बिपी राजमार्ग बन्यो सवारी दुर्घटनास्थल

बिपी राजमार्ग बन्यो सवारी दुर्घटनास्थल

बिपी राजमार्गअन्तर्गत सिन्धुली खण्डमा पछिल्लो समय सवारीसाधन दुर्घटना बढ्दै गएको छ । ६ महिनायता मात्रै सो सडक खण्डमा भएका सवारी दुर्घटनामा परि नौ जनाले ज्यान गुमाएका छन् ।

साउनदेखि २० पुससम्मको अवधिमा बिपी राजमार्गमा भएका सवारी दुर्घटनामा परी ९ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

राजमार्गमा बढी मात्रामा मोटसाइकल, स्कुटर दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख कृष्ण क्षेत्रीले बताए । उनका अनुसार राजमार्ग साँघुरो र गुमाउँरो भएकाले तीव्र गतिमा चलाएका धेरै सवारीसाधन दुर्घटनामा पर्ने गरेका छन् ।

चालकको लापरवाहीका कारण दिनहुँजसो सवारी दुर्घटना हुने गरेको स्थानीयको भनाइ छ । जसका कारण सर्वसाधारणसमेत मारमा पर्ने गरेका छन् ।

पूर्वी नेपालबाट राजधानी काठमाडौं भित्रने माइक्रो बस, जिपका साथै मोटसाइकल, स्कुटरलगायतका सवारीसाधन सो मार्गमा तीव्र गतीमा चल्ने गरेका छन् । उनीहरूबीच आपसमा हुने प्रतिस्पर्धाले दिनहुँजसो दुर्घटना भइरहेको कमलामाई नगरपालिका–६ का स्थानीय सरोज धमलाले बताए ।

सवारी दुर्घटना न्यूनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनचेतनाका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । साथै सवारी चेकजाँचलाई पनि कडाइ गरेको प्रमुख क्षेत्रीले बताए । तर, दुर्घटना भने घटेको छैन ।

टिप्पणीहरू