रोल्पा पुगेपछि महरालाई कविता फुर्यो

रोल्पा पुगेपछि महरालाई कविता फुर्यो

पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले रोल्पा पुगेर ४० वर्षअघि आफूले लेखेको कविता सम्झनुभएको छ । रोल्पाको सुलिचौरमा भएको साहित्य महोत्सवको प्रमुख अतिथि रहनुभएका उहाँले कविता वाचनसमेत गर्नुभयो ।

महराले कविताको पृष्ठभूमिबारे स्मरण गर्दै सुनाउनुभयो, ‘२०३८ सालमा नून बोक्ने भरियाको जीवनलाई अभिव्यक्त गर्न ‘हतारो’ पत्रिका प्रकाशन गरेका थियौँ । त्यतिबेला प्रमुख जिल्ला अधिकारीले तारेख लगाएका थिए । त्यो पनि विद्रोहको एउटा माध्यम थियो । उहाँको विरुध्दमा बोलेरै आज राजनीतिमा सहभागी भई देश परिवर्तनका लागि योगदान दिन पाएका छौँ ।’

‘हतारो’ पत्रिका प्रकाशनमा किमबहादुर थापा ‘सुनिल’, खगेन्द्र बिष्टलगायतको टिमको सहभागिता रहेको महराले स्मरण गर्नुभयो ।

कुनै पनि साहित्य जुनसुकै समाजको ऐना भएको उल्लेख गर्दै उहाँले रोल्पा जिल्लाको बलिदान,त्याग, तपस्याको बारेमा लेख्न, बोल्न र प्रचार प्रवाह गर्न पनि आग्रह गर्नुभयो । मन्तव्य सक्दै गर्दा त्यहि २०३८ सालमा केबिएमको नामबाट लेखेको ‘जनतालाई’ शीर्षकको कविता वाचन गर्नुभयो ।

जनतालाई

– केबिएम

उठ ए ! जनता हो !!
अझै लाटा भएर नबस,तिमीलाई यहाँ
अकालै मृत्युको खुमतिर धकेलिएको छ
तिमीलाई यहाँ आजै
तिम्रो मासुको भतेर लगाउन षड्यन्त्र रचिँदै छ
तिमी भने अझै चुप लागेर बसिरहेका छौ
कोही निदाइरहेका छौ
बुझ ए !
कर्म त तिमी आफैं बनाउन सक्छौ
तिमीले आफ्नो यात्रुलाई
राम्ररी चिनेर नाप्नै पर्दछ
उनीहरुले रगत पिउनै पर्दछ
तिमीहरू थोरै छैनौ
यहाँ
उठ मात्रै
तिमी जस्ता असंख्य सर्वहाराहरूले
तिम्रा काँध मिलाएर
साथ दिने छन्
तिमीलाई !!

टिप्पणीहरू