विद्यालय बन्द गर्ने निर्णयको चर्को आलोचना

विद्यालय बन्द गर्ने निर्णयको चर्को आलोचना

पछिल्लो एक सातामा कोरोना संक्रमण दर तेब्बरले बढेपछि हिजो सिसिएमसीको बैठक बसको छ । बैठकले महामारी रोकथामका लागि विभिन्न विषयमा छलफल गरि सम्बन्धित मन्त्रालयलाई मापदण्ड अपनाउन सिफारिस गरेसँगै मन्त्रालयहरुले आवश्यक प्रक्रिया सुरु गरेका छन् । जसअन्र्तगत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि कोभिड–१९ रोकथामका लागि सिसिएमसीले गर्ने भनेको विद्यालय बन्दको विषयमा छलफल गरेको छ ।

मन्त्रालयका प्रवक्ता दिपक शर्माले आज जनआस्थासँग कुराकानी गर्दै सिसिएमसीले गरेको प्रस्ताव लागु गरिने निर्णय भएको बताउनुभयो । उहाँले माघ १५ गतेसम्म विद्यालय बन्द गरिने बताउँदै सिसिएमसीले गरेको निर्णय कोरोना महामारीको सुरुवाती चरणबाट मान्दै आएकाले यस पटक पनि अकाट्य रहेको उल्लेख गर्नुभयो ।

तर सिसिएमसीले गरेको विद्यालय बन्दको निर्णयको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । महामारीका कारण अन्य क्षेत्र खुल्ला रहने तर शिक्षा क्षेत्रलाई मात्र दबाइएको आलोचनामा उल्लेख छ । महामारीको समयमा स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्नुपर्नेमा सरकारले विद्यालय बन्द गरेर समग्र शैक्षिक जगतमाथि नै धावा बोलेको विश्लेषण गरिएको छ ।

सामाजिक सञ्जालमा विद्यालय बन्द गर्नु अनुचित भन्दै शिक्षक तथा अभिभावकहरुले आक्रोषपूर्ण विचार व्यक्त गरेका छन् । तर अभिभावक संघ नेपाल भने विद्यालय बन्द गर्ने पक्षमा उभिएको छ । जनआस्थासँगको कुराकानीमा अभिभावक महासंघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले महामारीको र चिसोको समय भएकाले विद्यालय बन्द गर्नु जायज भएको उल्लेख गर्नुभयो ।

उहाँले आफूहरुले पहिलेदेखि नै विद्यालय बन्द हुनुपर्ने बताउँदै आएकाले सिसिएमसीले गरेको सिफारिस शिक्षा मन्त्रालयले लागु गरेकोमा त्यसमा सहमत रहेको धारणा राख्नुभयोे । भण्डारीले भन्नुभयो, ‘विद्यालय बन्दको समयमा महामारीविरुद्धको खोप विद्यार्थीहरुलाई लगाउने र १६ औं दिनबाट पुनः स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन सुचारु गर्नुपर्छ ।’

यता निजी स्कुलहरुको छाता संगठन प्याब्सन र एनप्याब्सनले समान धारणा राखेका छन् । आज जनआस्थासँगको कुराकानीमा प्याब्सन नेपालका सह–अध्यक्ष डि.के. ढुंगानाले विद्यार्थीलाई खोपलगाएर कक्षा सञ्चालनलाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ । उहाँले विद्यालय खुलेको दुई महिना नपुग्दै फेरि बन्द गर्दा समग्र विद्यार्थीको भविश्यमा नकारात्मक असर पर्ने उल्लेख गर्नुभयो । उहाँका अनुसार महामारीमा विद्यार्थीहरु घरमाभन्दा विद्यालयमा सुरक्षित हुने दाबी गर्नुभएको छ ।

एनप्याब्सन नेपालका अध्यक्ष ऋतुराज सापकोटाले पनि खोपलाई प्राथमिकताका साथ लगाउनुपर्नेमा जोड दिनुभयो । काठमाडौं जिल्लाले १२ वर्ष उमेर माथिका विद्यार्थीलाई विद्यालयमा नै गएर खोप लगाउने निर्णय गरिरहँदा सिसिएमसीले विद्यालय नै बन्द गर्ने भनेर गरेको निर्णयले खोप कार्यक्रमलाई समेत प्रभाव पार्ने देखिएको छ । विद्यार्थीलाई स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालयमा बोलाउनुपर्नेमा जोड दिँदै उँहाले विद्यालय बन्दको विकल्प खोज्नुपर्ने धारणा राख्नुभएको छ ।

टिप्पणीहरू