एमाले महाधिवेशनमा हात हालाहाल, प्रहरी परिचालन

एमाले महाधिवेशनमा हात हालाहाल, प्रहरी परिचालन

एमालेको जिल्ला अधिवेशन भएका केही जिल्लामा प्रतिनिधिहरुबीच हात हालाहाल भएको छ । एकपक्षीय रुपमा पदाधिकारी घोषणा गरेको विरोधमा उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

तीन दिनदेखि पार्टी कार्यालयमा जारी नेकपा एमाले रुकुम पश्चिमको आठौं जिल्ला अधिवेशनमा त्यस्तो अवस्था देखिएको हो । बन्दसत्रबाट गठित अध्यक्ष मण्डलले जिल्ला अध्यक्षमा नन्दराम देवकोटालाई घोषणा गरेपछि प्रनिधिहरु एकपक्षीय घोषणा अमान्य भन्दै नाराबाजीमा उत्रिएका हुन् ।

अध्यक्ष मण्डलका तर्फबाट पार्टी केन्द्रीय सदस्य समेत रहनुभएकी तिर्था गौतमले अध्यक्षमा देवकोटासँगै उपाध्यक्षमा नारायणकुमार शाह, सचिवमा टंकप्रसाद ओली र उपसचिवमा रचना मल्ल ओलीको नाम घोषणा गर्नुभएको हो ।

तर अधिवेशन प्रतिनिधिहरुले यसरी घोषणा गरिएका पदाधिकारीहरु मान्य नहुने भन्दै नाराबाजी गरेका हुन् । उपाध्यक्ष पदमा घोषणा गरिएका शाह र सचिव पदमा घोषणा गरिएका ओलीले नै उक्त पद मान्य नहुने बताएपछि अधिवेशन स्थलमा नाराबाजी भएको हो ।

शाह र ओली दुवै जनाले अध्यक्ष पदमा लागि दाबी गरेका छन् । पार्टी निकट अनेरास्ववियुका जिल्ला अध्यक्ष प्रकाश खड्काका अनुसार केही पालिकाहरुबाट घोषणा गरिएका पदाधिकारीमा विरोध भए पनि अधिकांश प्रतिनिधि र पालिकाबाट मान्य हुने अवस्था सिर्जना भएको छ । अन्तिममा बन्दसत्रबाट बनाइएको अध्यक्ष मण्डलले घोषणा गरेको पदाधिकारीहरु नै मान्य हुने खड्काको भनाइ छ ।

पदाधिकारीको विवाद साम्य भएपछि पालिकाअनुसार सदस्य पदमा सहमति गरिने बताइएको छ । चर्को नाराबाजी र हात हालाहालको अवस्था उत्पन्न भएपछि अहिले पार्टी कार्यालयमा प्रहरी परिचालन गरिएको छ ।

टिप्पणीहरू