ठेकेदारले अलपत्र पारेपछि पेटी ठेक्काको तयारी

ठेकेदारले अलपत्र पारेपछि पेटी ठेक्काको तयारी

तीन वर्षसम्म ठेकेदार कम्पनीले सिन्को नभाँच्दा झापाको दमकबाट इलामको चिसापानीसम्म पुग्ने सडक निर्माण कार्य अलपत्र परेको छ । ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरेर ०७५ साउनमा ठेक्का लिएको महालक्ष्मी-किरातेश्वर जेभीले काम नगरेका कारण सडक अलपत्र परेको हो ।

ठेक्का लिएको साढे तीन वर्षभन्दा धेरै हुँदा पनि ५० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । २२ करोड ५९ लाख ६४ हजार ६२७ लागतको सडक निर्माणमा अहिलेसम्म करिब ४४ प्रतिशत बजेट खर्च भएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । यसअघि कोभिडका कारण काम नसकिएको भन्दै दुईपटक म्याद थपिएको र दोस्रोपटक थप गरिएको म्याद पनि आउँदो चैतमा सकिँदैछ ।

रतुवा नदीको भित्ता काटेर ट्र्याक खोलिसकेको सडक कालोपत्रे मात्र गर्ने निर्माण कम्पनीको जिम्मा थियो । तर,ठेकेदारले काम नगरेपछि अब पेटी ठेक्का दिने डिभिजन कार्यालयको तयारी छ । महालक्ष्मी-किरातेश्वर जेभीले काम गर्न नसकेपछि पेटी ठेक्काका लागि लुम्बिनी-गणपति जेभीलाई दिने गरी छलफल अघि बढिरहेको डिभिजन कार्यालयले जनाएको छ ।

लुम्बिनी-गणपतिले दमक-चिसापानीको दोस्रो र तेस्रो खण्डको २६ किलोमिटर सडक निर्माण गरिरहेको छ । तल्लो खण्डको सडक निर्माण अलपत्र हुँदा सामग्री लैजानसमेत मुस्किल भएको भन्दै लुम्बिनी-गणपतिले पेटी ठेक्का लिने तयारी गरेको हो ।

निर्माण कम्पनीका सञ्चालकलाई बारम्बार सडक निर्माणका लागि दबाब दिँदा पनि काम गर्न नसकेको सडक डिभिजन कार्यालय दमकका प्रमुख रमेश पौडेलले जानकारी दिए । गत बर्खाबाट सडक निर्माणको काम पूर्णरुपमा ठप्प भएको उनले बताए ।

दमक-चिसापानी सडक निर्माण उपभोक्ता समिति अध्यक्ष रेतवराज पुरीले भने दोस्रोपटक थपिएको समयमा काम सकिने बताए । ‘पहिलो खण्ड पनि माथिल्लो ठेकेदारले काम गर्ने गरी तयारी हुँदैछ । सायद आज साँझसम्म सम्झौता हुन्छ होला,’ उनले भने, ‘तलदेखि माथिसम्म नै साउनसम्म सबै कालोपत्रे नै भइसक्छ ।’

टिप्पणीहरू