कान्तिपुरले डेपुटी गभर्नर फेर्यो

कान्तिपुरले डेपुटी गभर्नर फेर्यो

कान्तिपुरले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर र बैंकर्स संघका अध्यक्ष फेरिदिएको छ । आज दिउँसो कान्तिपुर टेलिभिजनले गर्न लागेको अन्तरक्रियामा बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायलाई डेपुटी गभर्नरको रुपमा प्रस्तुत गरेको छ ।

त्यसैगरी डेपुटी बमबहादुर मिश्रलाई बैंकर्स संघको अध्यक्ष भनेको छ । बैंकिङ क्षेत्रमा देखिएको नगद तरलताको अभाव सम्बन्धी प्रत्यक्ष प्रसारणअघि कान्तिपुरले प्रकाशन गरेको विज्ञापनमा मिश्र र उपाध्यायको जिम्मेवारी हेरफेर गरिएको हो ।

यता, केन्द्रीय बैंकमा भने प्रवक्ता, सहप्रवक्ता र सूचनाअधिकारीको नाम र फोटो भित्तामा टाँस्ने मात्र काम भएको बताइएको छ । बैंकको तर्फबाट जानकारी गराइने महत्वपूर्ण विषयमा गभर्नर र डेपुटीहरु तँछाड र मछाड गर्दैै सञ्चारमाध्यममा प्रस्तुत हुन थालेपछि प्रवक्ता र सहप्रवक्ताको जिम्मेवारी दिइएकाहरु रुष्ट भएको बताइन्छ ।

विवादास्पद विषयमा भने उनै हाकिमले सञ्चारकर्मीहरुलाई आफूतिर झोसिदिने गर्नाले उनीहरु असन्तुष्ट भएका हुन् । नाम नबताउने शर्तमा एक जना कार्यकारी निर्देशकले भने, ‘बैंकका प्रवक्ता र सहप्रवक्ता भित्तोमा सीमित भएका छन् । हाकिमहरुको पारा हेर्दा माछा देख्दा दुलोभित्र हात, सर्पको आशंकामा बाहिर हात गरिएको स्पष्ट भएको छ ।’

टिप्पणीहरू