सरकारले भारतको दलाली गरेको विप्लवको आरोप

सरकारले भारतको दलाली गरेको विप्लवको आरोप

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले नेपालको कालापानी क्षेत्रबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो अभिव्यक्तिप्रति सरकार मौन बसेको भन्दै आपत्ति जनाएको छ ।

नेकपाको अन्तर्राष्ट्रिय विभागले सोमबार विज्ञप्ति निकालेर भारतीय प्रधानमन्त्री मोदीले नेपाली भूभागबाट चीनको मानसरोवर जोड्न बनाइएको बाटो चौडा र विस्तार गर्ने घोषणाप्रति नेपाल सरकार मौन बस्नु देश र जनताका लागि शर्मनाक विषय बनेको बताएको हो ।

‘भारत सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका भूभाग लिम्पियाधुरा,कालापानी, लिपुलेकबाट आफ्ना सैनिक फिर्ता लैजानुको सट्टा चीनको मानसरोवर जोड्न बलजफ्ती बनाइएको बाटो चौडा र विस्तार गर्ने घोषणाले हाम्रो पार्टीको ध्यानाकर्षण गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस नेतृत्वको सरकार भारतीय रवैयाप्रति चुप लागेर बस्नु, नेपालका लागि भारतको दलाली गर्नु, उसको साम्राज्यववादी नीतिप्रति दब्बुपना देखाउनु देश र जनताका लागि शर्मनाक विषय हो ।’

नेकपाले मोदीको अभिव्यक्तिको कडा बिरोध गर्दै साम्राज्यवादी हर्कत बन्द गर्न अपिल पनि गरेको छ । विज्ञप्तिमा नेपाल सरकारलाई कूटनीतिक पहलबाट कालापानी क्षेत्रको सार्वभौमिकताको सुरक्षा सुनिश्चित गर्न पनि माग गरिएको छ ।

मोदीले केही दिनअघि उत्तराखण्डको हल्द्वानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा आफू नेतृत्वको सरकारले लिपुलेक जोड्ने सडक निर्माण गरेको र यसको विस्तार कार्य भइरहेको बताएका थिए । नेपालले तथ्य र प्रमाणसहित आफ्नो भूमि भनेर दावी गरिरहेको क्षेत्रमा सडक बनाएका मोदीले उक्त सडकलाई थप विस्तार भइरहेको भन्दै त्यसलाई आफ्नो प्रमुख उपलब्धिका रुपमा चर्चा गरेका थिए ।

टिप्पणीहरू