युद्ध मैदानमै छोरो जन्मिएको खबर पाउने जनयुद्धका कमाण्डरको कथा

युद्ध मैदानमै छोरो जन्मिएको खबर पाउने जनयुद्धका कमाण्डरको कथा

राजतन्त्रको समयमा पूर्वी पहाड पाँचथरमा समान्तवादको प्रभाव थियो । तर प्रतिकूल समयमा पनि एउटा कम्युनिष्ट विचारधारा अँगालेको परिवार समाजमा संघर्ष गरेर बाँचिरहेको थियो । दाजु एमाले गाउँ कमिटी सचिव थिए । यसैले पूरै परिवार प्रगतिशील विचारको थियो ।

त्यही परिवारमा ४ साउन २०३९ मा पाँचथरको फिदिम नगरमा जन्मिएका ईन्द्रबहादुर आङबो ‘मौसम’ स्कुल पढ्दादेखी नै माओवादी आन्दोलनमा होमिए ।

शासन व्यवस्था परिवर्तन गराएपछि मात्र मुक्ति हुन्छ र त्यसका लागि लड्नुपर्छ भन्ने विचारमा प्रतिबद्ध उनी जनयुद्धकालमा बिग्रेड कमाण्डर, शान्तिकालमा वाइसीएल नेता हुँदै संघीयता कार्यान्वयनसँगै प्रदेश १ सरकारको दुई पटक आर्थिक मामिला तथा योजना मन्त्री बनिसकेका छन् । अघिल्लो साता सम्पन्न माओवादी केन्द्रको महाधिवेशनबाट उनी पुन केन्द्रीय सदस्य कायम भएका छन् ।

क्रान्तिकारी यात्राको सुरुआत

२०५६ मा आङ्बो कक्षा ११ मा पढ्थे । त्यही बेलादेखि उनी आखिल क्रान्तिकारीमा आवद्ध भए । निरन्तर सक्रिय रहँदै उनी जिल्ला सदस्य हुँदै २०५७ मै पूर्णकालीन सदस्य बनेर अखिलको जिल्ला सचिव भए । २०५८ मा उनी पार्टी संगठनमा आए । उनलाई पार्टीले पाँचथर र ताप्लेजुङ एरियाको सदस्य बनायो । २०५९ मा उनी पार्टी सचिव भए । पार्टीमा उनी ‘मौसम’ नामले चिनिन्थे । उनलाई स्वर्गीय आर्दशवादी नेता गौरिशंकर खड्काले होलटाइमर बनाएका थिए ।

२०६१ मा उनी जनमुक्ति सेनामा गए । पूर्वबाट सेनामा धेरै गए पनि नेतृत्व थिएन । यसैले हक्की, चतुर र लडाकु स्वभावको भएकाले उनी बटालियन कमिसार हुँदै २०६२ मा बिग्रेड कमिसार बनाइए । जनमुक्ति सेनामा हुँदा सोलुसल्लेरी, पाँचथरको गोपेटार, संखुवासभाको चैनपुर, भोजपुरको बन्दीपुर र घोडेटार, इलामको दानाबारी र झापाको बिर्तामोड र सुरुङ्गामा भएको लडाईंमा उनले सक्रियतापूर्वक भाग लिएका थिए ।

युद्ध मैदानमै छोरो जन्मिएको खबर

पाँचथरकी कुमारी लावतीसँग २० बर्षको उमेरमा मौसमले २०६० मा बिबाह गरेका थिए । श्रीमती पनि पार्टीमा जिल्ला कमिटी सदस्य थिइन् । २३ चैत २०६२ मा झापाको सुरुङ्गामा सेनासँग हानाहान भएको थियो । सोही बेला उनको पहिलो छोरा जन्मिएको थियो । उनले छोरा जन्मिएको खबर युद्ध मोर्चामा भएकै अवस्थामा सुने ।

