धुर्मुस-सुन्तली टक्टकिएपछि ऋणजति महानगरलाई

धुर्मुस-सुन्तली टक्टकिएपछि ऋणजति महानगरलाई

बहुचर्चित गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम बिचैमा अलपत्र पारेर धुर्मुस–सुन्तली फाउन्डेसन फुत्किएपछि भरतपुर महानगरले जिम्मा लिएको छ । ऋणमा डुबेको भन्दै फाउन्डेसनले हात झिकेपछि महानगर रंगशालाको स्वामित्व ग्रहण गर्न बाध्य भएको हो ।

मेयर रेणु दाहालका अनुसार फाउन्डेसनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व महानगरपालिकाले लिने र संघीय सरकारलाई हस्तान्तरण गरिने छ ।

यसअघि फाउन्डेसनले १७ करोड ऋण लागेको र सहयोग पनि नउठेको भन्दै महानगरलाई स्वामित्व लिन आग्रह गरेको थियो । सो आग्रह स्वीकार गर्दै महानगरले रंगशालाको स्वामित्व लिन अघि बढेको उहाँको भनाइ छ ।

सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै रंगशाला बनाउँदा लागेको ऋण र बहुवर्षीय योजनाअनुसार काम अघि बढाउन संघीय सरकारलाई आग्रह गर्ने मेयरले बताउनु भयो । यसअघि रंगशाला निर्माणका लागि महानगरपालिकाले १० करोड सहयोग गरेको थियो ।

महायज्ञ लगाएर १७–१८ करोड पनि जुटेको हो । चितवनका ३० हजार बढीले रंगशालामा सहयोग गरेका छन् । तर, अपेक्षाकृत सहयोग संकलन हुन् नसकेको भन्दै फाउन्डेसनले निर्माणबाट हात झिकेको हो ।

‘फाउन्डेसनले आर्थिक अभावकै कारण देखाएर सकिन भनेको छ । अब के गर्ने सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन’, मेयर दाहाल भन्नुहुन्छ ।

कलाकारिताबाट समाजसेवामा लागेका हाँस्य कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’द्वारा संचालित धुर्मुस-सुन्तली फाउन्डेसनले यसअघि तीन ठाउँमा नमूनावस्ती निर्माण गरेको थियो ।

काभ्रेपलान्चोकको पाँचखाल नगरपालिकास्थित डाँडाँगाउँमा भू्कम्पपीडितका लागि, सिन्धुपाल्चोकको मेलम्चीस्थित गिरानचौर र महोत्तरीको बर्दिबासमा पनि एकीकृत नमूनाबस्ती बनाएका थिए । फाउन्डेसनले २०७५ माघ १६ गते रंगशाला निर्माणको घोषणा गरेको थियो । कुल ३ अर्ब ५५ करोड लागत अनुमान गरिएको थियो ।

चन्दा उठाएर अर्बौंको महत्वाकांक्षी परियोजनामा सम्पन्न गर्ने उनीहरुको घोषणाप्रति त्यतिबेलै धेरैले आलोचना गरेका थिए । तर, करोड लागतका तीन वटा आयोजना सफल भएपछि हौसिएका धुर्मुस र सुन्तली रंगाशाला निर्माणमा लागे ।

तर, ३५ प्रतिशत काम सकेपछि सहयोग जुटाउन नसकेको भन्दै केही समयअघि उनीहरुले रंगशाला निर्माणबाट हात झिकेका हुन् । फाउन्डेसनको निर्णयले रंगाशाला निर्माणको काम मात्रै अलपत्र परेको छैन, आफ्नो गाँस काटेर देश-विदेशका हजारौँ नेपालीबाट उठेको रकमसमेत बालुवामा हालेको पानि बराबर हुने अवस्था बनेको छ ।

टिप्पणीहरू