नेताहरुमा यतिसम्म घाटा र नाफा

नेताहरुमा यतिसम्म घाटा र नाफा

एमालेलाई माया गर्नेहरु आज दिनप्रतिदिन बढ्दो उसको अवस्था देखेर चिन्तित हुन थालेका छन् । यदि अबको २१ दिन (माघ १२ सम्म) देशको राजनीतिले कुनै आश्चर्यजनक मोड लिएन भने संसदबाट एमाले अझै खुम्चिँदैछ । उसले राष्ट्रियसभा निर्वाचनका निम्ति रिक्त १९ सीटमै उम्मेदवारी दिएको छ ।

तर, जित्ने सम्भावना कमजोर देखिन्छ । अर्कातिर, महाधिवेशनमा हुँडलिएको आन्तरिक एकता खस्किँदै–खस्किँदै जिल्ला अधिवेशनसम्म पुग्दा संकटहरु झन्झन् थपिँदैछन् । यदि वैशाखमै स्थानीय तहको निर्वाचन हुने हो भने आजभोलिमै त्यसको मिति सरकारले तय गर्ला । यसो गर्दा पनि क्षति हुने एमालेलाई नै हो । किनभने, इटहरीका ‘भाइरल मेयर’ द्वारिकलाल चौधरीदेखि थुप्रै जनप्रतिनिधि पार्टी नेतृत्वसँग असन्तुष्ट भइसकेका छन् । उनी पूर्वतिर गएपिच्छे माधव नेपाललाई घरमा भात खुवाउन सक्रिय छन् ।

शुरुमा माधव नेपालतिर भई विभाजनको संघारमा साथ छाड्नेहरुले भन्न थालेका छन्, ‘उहाँको पार्टी चल्छ भन्ने लागेकै थिएन । तर, जसरी प्रवेश हुँदैछ, त्यसले एमालेलाई हराउनका निम्ति निक्कै भूमिका खेल्ने भयो । माओवादी र जसपाले साथ दियो भने प्रत्यक्षमा केही सीट आर्जन हुने अवस्था पनि देखिँदैछ ।’ हुन पनि माधव नेपालले एमालेबाट केही लिएर नयाँ पार्टी खोल्नुभएको हैन, सबै छोडेर हिँड्नुभएको हो ।

यतिसम्मकि अमृत बोहोरा, रघुजी पन्तजस्ता उहाँको जीवनका अटुट सारथीसम्म यसक्रममा छाडिए । त्यसैले उहाँको सकिने केही छैन । बने बन्ने, नत्र सकिन तयारै हुनुभएका कारण उहाँले आफूतिरको क्षतिप्रति त्यति पर्वाह नगरेको निकटस्थहरु बताउँछन् । बरु, राष्ट्रियसभा निर्वाचनमा एमालेलाई प्रदेश १ बाट केही भयो भने भयो, नत्र ‘हात लाग्यो शून्य’ नै हो । पुष्करसमशेरको कथा ‘श्रीमैयाँको इयरिङ’ को हालतमा एमाले पुगेको एक विश्लेषक बताउँछन् ।

एउटा राणाजी थिए, उनीसँग भएका श्रीसम्पत्ति सकिएर छोरीको काने झुम्कामात्रै बाँकी थियो । अन्तिममा छोरीले त्यो इयररिङ पनि रुँदै–रुँदै दिन्छिन् । त्यसपछि टाट पल्टिएको घोषणा हुन्छ । ती विश्लेषकले एमाले दिनप्रतिदिन तिनै राणाजीको नियतितर्फ डोरिँदै गएको ठहर गरेका छन् ।

किनभने, एमालेमा अब सुवाष नेम्वाङजस्ता हरदम केपीको चिन्ता गर्ने मान्छेसम्म असन्तुष्ट भइसके । भीम रावल, घनश्याम भुसालहरु छँदैछन् । सन्तुष्ट हुनेमा शंकर पोखरेल, ईश्वर पोखरेल, विष्णु रिमालहरु हुन् । विष्णु पौडेल पनि ओलीको भूमिकासँग सशंकित छन् । त्यसमाथि महाधिवेशनपछिको प्रलय थेगिनसक्नुको छ, जुन जिल्ला अधिवेशन र स्थानीय तहका चुनावको सिलसिलामा जारी रहने छनक मिल्छ ।

