सिंहदरबारका कर्मचारीको सकसै सकस

सिंहदरबारका कर्मचारीको सकसै सकस

‘केपी ओलीका शासनकालमा त के पेलान थियो र हामीलाई ? त्योभन्दा अहिले बढी पेलानमा परियो,’ हिजोआज सिंहदरबारमा सुन्न थालिएको यो गुनासो एकथरि कर्मचारीको हो । यस्तो गुनासो सबैभन्दा बढी गृहमन्त्रालय वा मातहतका कर्मचारीले गरेका हुन् ।

गृहमन्त्री बालकृष्ण खाँणले जागिरे जीवनभर २६ वर्ष शिक्षा सेवामा बिताएका तर गृह प्रशासन केही नबुझेका टेकनारायण पाण्डेलाई टपक्क टिपेर सचिव बनाएपछि ठूलै तहका कर्मचारीसमेत टाउकोमा हात राखेर घाम ताप्न थालेका हुन् । उनै पाण्डे अहिले मन्त्री खाँणको ‘एसम्यान’ का रुपमा कार्यरत हुँदा गृह प्रशासनमा पाइलैपिच्छे गडबडी भेटिएको कर्मचारी वृत्तमा चर्चा छ ।

सिंहदरबारभित्र सरुवाको खेतीपाती यति धेरै मौलाउँदै छ कि गृहले पछिल्लो एक सातामा मात्र किस्ताबन्दीमा झण्डै दुई दर्जन सहसचिव र उपसचिवहरु (केही प्रमुख जिल्ला अधिकारी) लाई चलाएको छ ।

पुस २१ गते नौ जिल्लाको सिडियो हेरफेर गर्दा दिन बिराएर धनकुटासहित धनुषा,सल्यान,काभ्रे र कालिकोटका सिडिओहरु हेरफेर गरिएको तालिका देखिएको थियो ।

यसअघि झापासहित सुर्खेत, बागलुङ,बझाङ,बाजुरा, दार्चुला, ओखलढुंगा, इलाम, रुकुम पश्चिमलगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गरिएको थियो । गृहले केही सहसचिव तथा उपसचिवलाई महिनौंसम्म मन्त्रालयको बरण्डामा (जिम्मेवारीविहीन बनाएर) थन्काएको छ । तर अघिल्लो दिन मात्र लगानी बोर्डबाट तानेर गृहमा भित्र्याइएका सुरेन्द्र पौडेललाई भोलिपल्टै धनुषाको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइनुलाई गृहकै कर्मचारीहरुले ‘दालमे कुछ काला है’ को रुपमा टिप्पणी गर्न थालेका छन् ।

यता गृहको खटनपटनको डटेर सामना गर्ने कर्मचारीहरु पनि बढ्दै गएका छन् । कोहीलाई लगातार आठ वटासम्म जिल्लाको सिडिओ बनाएर खटाइएको छ । यही साता माछा काण्डमा मुछिएका चितवनका सिडिओ आस्मान तमाङ यस्ता भाग्यमानी कर्मचारी हुन्, जो लगातार सातौं जिल्लाको प्रमुख जिल्ला अधिकारी बन्न सफल भए ।

“अघिल्लो दिन मात्र लगानी बोर्डबाट तानेर गृहमा भित्र्याइएका सुरेन्द्र पौडेललाई भोलिपल्टै धनुषाको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइनुलाई गृहकै कर्मचारीहरुले ‘दालमे कुछ काला है’ को रुपमा टिप्पणी गर्न थालेका छन् ।”

सिडिओ चलाइसकेका केहीलाई सहायक सिडिओ बनाएर खटाएपछि उनीहरुले गृहसँग विद्रोह गरेका छन् । गृहसँग यसरी विद्रोह गर्नेमा चुणाराम न्यौपाने,विष्णु लामिछाने, विष्णु पौडेल,मित्रलाल शर्मा,इश्वरी ढकाललगायत छन् ।

यसअघि सिडिओ चलाइसकेकाहरुलाई सहायक बनाएर खटाइएसँगै उनीहरुले सरुवा संशोधन गराएका हुन् । यसअघि अध्यागमनमा रहेका चुणाराम न्यौपानेलाई सर्लाहीको सहायक बनाएर खटाइयो । उनी पहिल्यै सिडिओ चलाइसकेका उपसचिव हुन् । त्यसैले खटाएको ठाउँमा गएनन् । गृह प्रशासनका हाकिमसँग जुहारी खोजे र अन्ततः अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हाजिर गराइएको छ ।

न्यौपानेझैं विष्णु लामिछाने मनाङको सिडिओ चलाइसकेका व्यक्ति हुन् । उनलाई त्यहाँबाट तानेर सप्तरीको सहायक सिडिओको रुपमा खटाइयो । उनी पनि गएनन् । बरु अहिले श्रम मन्त्रालयको कर्मचारी प्रशासन महाशाखातिर पुगेका छन् ।

यसअघि अर्घाखाँचीको सिडिओ भइसकेका विष्णु पौडेललाई त्यहाँबाट समय नपुग्दै तानेर बाँकेको सहायक सिडिओ खटाइएकोमा उनले पनि सरुवा संशोधन गराएका हुन् । अहिले उनी भूमि व्यवस्थापन मन्त्रालयमा मन्त्रीको सचिवालयमा पुगेका छन् ।

गृहले खोटाङमा सिडिओ भइसकेका मित्रलाल शर्मालाई त्यहाँबाट तानेर सुर्खेतको सहायक सिडिओ बनाएर पठायो । त्यसो गर्दा उनी पनि खटाएको ठाउँमा गएनन् । सामान्यबाट सरुवा उल्टाइसकेका छन् ।

यता रसुवाको सिडिओ चलाइरहेका ईश्वरी ढकाललाई सात महिना नबित्दै तानेर पोखराको सहायक सिडिओ बनाएर खटाइयो,उनी सरुवा संशोधन गराई संघीय मामिला अन्तरर्गत राखिएका छन् ।

गृह प्रशासनको ज्यादतीविरुद्ध डटेर सामना गर्ने अन्य अधिकृतहरुको संख्या पनि उस्तै छ । उदाहरणको लागि कृष्णराज जोशी (यसअघि अछामको सहायक सिडिओ), कृष्णराज जोशी, इलाका प्रशासन माडीका अशोक दाहाल, काभ्रेका प्रशासकीय अधिकृत हुतराज निरौला, विमल गौतमलगायतले गृह प्रशासनको पेलानलाई संघीय मामिला तथा सामान्य प्रशासनबाट उल्टाइदिएका छन् ।

टिप्पणीहरू