फौजी नेतृत्व छाडेर खुला राजनीतिमा

शान्ति प्रक्रियापछि उनको टोली मोरंङगको यांङगशीलामा ‘रत्न सकुन्तल स्मृति बिग्रेड’ का रुपमा ब्यारेकमा बस्यो । पार्टीको योजना र निर्देशनअनुसार उनी फौजी नेतृत्व छाडेर खुला राजनीतिमा आए । वाईसीएल केन्द्रीय सचिवालय सदस्य तथा मेची ब्युरो अनि पूर्वी कमाण्ड इञ्चार्ज भए । वाइसीएलमा रहँदा उनले गणतन्त्रको पक्षमा माहौल बनाउने काम गरे । र, पार्टीलाई चुनावमा जिताउन युवाहरुको सक्रियता बढाए । पार्टी प्रादेशिक कमटीमा गएपछि लडाकु आङ्बो लिम्बुवान प्रान्तको सहसचिव भएका हुन् ।

प्रचण्डलाई छाडेर वैद्यमा

२०६८ सालमा उनी माओवादी नेता मोहन वैद्यतिर लागे । एमाओवादीबाट फुगेर गएको बैध नेतृत्वको डयास माओवादीको केन्द्रिय सदस्य भए । दोस्रो संविधानसभा बहिष्कार अभियानमा सहभागी भए । तर विप्लवले वैद्यको साथ छाडे । त्यसपछि उनी बादलको नेतृत्वमा एमाओवादीमै फर्केर आए । एमाओवादीले उनलाई केन्द्रीय सचिवालय सदस्य बनायो ।

संविधान निर्माणपछि धमाधम तीनै तहको निर्वाचन भयो । आङ्बो निर्वाचनमा सक्रियतापूर्वक खटे र कार्यकर्तालाई पनि खटाए । २०७४ मा उनले प्रदेशसभामा पाँचथर ‘ख’ बाट विजय प्राप्त गरे । ३ फागुन २०७४ मा प्रदेश १ सरकारको अर्थमन्त्री बने ।

कम उमेरको पहिलो अर्थमन्त्री

३५ वर्षको कम उमेरमै प्रदेशको पहिलो आर्थिक मामिला मन्त्री बनेपछि उनको आलोचना पनि भयो । धेरैले संरचना नै नभएको अवस्थामा अर्थमन्त्रीको भूमिका निभाउन नसक्ने शंका गरे । अर्थशास्त्र नबुझेको र कम पढेको भन्दै टिकाटिप्पणी गरे । तर अध्यनशील आङ्बोले हरेस खाएनन् । उनले सफलतापूर्वक प्रदेश १ सरकारको तीन वटा बजेट प्रस्तुत गरे । त्यत्तिमात्र होइन संघीय सरकारसँग वित्तीय अधिकार प्राप्त गर्न निरन्तर लागिपरे ।

हिजोआज आपतविपतका बेलामा समेत सफल रुपले मन्त्रालय हाँक्ने अर्थमन्त्री भनेर उनको चर्चा हुन थालेको छ । नेकपा विभाजनपछि आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन चलखेल गरेको भन्दै २०७७ फागुनमा पदबाट बर्खास्त गरेका थिए । तर उनले त्यतिबेला पनि हरेश नखाएको माओवादीहरु बताउँछन् ।

प्रदेशसभामा माओवादी केन्द्रको संसदीय दलको नेता बनेर नेतृत्व मात्र गरेर होशियार बनेर प्रदेश १ मा एमालेको सरकार ढालेर काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र संघीय लोकतान्त्रिक मञ्चआबद्ध पाँचदलीय गठबन्धनको सरकार बनाउन समेत उनले उल्लेख्य भूमिका खेलेका थिए ।

सेनाको आक्रमणमा बालबाल बाँचे

त्यतिबेला संकटकालको बेला थियो । २०५८ सालमा पाँचथरको फालेलुङगमा सेनासँग जम्काभेट भयो । त्यतिबेला दुई घण्टा दोहोरो फायरिङ भयो । साथमा रहेका चार जना साथीमध्ये एक जना महिला समातिइन् । तर उनीसहित बाँकी चाँही बालबाल बाँचे ।

