अधिवेशन लम्बिँदा बेखर्ची प्रतिनिधि सडकमा, नेता कोठाबाटै निस्केनन्

अधिवेशन लम्बिँदा बेखर्ची प्रतिनिधि सडकमा, नेता कोठाबाटै निस्केनन्

नेतृत्व चयनमा सहमति जुटाउन भन्दै बन्दसत्र रोकिँदा नेकपा एमाले बाजुराको अधिवेशन लम्बिएको छ । शुक्रबारदेखि शुरु भएको सातौँ जिल्ला अधिवेशनमा नेतृत्वका लागि सहमति नहुँदा अधिवेशन लम्बिएको हो ।

सहमतिको प्रयास भन्दै नेताहरू न्यानो कोठाबाट बाहिर निस्केका छैनन भने प्रतिनिधिहरू चिसो सडकमा कठ्याँग्रीदै नेताको आदेशको पर्खाइमा छन् । २२ पुसमै सदरमुकाम पुगेका प्रतिनिधिहरू चिसोमा कठ्याँग्रिदै दैनिक सडकमा यत्रतत्र भौतारिदै हिंड्नुपर्ने अवस्था बनेको छ ।

अधिवेशन लम्बिँदा प्रतिनिधिहरू बेखर्चीसमेत हुन् थालेका छन् । प्रतिनिधिहरुका अनुसार हिजै सक्ने भनिएको अधिवेशन अहिलेसम्म बन्दसत्र शुरु नहुँदा खर्च अभाव हुन् थालेको हो । एक-दुई दिनका लागि अनुमानित खर्च बोकेर आएका प्रतिनिधिहरुको खल्त्ति रितिन्न थालेको उनीहरुको गुनासो छ । चिया खाजा खाने पैसासमेत नभएपछि दिनभर सडकमै गफ गरेको बस्नु परेको उनीहरूको भनाइ छ ।

यता, नेताहरू भने आन्तरिक छलफल भन्दै चिसोको डरले न्यानो कोठाबाट बाहिर निस्केका छैनन् । नेताहरुले आकांक्षी धेरै भएका कारण सहमति हुन नसकेको भन्दै प्रतिनिधिहरुलाई आश्वस्त बनाइरहेका छन् ।

बताइएअनुसार एक जना अध्यक्ष पदका लागि चार जनाको दावेदारी छ । एमालेभित्र पनि दुई वटा गुटको हालिमुहाली हुँदा कसलाई सहमति गर्ने भन्ने टुंगो लाग्न नसकेको प्रतिनिधिहरू बताउँछन् ।

टिप्पणीहरू