका केही पदाधिकारीलाई एअरपोर्ट काउण्टरमा खुल्लम खुल्ला हुने डलर कारोबारमा आँखा चिम्लिने तत्कालीन व्यवस्थापनले रणनीति बनायो । त्यसको बदलामा युनियनले पनि म्यानेजमेन्टमा विदेशी (बेलायती) राख्न हुँदैन भनेर लबिङ गर्ने सहमति गर्यो । युनियनले नेपालीलाई नै बढुवा दिएर जिम्मेवारी दिनुपर्ने आवाज राष्ट्र बैंक र अर्थ मन्त्रालयसम्म उठाइरह्यो । उक्त कार्यमा युनियनको तर्फबाट सतहमा दाहाल देखिए पनि ब्याकअपमा तत्कालीन मिडिल म्यानेजमेन्टका पात्रहरू शोभनदेव पन्त, सुरेन्द्र भण्डारी अनि विनय रेग्मी (कानुन) थिए ।

तीमध्ये त्यतिबेला सबैभन्दा ध्रुत म्यानेजर भनेर विनयलाई चिनिन्थ्यो । हुन पनि उनले १० वर्षको अन्तरालमा नसोचेको छलाङ मारेका थिए । दैनिक ज्यालादारी टाइपिष्टको जागिरमा छिरेर बैंकको एडमिन, एचआर , लिगल र अपरेशन डिपार्टको हेड नै बनेर देखाइदिएपछि सबै छक्क परेका थिए ।

त्यतिञ्जेलसम्म दाहाल पनि कम्तिका खेलाडी बनिसकेका थिएनन् । उनी त्यतिबेलै आफूभन्दा माथिका अप्ठेरा हाकिमहरूविरुद्ध सहकर्मीहरूलाई उचाल्न माहिर ठानिन्थे । त्यसो गर्दा अरुले गाल पाउँथे, उनी साखुल्ले बनेर चोखिन्थे । खिस्स हाँसेर हिजोका सबै भित्री कुरा ह्वाङ्ग बनाइदिएपछि हाकिमको राम्रो हुने भएकाले उनले एकपछि अर्को अवसर पाउँदै गए । सानो पदबाट सेवा प्रवेश गरे पनि उनी कहिल्यै ग्राहक सेवा वा बिजनेस डिपार्टमेण्टमा नबसेरै नबिलको डिजीएम बन्न सफल भएका हुन् । जुन अवसर बिरलै पाइन्छ । त्यसैको आडमा उनी सानिमाको सीईओ भएका हुन् ।

त्यतिबेला नबिलका जल्दाबल्दा हाकिम राजेन्द्र मल्लसँग दाहालले दिनमा धेरै पटक भेट्थे । पछि आफू पनि मल्ल सरहको सिनिएर म्यानेजर भएपछि उनै राजेन्द्रलाई अपरेशन हेडबाट अडिट हेड हुँदै अफिसर तहले नेतृत्व गरेको ब्याक अफिसमा सरुवा गराएपछि पहिलेका हाकिम मल्ल आफैँ छक्क परेका थिए । विनय रेग्मीलाईसमेत गतिला तीन वटा विभागीय प्रमुखहरूबाट निकालेर जागिरे जीवनको अन्तिम चार वर्ष लिगल हेडमा सीमित गराउने पनि उनै दाहाल रहेको त्यतिबेलाका सञ्चालकहरूले नै बताएका थिए ।

सञ्चालक समितिमा आपसमा प्रतिस्पर्धी देखिएका चौधरी र पौडेलसमूह दुबैतिर बराबर खेलेर आफ्नो लागि अनुकूल फल निकाल्न उनी सिपालु भएका थिए । त्यसैको परिणामस्वरुप नबिलको फाइनान्स र प्लानिङमा दुई दशक एकछत्र राज गरेर उनले चम्केको सेयरबजारमा इन्साइडर ट्रेडिङ गरेको आरोप त्यतिबेलै लागेको थियो । सेयरबाट अकुत सम्पत्ति कमाउन थालेपछि उनले आफूलाई सतहमा ‘सादगी’ को रुपमा प्रस्तुत गर्न थालेको बताइन्छ ।

सानिमामा सीईओ भएपछि वार्षिक कमाएका औसत दुई करोडको दरले झण्डै १ अर्ब रुपैयाँ र नबिलमा छँदाको तलब, भत्ता र सेयर कारोबारबाट प्राप्त रकम उनले जग्गामा लगानी गरेको भन्नेहरू पनि छन् । कसरी गरे जग्गामा लगानी ? भनेर सोधिएको जिज्ञासामा दाहाललाई नजिकबाट चिन्नेहरूले भने, ‘नाताले ससुरा सानिमा समूहका हर्ताकर्ता एक जना पोखरेल र काका नाता पर्ने अर्का एक जना जग्गा दलाली मार्फत् उनले जग्गा, हाइड्रो पावर र अन्य कम्पनीमा लगानी गरेका छन् ।’

टिप्पणीहरू