सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया थालियो

सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया थालियो

राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन निवेदन मागेको छ । आयोगले ३५ दिनभित्र निवेदन दिन सार्वजनिक सूचना प्रकाशित गरेको हो । सूचनामा निवेदन माघ १८ गतेदेखि ३५ दिनभित्र पेस गर्न सकिने जनाइएको छ ।

‘स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीले जग्गा पाउन आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम भरी मिति २०७८ माघ १८ गतेदेखि ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानमा खटिएका लगत संकलक मार्फत् पेस गर्नुहुन र आफूले आवाद गरेको जग्गाको नापनक्सा सम्बन्धित नापी टोली खटिए पश्चात् गराउन,’ सूचनामा उल्लेख छ ।

२७ जिल्लाका ७६ स्थानीय तहका भूमिहीन सुकुम्वासीलाई निवेदन दिन आयोगले भनेको हो । आयोगले इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, बारा, रौतहट, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेल्धुराका ६८ स्थानीय तहका सुकुम्वासीसँग आयोगले निवेदन मागेको हो ।

बाँकी जिल्लाका सुकुम्वासीसँग पछि आवेदन मागिने जनाइएको छ ।

टिप्पणीहरू