महिलाका मोह थरिथरिका

महिलाका मोह थरिथरिका

सप्तरीमा गर्भपतन गराउने महिलाहरुको संख्या बढ्न थालेको छ । राजविराज नगरपालिकामा छोराको मोहले गर्भपतन गराउने महिलाहरुको संख्या बढ्न थालेको हो ।

नेपालको कानुनले भ्रुणको लिंग पहिचान गरी गर्भपतन गराउन अनुमति नदिने भए पनि अहिले छोरा पाउने इच्छा राख्दै महिलाहरु गर्भपतन गराउन अघि बढेका हुन् ।

राजविराज नगरपालिका–१६ की ३५ वर्षीया विमला यादव (नाम परिवर्तन) एक छोरा र दुई छोरीकी आमा हुन् । उनी अझै एउटा छोरा पाउने आशमा छिन् । उनले चौथो सन्तानको लिंग पहिचान गरी गर्भपतन गराएकी हुन् ।

उनका श्रीमान् वैदेशिक रोजगारको क्रममा विदेशमा छन् । विदेशबाट आएपछि पुनः छोरा पाउने मनस्थिति बनाएको विमलाको भनाइ छ । उनले भनिन्, ‘मेरो परिवारमा चार पुस्तादेखि एउटा मात्रै छोरा हुँदै आएकाले हामी दम्पतीमा दुई छोरा जन्माउने चाहना बढेको हो ।’

यस्तै राजविराज नगरपालिका–२ की ३३ वर्षीया मोनाज खातुन (नाम परिवर्तन) पनि तीन छोरीकी आमा हुन् । उनले गर्भमा छोरी भएकैले दुईपटक गर्भपतन गराइसकेकी छन् । उनले भनिन्, ‘तीनवटी छोरी भए पनि छोरा चाहिने भएकाले छोरा पाउने आशमा दुईपटक गर्भपतन गराउन बाध्य भएँ ।’

नेपालको कानुनमा भ्रुणको लिंग पहिचान गरी गर्भपतन गर्न, गराउन नहुने व्यवस्था रहेको अधिवक्ता दानो चौधरी बताउनुहुन्छ । कसैले गर्भपतन गराउने उद्देश्यले गर्भमा रहेको भ्रुणको लिंग पहिचान हुने कुनै काम गर्ने, लिंग पहिचान भएपछि गर्भपतन गर्ने, गराउने व्यक्तिलाई कानुनबमोजिम कारबाही हुने व्यवस्था रहेको उहाँको भनाइ छ ।

उहाँका अनुसार १२ हप्ताभन्दा बढी २५ हप्तासम्मको भ्रुण हत्यामा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्मको जरिवाना हुने कानुनमा व्यवस्था छ ।

अहिले पनि लिंग पहिचान गरी गर्भपतन गराउनेको संख्या सप्तरीमा उल्लेखनीय छ । तर यसको वास्तविक तथ्याङ्क नरहेको एक स्वास्थ्यकर्मीले बताएका छन् । प्रायः भ्रुणको लिंग पहिचान र हत्यामा सम्बन्धित सबैको मिलेमतो देखिन्छ ।

टिप्पणीहरू