इलाका प्रशासन कार्यालयमा एमालेको ताला

इलाका प्रशासन कार्यालयमा एमालेको ताला

रुपन्देहीको बुटवलस्थित इलाका प्रशासन कार्यालयमा अनियमितता भएको आरोपमा गएको मध्यरातमा तालाबन्दी गरिएको छ । कार्यालयभित्र प्रहरी प्रशासनको निर्देशनमा नियमविपरित काम गरिएको भन्दै नेकपा एमालेले गएराति प्रशासन कार्यालयमा तालाबन्दी गरेको हो ।

सत्ताको चरम दुरुपयोग गर्दै नेपाली काँग्रेसले मध्यरातसम्म नियम विपरित मतदाता नामावली भर्ने कार्य गरेको एमाले रुपन्देहीको आरोप छ । एमालेका युवा नेता यम पाण्डेका अनुसार हिजो गरिएको तालाबन्दीको क्रममा मतदाता नामावलीमा नाम दर्ता गर्न आएका १ सय ५० बढी मानिस कार्यालयमा थुनिएका थिए ।

राति पौने एघार बजेसम्म पनि बाक्लो सुरक्षाबीच मतदाता नामावली संकलन हुनु चरम बदमासी भन्दै एमाले रुपन्देहीले उक्त कार्यमा गृहमन्त्रीकै षड्यन्त्र भएको बताएको छ ।

इलाका प्रशासन कार्यालयमा रहेको मतदाता संकलन केन्द्रमा मध्यरातमा नामावली भरिरहेको अवस्थामा थुनिएका सर्वसाधारणलाई आज बिहान घर पठाइएको छ ।

मतदाता नामावली संकलन गर्ने क्रममा नेपाली काँग्रेस बुटवल–१९ का अध्यक्ष टिकाराम पाण्डेको नेतृत्वमा अन्य कार्यकर्ताहरुसमेत परिचालन गरिएको बुटवलका सञ्चारमाध्यमहरुले जनाएका छन् । यता एमालेले भने गृहमन्त्री बालकृष्ण खाँणकै ठाडो निर्देशनमा रित नपुगेका व्यक्तिहरुलाई समेत मतदाता नामावली भराउने काम गराएको आरोप लगाउँदै घटनाको सत्यतथ्य छानबिन गरेर दोषीमाथि कारबाहीको माग गरेको छ ।

टिप्पणीहरू