८ जना मार्नेको मुद्दा अघि बढ्यो

८ जना मार्नेको मुद्दा अघि बढ्यो

आठ जनाको हत्या गरेको,एक जनालाई ज्यान मार्ने उद्योग गरेको र दुई वटा डाँका चोरीका आरोपी नसिम खानविरुध्दको मुद्दामाथि हिजोदेखि कपिलवस्तु जिल्ला अदालतमा अन्तिम बहस शुरु भएको छ । सम्भवतः आज फैसला आउने सम्भावना रहेको उक्त मुद्दालाई पूरै लुम्बिनी प्रदेशभित्र चासोका साथ हेरिएको छ । आइतबार नसिम खाँन विरुध्दका ७ हत्या तथा अपहरण र लुटपाट मुद्दामा बहस चलेको अधिवक्ता बृजेन्द्र चौधरीले बताउनुभयो ।

२ नम्बर इजलासमा हिजो बहस शुरु भएको उक्त मुद्दा न्यायाधीश जवाहरप्रसाद सिंहले हेर्नुभएको छ । हिजो बिहानदेखि अदालत परिसरभित्र र बाहिर फैसला प्रभावित पार्ने र प्रभावित पार्न नदिने समूहको उपस्थिति देखिएको थियो । अधिवक्ता बृजेन्द्र चौधरीका अनुसार खानविरुद्धको हत्या,अपहरण र लुटपाट मुद्दामा बहस भएको हो ।

२ बालबालिका, ४ माओवादी कार्यकर्ता र १ कर्मचारीको हत्या आरोपी नसिमलाई दुई वर्षअघि सिआइबीले काठमाडौंमा पक्राउ गरेको थियो ।

नसिम माओवादी सशस्त्र संर्घषका क्रममा तत्कालीन शाही सरकारको समर्थनमा कपिलवस्तुमा चलाइएको माओवादी विरुद्धको प्रतिकार समितिका नाइके हुन् । त्यस क्रममा थुप्रै माओवादीको हत्या गरेको आरोप छ । उक्त आरोपबाट बच्न उनी २०६३ साल जेठमा जनतान्त्रिक तराई मुक्ति मोर्चा नामको भूमिगत समूहमा आबद्ध भए । लगत्तै हत्या, अपहरण,लुटपाटलगायतका घटनामा संलग्न भएको अदालतमा पेश गरिएका प्रहरी प्रतिवेदनहरुमा उल्लेख छ ।

२०७२ सालमा एमालेको सदस्यता लिएका खानलाई खुशी बनाउन एमालेले उनकी श्रीमती फौजिया खानलाई २०७४ सालमा समानुपातिक सूचीबाट प्रदेश सभासद बनाएको थियो । सीमापारीको भारतीय भूमि प्रयोग गरेर नेपालमा आपराधिक गतिविधि गर्दै उनले चन्दा आतंक,हतियार बेचविखन,अपहरण तथा मिलेमतोमा व्यक्ति हत्या गर्नेसम्मका काम गर्न थालेको आरोप छ ।

उनले माओवादी जिल्ला सदस्य प्रेम परियार (भुवन) को २०६३ साल फागुनमा तिर्तिखीमा गोली हानी हत्या गरेका थिए । उनको समूहले २०६३ फागुन १ गते इलैचा बरईको फुलिकास्थित घरमा आक्रमण गरेर उनकी ४ वर्षकी छोरीको हत्या तथा लुटपाट गरेको जाहेरी अदालतमा छ । लगत्तै उनको समूहले २०६४ मंसिर २५ गते तत्कालीन जिल्ला विकास समितिका स्थानीय विकास कोष प्रमुख निरञ्जन पौडेलको अपहरण गर्यो । करिब चार लाख रुपैयाँ फिरौती लिएर आठ दिनपछि छाडिदियो ।

