संक्रमण ह्वात्तै बढ्यो, भोलिदेखि विद्यालय बन्द गरिँदै

संक्रमण ह्वात्तै बढ्यो, भोलिदेखि विद्यालय बन्द गरिँदै

दुई साता अघिसम्म स्थीर रहेको कोरोना संक्रमण दर पुनः उकालो लागेको छ । त्यो बेलासम्म दैनिक तीन सयको हाराहारीमा रहेको संक्रमित संख्या आज १४ सय बढीमा देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार चार सय ४६ जना कोरोना संक्रमित भेटिएका छन् ।

११ हजार चार सय २९ जनामा नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित भेटिएको हो । थपिएकामध्ये काठमाडौंमा मात्रै छ सय ७५ जना छन् । त्यस्तै, भक्तपुरमा ६५ र ललितपुरमा एक सय ३६ जना संक्रमित थपिएका छन् ।

यो अवधिमा दुई सय ५५ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको छ । योसँगै मुलुकभर अझै सात हजार आठ सय ५५ जना सक्रिय संक्रमित छन् ।

कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार छ सय छ पुगेको मन्त्रालयले जनाएको छ । आज कोरोनाबाट दुई जनाले ज्यान गुमाएका छन् ।

गत २४ घण्टामा थपिएका संक्रमितमध्ये चार सय २० जना युवायुवती छन् भने एक सय ४९ जना किशोर किशोरी हुन् । त्यस्तै, ११ वर्ष मुनिका २६ जना संक्रमित थपिएका छन् । ७८ जना वृध्दवृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा आज दुई हजार छ सय ५५ जना सक्रिय संक्रमित छन् । त्यसैगरी, भक्तपुरमा छ सय ३३ र ललितपुरमा नौ सय जना संक्रमित छन् ।

यता कोरोनाको जोखिमलाई मध्यनजर गर्दै भोलिदेखि विद्यालय बन्द गरिने भएको छ । सिसीएमसीले गरेको सिफारिसलाई शिक्षा मन्त्रालयले कार्यान्वयनमा लगेको हो ।

लामो समयदेखि बन्द रहेका विद्यालय तिहारपछि खुलेका थिए । तर खुलेको एकाध महिनामै पुनः बन्द हुने भएका छन् ।

टिप्पणीहरू