सरकारसँग वार्ता चलिरहेको समयमा १० माघ २०५८ मा पाँचथरको गोपेटारमा हमला भयो । त्यो बेला सात जना सहयोद्धा साथीहरु सहिद भएका थिए । फेरि अर्कोपल्ट तेह्रथुमको संंक्रान्ती छेउमा अर्को युद्ध भयो । त्यहाँ २३ जना साथीहरुले सहादत प्राप्त गरे । केही घाइते भए ।

त्यो बेला उनी निक्कै विक्षिप्त भएको उनी निकटस्थहरुले सुनाएका थिए । २०६० मा युद्ध विराम भएकै थिएन मेलबोटो भन्ने ठाउँमा माओवादीमाथि आक्रमण भयो । कम्पनी कमिसार लोचन सहिद भए । त्यो बेला उनी आफैं घटनास्थलमा पुगेर शवको व्यवस्थापन गरेका थिए ।

पत्रकार अधिकारकर्मीप्रति आभार

एकतर्फी युद्धविराम भएको पाँच महिना भएको थियो । तर त्यही बेला २०६२ मा गर्भवती अवस्थामा श्रीमती पक्राउ परिन् । सेनाले ठूलो कमाण्डरको श्रीमती भनेर नछाड्ने अडान लिएको थियो । पत्रकार र मानवअधिकारकर्मीको दबाबमा बल्ल उनी नौ दिनपछि छाडिइन् । कमाण्डर आङ्बोले त्यो बेला पत्रकार र अधिकारकर्मीको भूमिकालाई निकै महत्वकासाथ बुझेकाले उनीहरुप्रति आभार प्रकट गरेका थिए ।

प्रदेशसभामा नेता बनेर सक्रिय भूमिका

आङ्बो हाल प्रदेशसभामा माओवादी केन्द्र संसदीय दलको नेता छन् । उनी प्रदेश सभामा सबै तथ्यसहित खुलेर विपक्षी दलको भूमिका निभाउँछन । प्रष्ट बोल्छन् । प्रखर र तार्किक बिरोध गर्छन् । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनदेखि फिर्ता लिनेसम्म कार्यमा उनले निकै सक्रिय भूमिका खेलेका थिए । हाल आङ्बोले झापा बिर्तामोडको गिरिबन्धु टिस्टेटको अर्बौं रुपैयाँको जग्गा बिक्री गर्ने पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारको नीतिगत भ्रष्टाचारको निर्णय खारेज गराउन आवाज उठाएका छन् ।

जनयुद्ध सफल तर प्रतिबद्धता अझै बाँकी

उनी मूलरुपमा जनयुद्ध सफल भएको ठान्छन् । जनताले आफनै सेना बनाएर एकात्मक राज्यसत्ता व्यवस्था अन्त गरेर राजनैतिक व्यवस्था परिवर्तन गराउन लडाईं सफल भएको उनको बुझाई छ । जनयुद्धकै कारण देशले संविधानसभाबाट नयाँ संविधान पाएको उनको बुझाइ छ । भन्छन्, ‘व्यक्तिले के पाए, के गुमाए त्यो सहायक कुरा हो । तर शान्तिप्रक्रियामा आउनुको निर्णय सफल भएको छ ।’

तर प्रदेश १ सरकारको मन्त्री बनिसकेका कमाण्डर आङ्बो जनयुद्ध सफल भए पनि अझै जनताका सपना चाँही पूरा हुन बाँकी रहेको बताउँछन् । लामो संघर्षको आफनो युद्धकथा छोटोमा सुनाउँदै भन्छन्, ‘संघीयता दिगो बनाउने, पहिचान सुनिश्चित गर्ने र विशेष अधिकारको व्यवस्था गर्ने, जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषण गर्ने प्रतिबद्धता अझै पूरा गर्नसकिएको छैन ।’

प्रस्तुती : गणेश लम्साल

टिप्पणीहरू