गर्भवतीले खोप लगाउँदा केही फरक पर्दैन : स्वास्थ्य मन्त्रालय

गर्भवतीले खोप लगाउँदा केही फरक पर्दैन : स्वास्थ्य मन्त्रालय

गर्भवती महिलाले कोरोनाविरुद्धको खोप लगाउँदा आमा र बच्चालाई असर नगर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ । गर्भवतीले खोप लगाएका कारण समय नपुगी बच्चा जन्मिने समस्या खोपको कारण नभएको मन्त्रालयले जनाएको हो । खोप लगाएका कारण कम तौल भएको बच्चा जन्मिने सम्भावना पनि नहुने मन्त्रालयले दाबी गरेको छ ।

‘कोभिड–१९ विरुद्धको खोपले गर्भपात हुने, कम तौलको बच्चा जन्मिने, समय नपुगी जन्मिने भन्ने कुरा गलत हुन् । गर्भावस्थामा कोरोना भाइरसविरुद्धको खोप लगाएका महिलाहरुले समय नपुगी बच्चा जन्माउने र कम तौल भएको बच्चा जन्माउने जोखिमको खोपसँग कुनै सम्बन्ध छैन,’ स्वास्थ्य मन्त्रालयले भनेको छ ।

उसले खोपसम्बन्धी भ्रामक कुरामा नपर्न र सबै गर्भवती महिलालाई नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ । गर्भवती भएको पहिलो तीन महिनापछि खोप लगाउन सकिन्छ । त्यसैले ढिला नगरी आफूलाई पायक पर्ने खोप केन्द्रमा समयमै पुगेर खोप लगाउन उसले आग्रह गरेको हो ।

कोभिड–१९ विरुद्धको खोप शिशुलाई स्तनपान गराइरहेका महिलाले पनि लगाउन मिल्ने बताइएको छ । कोरोनाविरुद्धको खोपले आमा र बच्चा दुबैलाई सुरक्षा प्रदान गर्ने भन्दै उसले भनेको छ, ‘स्तनपान गराइरहेका महिलाले ढुक्क भएर कोभिड–१९ विरुद्धको खोप लगाऔं ।’

टिप्पणीहरू