भत्ता नपाएपछि बृद्धबृद्धाको आन्दोलन, जनप्रतिनिधि कार्यालय छोडेर भागे

बृद्धाभत्ता नपाएको भन्दै ज्येष्ठ नागरिकहरुले सप्तरीको कंचनरुप नगरपालिकाको कार्यालय घेराउ गरेका छन् । प्रत्येक चार-चार महिनामा पाउनुपर्ने भत्ता ६ महिना बितिसक्दा पनि नपाएको भन्दै ज्येष्ठ नागरिकहरुले कार्यालय घेराउ गरेका हुन् । स्थानीयका अनुसार कार्यालय घेराउपछि मेयर र उपमेयर भने भागेका छन् ।

भत्ताको पैसाले जाडोको लुगा किन्ने आसमा बसेका बृद्धबृद्धा जाडो बित्न लाग्दा पनि नआएपछि आज नगर कार्यालय घेर्न पुगेका हुन् । घेराउमा सहभागी पवित्री सदाले समयमा भत्ता नपाएका कारण न्यानो कपडा लगाउन नपाएको दुखेसो गरिन् ‘हामीले समयमा भत्ता पाएको भए यस्तो शितलहरमा कठ्याग्रिएर बस्नुपर्ने बाध्यता हुँदैनथ्यो’, उनले भनिन्।

घेराउका क्रममा उनीहरुले ‘मेयर वसन्त मिश्र र उपमेय निरु पोख्रेल चाहिँदैन’ भन्दै नाराबाजी गरेका थिए । सो क्रममा उनीहरुले समयमा भत्ता दिन नसक्ने मेयर उपमेयरको राजीनामा समेत मागेका थिए ।

टिप्पणीहरू