धर्मका नाममा खोला खान पाइन्न : मन्त्री झाँक्री

धर्मका नाममा खोला खान पाइन्न : मन्त्री झाँक्री

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले विभिन्न संघसंस्था र धर्मका नाममा खोला किनारमा भएका अतिक्रमण हटाउने उद्घोष गर्नुभएको छ । गोदावरी खोला सरसफाई अभियान १५०औं हप्ता पुगेको अवसरमा आज ललितपुरको गोदावरीमा आयोजित विशेष कार्यक्रममा उहाँले यस्तो उद्घोष गर्नुभएको हो ।

झाँक्रीले खोलामा मिसिने ढल प्रशोधनका लागि उपयुक्त ठाउँ र विधिबारे अध्ययन भैरहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘खोलामा मिसिने ढल प्रशोधन गर्न धेरै बजेट र ठाउँ चाहिन्छ । हामी कम खर्च र ठाउँमा कसरी ढल प्रशोधन गर्न सकिन्छ भनेर अनुसन्धान गरिरहेका छौं ।’

सो अवसरमा अभियानले अब टोल टोलमा सरसफाई अभियान सुरु गर्ने जानकारी समेत दिइएको थियो । अभियानकी अभियन्ता बेबी राजभण्डरीले अब टोल टोल सरसफाई कार्यक्रम सुरु गर्ने घोषणा गर्नुभयो ।

बागमती सरसफाई अभियानका अभियन्ता पूर्वराजदूत तथा पूर्वमुख्यसचिव लिलामणी पोखरेलले गोदावरी नगरलगायतको सहयोग पाएर गोदावरी खोला सरसफाई कार्यक्रम सफल भएको बताउनुभयो । भन्नुभयो, ‘हामी अभियन्ताले राजनीतिक दलको चाही सहयोग पाएनौं । उनीहरुले हाम्रो अभियानलाई सहयोग गर्नुको साटो खिसिट्युरी गरेका छन् ।’

पौडेलले आउँदो निर्वाचनमा अभियानलाई खिसी गर्नेहरुलाई देखाइदिने चेतावनी दिनुभयो ।

कार्यक्रमअघि विभिन्न नदी सरसफाई अभियानका अभियन्तालाई सम्मान गरिएको थियो भने मुहान क्षेत्र सफाई गरिएको थियो ।

टिप्पणीहरू