पुस २७ गते नुवाकोटमा बिदा

पुस २७ गते नुवाकोटमा बिदा

नुवाकोटको विदुर नगरपालिकाले पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले सूचना प्रकाशन गरी सार्वजनिक बिदाको जानकारी गराएका हुन् ।

पुस ९ गते बसेको दशौँ नगरसभाको बैठकले राष्ट्रिय एकीकरण दिवसको अवसर पारेर पुस २७ गते नगरपालिकाअन्तर्गतका विद्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा जनाइएको छ ।

राजतन्त्रका बेला पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पुस २७ गते देशभर सार्वजनिक बिदा दिने गरिएको थियो । तर, गणतन्त्र आएपछि सरकारले बिदा कटौती गरेको छ ।

राप्रपा, विवेकशील साझालगायतका दल र विभिन्न राजवादी संघसंस्थाहरुले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन र देशभर सार्वजनिक बिदा दिन सरकारसँग माग गरिरहेका बेला एमालेबाट निर्वाचित मेयर रहेको विदुर नगरपालिकाले भने त्यहाँ बिदा दिने निर्णय गरेको हो ।

नुवाकोटको पृथ्वीनारायण शाहसँग भावनात्मक सम्बन्ध पनि जोडिएको छ । नेपाल एकीकरणका क्रममा उपत्यका विजयपछि पश्चिम विजय अभियान थाल्नुअघि पृथ्वीनारायण आफ्नो मामाघर नुवाकोटको देवीघाट पुगेका र त्यतिबेलै उनको त्यहिँ मृत्यु भएको इतिहासमा लेखिएको छ । देवीघाट विदुर नगरपालिकाभित्रै पर्छ ।

टिप्पणीहरू