जस्तो कि, सुनसरीबाट धर्मराज निरौला, पाल्पाबाट यादव रायमाझी, सिन्धुपाल्चोकबाट सुभाष कर्माचार्य, डडेल्धुराबाट डा.ताराप्रसाद जोशीसहितका नेताहरुले महाधिवेशनपछि विद्रोह गरे । जिल्ला अधिवेशनपछि सुनसरी, पर्सा, सिन्धुपाल्चोक, सिन्धुली, चितवन, कपिलवस्तु, पाल्पा, प्यूठान, रोल्पाजस्ता जिल्लामा क्षति हुने चित्र आइसकेको छ । डडेल्धुरा, बैतडी, बाजुराजस्ता जिल्लामा एमालेका जिल्ला कमिटी बन्दैछन् ।

केपी ओली मान्छेहरुलाई केही दिएर आफ्नो बनाउने काममा अभ्यस्त हुनुहुन्छ । जस्तो कि, महाधिवेशनअघि रोल्पाको टोलीलाई शुरुमा हाताहाती एक लाख, पछि पिए राजेश बज्राचार्यलाई बोलाएर अर्को लाख रुपियाँ थपेर ‘महाधिवेशनमा आउनु है’ भन्दै पठाउनुभयो । तर, यसरी हाताहाती नगद दिएर कहिलेसम्म पार्टी चल्छ ? सधैं दिइरहनका लागि कति नै नगद उहाँसँग होला ? पक्कै पनि पशुपतिसमशेर राणाजत्तिको धनी हुनुहुन्न । तर, धनको बलले पशुपतिसमशेरको राजनीति नटिकेको त देखिएकै छ ।

जसरी प्रचण्डले हेटौंडाबाट चार हजार सदस्यीय केन्द्रीय कमिटी बनाएपछिको चुनावमा पार्टी पहिलोबाट तेस्रोमा झ¥यो, केपीले पनि पुस ५ पछि १५ सय १ सदस्यीय केन्द्रीय कमिटी घोषणा गर्नुभयो । तर, उहाँको कदमलाई दुई–दुईचोटि सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिदियो, त्यसमाथि भएको एकीकृत पार्टी नेकपा टुक्रिएर तीन चोइटा भयो ।

अहिले फेरि १५ सय १ कमिटीलाई खुम्च्याइयो । कतिपय मान्छेलाई ‘भूपू केन्द्रीय सदस्य तथा हाल जिल्ला कमिटी, क्षेत्रीय कमिटीका सदस्य’ भन्नुपर्ने अवस्था छ ।आजसम्मको मितिमा एमाले विभाजनका कारण उसलाई प्रदेशसभातर्फ २१ प्रतिशत र स्थानीय तहमा १० प्रतिशत क्षति छ । अहिलेको राष्ट्रियसभा निर्वाचनमा विभाजनअघिको एमाले एक्लै भएको भए मज्जैले जित्थ्यो ।

समाजवादीबाट एमालेका मान्छे चोरिन थालेपछि केपीले ‘पुरानोमा ध्यान नदिनु’ भन्ने गर्नुभएको छ । उहाँले ‘फिल्ड खालि भयो, पुरानो पातहरुलाई झर्न दिऔँ, नयाँ पात पलाउन दिऔँ’ भन्दै दुर्गा प्रसाईं (मार्सी), कोमल वलीजस्ता नयाँ मानिसहरुलाई नेता बनाउनुभएको छ । केन्द्रीय कमिटीबाट बिदा गरिएका २२ केन्द्रीय सदस्यमध्येका हुन्, धर्म निरौला, यादव रायमाझी ।

अमृत बोहोरा, गोमा देवकोटा, राधा ज्ञवाली, सत्यनारायण मण्डलहरु ७० वर्षे उमेरका कारण बिदा गरिए । मानबहादुर जिसी स्वास्थ्यका कारण नेतृत्वमा रहेनन् । नरेश खरेल, सुरेन्द्र मानन्धर, कैलालीका दिपक देवकोटाहरु छुटेको छुट्यै भए । छुटाइएका उमा कोइराला, विशाल भट्टराई, विषमलाल दनुवार, लालबाबु पण्डितहरु पछिबाट समेटिए ।

टिप्पणीहरू