जी.शाहको वर्णविन्यासमा यतिसम्म गडबडी

जी.शाहको वर्णविन्यासमा यतिसम्म गडबडी

पूर्वराजा ज्ञानेन्द्र शाह गीतकार जी. शाह पनि हुन् । आफ्ना पूर्वज पृथ्वीनारायण शाहको तीन सयौँ जन्मजयन्ती पुस २७ का अवसरमा अघिल्लो दिन यिनले दिएको सन्देशमा वर्णविन्यासमा यतिका गल्ती कसरी भए भन्ने आश्चर्य लाग्छ ।

स्वकीय सचिवादिमा दर्जिएका सागर तिमिल्सिना,फणि पाठक र पशुपतिभक्त महर्जनले पनि शब्द वा नेपाली भाषाको अभ्यास गुमाएकाले होला,शुभकामनाका सन्देश बुझ्नुभन्दा हरफ हरफले आँखा बिझाएर हैरान पार्छ ।

धेरै सूक्ष्म रूपमा केलाउँदा अहिलेको पछिल्लो व्याकरण र वर्णविन्यासका नियमसँग केही मेल खान्छन्,केही नखालान् तर उनले प्रयोग गरेका अहिलेका चलनचल्तीमा आउने सामान्य शब्द र शब्दावली मात्रको चर्चा एकछिन गरौँः

दिवश (हुनुपर्ने दिवस),पुनित(हुुनुपर्ने पुनीत),साहश (हुनुपर्ने साहस), आट (हुनुपर्ने आँट),आधारहरु माथी (आधारहरूमाथि),वडा(हुनुपर्ने बडा),महशुस(हुनुपर्ने महसुस), सम्वेदनशिलता(हुनुपर्ने संवेदनशीलता),आत्मसाथ (हुनुपर्ने आत्मसात्),जनताको सुखी बाहेक (हुनुपर्ने सुखबाहेक), संग(हुनुपर्ने सँग),महान(हुनुपर्ने महान्), उपलव्धी (हुनुपर्ने उपलब्धि), हुंदै(हुनुपर्ने हुँदै), सबै भन्दा (हुनुपर्ने सबैभन्दा), दाविा(हुनुपर्ने दावी), सास्ति(हुनुपर्ने सास्ती),अस्तित्व प्रतिनै(हुनुपर्ने अस्तित्वप्रति नै), गर्नु पर्ने(हुनुपर्ने गर्नुपर्ने), निश्कर्ष(हुनुपर्ने निष्कर्ष), हुंदैन(हुनुपर्ने हुँदैन), हम्रो(हुनुपर्ने हाम्रो), जोगाइ राख्न(हुनुपर्ने जोगाइराख्न), तराइ(हुनुपर्ने तराई) आदि ।

केही अनलाइन न्युज पोर्टलमा आएका सामग्रीमा ‘पूर्व’ शब्द नजोडी ‘श्री ५ महाराजाधिराज’ नै लेखिएको देखिन्छ । अनि २०६५ जेठ १५ कै पूर्वको राजामहाराजाकै शैलीमा ‘बक्सेको शुभकामना’ पढेपछि उनमा राजतन्त्रको धङ्धङ्ती यतिका वर्ष बित्दा पनि किन गएको रहेनछ भन्ने प्रश्न पाठकले जरूर गर्ने छ ।

हुन त देशका राष्ट्रपति र प्रधानमन्त्रीका सन्देश वा वक्तव्य तथा बजेट आदिमा पनि यस्ता बग्रेल्ती अशुद्ध शब्द नपाइने चाहिँ होइन । यसमा शाहलाई मात्र दोषारोपण गर्नु भने अन्याय हुनेछ ।

अनि पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउने जिम्मा पाएको नेपाल प्रज्ञा–प्रतिष्ठानले हाम्रो भाषाको यस्तो बिजोग कहिलेसम्म हेरेर बस्ने हो ?

-अनामिका उपाध्याय

टिप्पणीहरू