चन्दा दिन नमानेको भन्दै तत्कालीन गाविस सचिव राममिलन गुप्तालाई नसिम र उनका सहयोगी श्रवण मुराउले २०६५ साल भदौमा पिपरा गाविसमै गोली हानी हत्या गरेको अर्को आरोप पनि छ । नसिमको समूहले २०६६ सालमा तिर्तिखी गाविसमा माओवादी कार्यकर्ता नसिबुल्लाह मुसलमानमाथि आक्रमण गर्दा स्थानीय अकाली कोहारलाई गोली लागेपछि उनको मृत्यु भएको थियो ।

त्यसपछि फुलिकाका माओवादी अवध राज्यका नेता राजेन्द्र तिवारीलाई उनकै योजनामा २०६७ वैशाख १३ गते पिपरा गाविसमै गोली हानी हत्या गरियो । हत्याको श्रृंखला बढे पनि पक्राउ नपरेका उनको समूहलाई तिवारीको हत्या प्रकरणपछि प्रहरीलाई पक्राउ गर्न ठूलो दबाब परेको थियो । तत्कालीन प्रहरी प्रमुख शरद चन्दले जेलबाट भागेका श्रवण मुराउको खोजीलाई तीब्र पारेका थिए । भारतीय प्रहरीको सहयोगमा मुराउ पक्राउ परे पनि नसिम भने भाग्न सफल भए ।

नसिमको समूहले पुनः पुरुषोत्तमपुर ५ मा रहेको शिवम क्रसरका मजदुर ज्ञानबहादुर सुनारको २०६७ असार २३ गते गोली हानी हत्या गरे । सुनारको हत्या आफैंले गरेको नसिमले खुलाएका थिए । त्यसपछि भारतको चाकरचौडा क्षेत्रमा बसेर अपराधिक गतिविधि सञ्चालन गर्न थाले ।

२०७५ फागुन ४ गते मायादेवी गाउँपालिका ४ का वडाध्यक्ष फत्ते मोहम्मदको ४ वर्षे छोरो अयमानको अपहरण गरेर उनैले ८ गते हत्या गरेका थिए । हत्या गरेर बालकको शव उनकै घर अगाडि फ्याकिएको थियो । कपिलवस्तु जिल्ला अदालतले २०६७ भदौमा उनीविरुद्ध हत्याका ६ वटा मुद्दा र एउटा डाँका मुद्दामा उनको अंश रोक्का गरि मुद्दा मुल्तबीमा राखेको हो ।

खानले बनाएका हरेक हत्या योजनामा सहयोगी देखिएका श्रवण मुराउलाई अदालतले भने यसअघि नै १ सय १७ वर्षको कैद सजाय तोकेर कारागार चलान गरेको छ । तर राजनीतिक तथा आर्थिक चलखेलमा नसिमसहित उक्त घटनामा संलग्नहरुलाई छाड्ने प्रपञ्च मिलउन एउटा समूह सक्रिय भएको पीडित परिवारको आरोप छ ।

मृतक शिवपुजन कुर्मीका छोरा होमप्रकाश चौधरीले राजनीतिक र आर्थिक चलखेलका कारण नसिम खान र उक्त घटनामा प्रत्यक्ष संलग्नहरुलाई छाड्ने हल्ला बाहिर आएको आफूले पनि सुनेको बताए । ‘हामी न्याय चाहन्छौं, सिंगो जिल्लालाई नसिमको अपराधबारे थाहा छ,प्रमाण छ,अब पनि न्याय मर्यो भने हामी पीडितको के लाग्छ ?’ उनले भने ।

खान निकटहरुले भने उनी सशस्त्र भूमिगत समूहमा आबद्ध हुँदाताकाको राजनीतिक घटना भएकाले यसलाई सरकार र विद्रोहीपक्षको सहमतिअनुसार लिनुपर्ने दाबी गरेका छन् । अदालतमा बयान दिने क्रममा नसिमले सबै आरोपमा आफूलाई जबर्जस्ती फसाइएको जिकीर लिएका छन् ।

टिप्पणीहरू