संक्रमण फैलियो,हवाई यात्रा कटौतीको सम्भावना

संक्रमण फैलियो,हवाई यात्रा कटौतीको सम्भावना

केही दिनदेखि कोरोना संक्रमण फेरि ह्वात्तै बढेको छ । यसबीच नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या पनि नसोचेको अंकमा देखिएको छ ।

गत जेठ र असारमा कोभिड संक्रमणको दोस्रो लहरअघि पनि यस्तै अवस्था थियो । अहिले छिमेकी भारतलगायतका मुलुकमा देखिएको संक्रमणले नेपालमा पनि तेस्रो लहरको खतरा बढाएको छ ।

“अधिकांशमा नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएसँगै बसेको सिसिएमसी निर्देशक समितिको बैठकले सीमा नाका र हवाइ उडान बन्द गर्ने एवम् स्मार्ट लकडाउनसम्मको सम्भावनावारे छलफल गरेको तर कुनै टुंगो भैनसकेको बताइन्छ ।”

कोरोनाको नयाँ लहरलाई ध्यानमा राख्दै हिजो सिंहदरबारमा सीसीएमसी निर्देशक समितिको बैठक बसेको छ । बैठकले अस्पतालहरुलाई तयारी अवस्थामा रहन र सरकारी निकायलाई आवश्यक सतर्कता अपनाउन निर्देशन दिएको छ ।

भारतमा बढेको संक्रमणलाई ध्यानमा राख्दै नेपालमा पर्न सक्ने असरलाई बेलैमा न्यूनीकरण गर्ने उद्देश्यले बैठक बसेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँण,ऊर्जामन्त्री पम्फा भुसाल,सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की,स्वास्थ्य मन्त्री विरोध खतिवडा,खानेपानी मन्त्री उमाकान्त चौधरी,पर्यटनमन्त्री प्रेम आले,श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ, शिक्षामन्त्री देवेन्द्र पौडेल,भूमि मन्त्री शशी श्रेष्ठ,कामू प्रधानसेनापति बालकृष्ण कार्की,स्वास्थ्य सचिव डा. रोशन पोखरेल,प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री,सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल,मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललगायतको उपस्थिति थियो । सिंहदरबारमा बैठक झण्डै दुई घण्टा चलेको थियो ।

बैठकमा खोप अभियानलाई तीव्र पार्नुपर्ने र थप स्वास्थ्य जनशक्तिलाई परिचालन गर्ने सम्बन्धमा पनि छलफल भएको बताइन्छ । कोभिड उपचारको पूर्वाधार अघिल्लो वर्षको तुलनामा अहिले अपेक्षाकृत राम्रो रहेको स्वास्थ्य मन्त्रालयको दाबी छ ।

पछिल्लो २४ घण्टामा ३ सय २४ जनामा कोरोना भाइरस देखिएको र अधिकांशमा नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएसँगै बसेको सिसिएमसी निर्देशक समितिको बैठकले सीमा नाका र हवाइ उडान बन्द गर्ने एवम् स्मार्ट लकडाउनसम्मको सम्भावनावारे छलफल गरेको तर कुनै टुंगो भैनसकेको बताइन्छ ।

बैठकमा प्रधानमन्त्री देउवाले तेस्रो लहर फैलिन नदिनु सरकारको प्रमुख प्राथमिकता भएको उल्लेख गर्नुभएको छ । उहाँले संक्रमण फैलिन नदिन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको हो ।

टिप्पणीहरू