बलात्कारको घटना सामसुम पार्न जनप्रतिनिधि सक्रिय, लेनदेन नमिलेपछि कुरा चुहियो

बलात्कारको घटना सामसुम पार्न जनप्रतिनिधि सक्रिय, लेनदेन नमिलेपछि कुरा चुहियो

कैलालीमा बलात्कारको घटना लुकाउन एक जनप्रतिनिधिको संलग्नता भेटिएको छ । कैलाली घोडाघोडी नगरपालिका–४ का वडा सदस्य लक्ष्मीरुद्र न्यौपानेले एक वृद्धामाथि भएको बलात्कारको घटनामा मिलापत्र गराएको पाइएको हो ।

घटनामा संलग्नता देखिएको भन्दै प्रहरीले वडा सदस्य न्यौपानेसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही वडाका शिक्षक प्रकाश सुवेदी, शिक्षक होमप्रसाद सुवेदी, पूर्व वडासचिव यज्ञराज आचार्य र राजु भट्टराई छन् ।

१५ मंसिरमा स्थानीय ७७ वर्षीया बृद्ध महिलामाथि भएको बलात्कारको घटना ढाकछोप गर्न भूमिका खेलेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

‘घोडाघोडीकी ७७ बर्षीया वृद्धामाथि बलात्कार भएको थियो,’ प्रहरी प्रवक्ता जोशीले भने, ‘१५ मंसिरमा बलात्कार हुँदा १२ पुसमा मात्रै उजुरी आएपछि अनुसन्धान गर्दा वडा सदस्यसहित पाँच जनालाई पक्राउ गरेर छानबिन थालिएको छ ।’

उनका अनुसार पीडित महिलाका छोराले १२ पुसमा मात्रै इलाका प्रहरी कार्यालय सुख्खडमा बलात्कार भएको भन्दै उजुरी दिएका थिए । १५ मंसिरमा भएको घटनामा उजुरी दिन किन ढिलाई भन्ने प्रश्नमा पीडित पक्षले जनप्रतिनिधि र शिक्षकको दबाबका कारण ढिलाई भएको जवाफ दिएको प्रहरी प्रवक्ता जोशीले बताए ।

आर्थिक लेनदेनको विषयमा कुरा नमिलेका कारण घटना ढिला गरी मात्रै बाहिरिएको हुनसक्ने प्रवक्ता जोशीको अनुमान छ । ‘सुरुमा तीन लाखमा कुरा भएको देखिन्छ,’ उनले भने, ‘तर पछि भने जनि पैसा नपाइएपछि आफन्त प्रहरी कहाँ पुगेका हुन सक्छन्, यस विषयमा थप अनुसनधान भइरहेको छ ।’

पीडित पक्षले भने जनप्रतिनिधिको दबाबका कारण उजुरी दिन ढिलाई भएको जवाफ दिएका छन् । घटनामा संलग्न भएको आश‌का गरिएका ३-४ जना भने अझै पक्राउ परेका छैनन् ।

टिप्पणीहरू