कार्यकर्तालाई विश्वस्त पार्दै थापाले भने,रुखमै भोट हाल्ने हो !

कार्यकर्तालाई विश्वस्त पार्दै थापाले भने,रुखमै भोट हाल्ने हो !

पाँचदलीय गठवन्धनका कारण एकपछि अर्को राजनीतिक लाभ लिइरहेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावमा कांग्रेसले कुनै पार्टीसँग पनि गठबन्धन नगर्ने बताएका छन् । उनले आउँदो चुनावमा कांग्रेस एक्लै प्रतिष्पर्धामा उत्रने दाबी गरे ।

नेपाली कांग्रेस गोरखाले आज आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षणमा थापाले रुखमा बाहेक अन्त भोट हाल्नुपर्ने अवस्था नआउने विश्वास कार्यकर्तालाई दिलाए । भने, ‘अघिल्लो पटक राष्ट्रिय परिस्थिति नै त्यस्तै बनेको थियो,यो पटक त्यस्तो बन्दैन । कांग्रेसका कार्यकर्ताले अबको चुनावमा रुख चिन्हबाहेक अन्त भोट हाल्नुपर्ने अवस्था आउँदैन । म यो विश्वास दिलाउन चाहन्छु ।’

सभापति शेरबहादुर देउवा पक्षधर नेताहरुले आगामी निर्वाचनसम्मै पाँचदलीय गठवन्धनको आवश्यकतामा जोड दिइरहेका बेला इतर खेमाको नेतासमेत रहेका महामन्त्री थापाले भने आगामी वैशाखमा स्थानीय चुनाव हुने र कांग्रेस एक्लै मैदानमा उत्रने दाबी गरेका हुन् ।

‘वैशाखको मसान्तसम्ममा स्थानीय चुनाव हुन्छ र अर्को वर्षको मंसिरसम्ममा आम चुनाव हुन्छ । मैले बुझेको संविधान यही हो’, उनले भने, ‘मैले बुझेको कानुन यही हो र अदालतले संसद् पुनर्स्थापना गर्दा भनेको पनि यही हो ।’

टिप्पणीहरू