बेलायतमा समेत फस्दै गए नेपाली

बेलायतमा समेत फस्दै गए नेपाली

पिरामिड शैलीको धन्दाले स्वदेशमा त ठगिएकै थिए नेपाली । अहिले रूखबाट पाउण्ड टिप्ने सपनामा बेलायत आएर पनि बिल्लीबाठ हुँदै छन् । फाइदै फाइदा देखाएर ग्राहकलाई लोभ्याई ठगी धन्दामा लागेका छन् केही नेपाली र चिनियाँ नागरिक ।

एक हजार पाउण्ड लगानी ग¥यो भने दैनिक ३० पाउण्ड दिने र एक जना मानिसलाई रिफर गरेर सदस्यता बनायो भने शुरुमा ३५ पाउण्ड, पछि दैनिक पाँच पाउण्ड दिने भन्दै पिरामिड शैलीमा यो धन्दा चलिरहेको छ । यसमा हजारौं नेपाली फसिसकेका छन् ।

एक जनाले २१ सय पाउण्डभन्दा बढी लगानी गर्न पाइँदैन भनिएको छ । किनकि धेरै रकम कारोबार गर्दा बैकिङ समस्या हुन सक्ने उनीहरूले राम्ररी बुझेका छन् ।

बुढाथोकी लिमिटेड कम्पनीको नामबाट अनिस बुढाथोकी, काउकाउ लिमिटेडको नाममा विमल चौधरी, पंकज लिमिटेडको नाममा पंकजकुमार साह तथा रोङयीसेङ इम्पोर्ट एण्ड एक्सपोर्ट ट्रेडिङ कम्पनीको नाममा हुवाङ, सिन्ह्वा फुजाउ ट्रेड कम्पनी लिमिटेड सालफोर्डको नाममा सिहुवा हुवाङ र नियानजोन जिओलगायतले ठगी गरिरहेका ती कम्पनीको गतिविधि अध्ययन गरिरहेका कोभेन्ट्रीस्थित एक नेपालीले बताए ।

अनलाइन र मार्केट स्टल राख्ने प्रयोजनसहित दर्ता भएका यी कम्पनीले त्यसविपरीत गैरकानुनी रूपमा पिरामिड शैलीको धन्दा चलाइरहेका हुन् । एप्ससंगै पैसाको कारोवार हुने विभिन्न कम्पनीको सर्च रिपोर्ट अध्ययन गर्दा नेपालीलाई नै लक्ष्य गरेर यो पिरामिड शैलीको धन्दा चलाइएको छ ।

पैसाको कारोवार गर्ने माथिका कम्पनीको इतिहास हेर्दा केही महिनाअगाडि मात्र इङ्ल्याण्डमा दर्ता भएको देखिन्छ । नेपाली र चाइनिज मिलेर कम्पनी दर्ता गरेका हुन् । उल्लिखित कम्पनीको फाइल डिटेल अध्ययन गर्दा सबै म्यानचेस्टरमा छन् ।

अनलाइनबाट रजिस्टर गर्नका लागि कुनै आधिकारिक कागजपत्र नचाहिने हुँदा नेपालीले सजिलै कम्पनी दर्ता गर्छन् । उनीहरूले वेष्ट मनि मेकिङ एप भन्दै देखावटी रूपमा पिटी (पिइन्ट्रेष्ट टास्क मल) एप्स् पनि बनाएका छन् । यो प्रत्यक्ष देखावटी रूपमा मार्केटिङ गर्ने एप्स् हो ।

यसलाई डोमेन रजिस्टर विवरणमा सबै लुकाइएको छ । यो एप्स् एप्पल स्टोर र प्ले स्टरमा समेत छैन, डाइरेक्ट वेवबाट डाउनलोड गर्नुपर्छ । सञ्चालकले सोसल मिडियामा लाइक गरे पैसा कमाइन्छ भन्दै मार्केटिङ गरिरहेका छन् । सञ्चालकहले जति प्रलोभन देखाए पनि ती कम्पनीको विश्वसनीयता सामाजिक सञ्जाल हेर्दा प्रष्टै देखिन्छ ।

पिटी (पिइन्ट्रेष्ट टास्कमल) को युट्युवमा सब्सक्राइबर्स जम्मा ३०८ र फेसबुक पेजमा एकहजार ६ मात्र लाइक छन् । यस्ता कम्पनीविरुद्ध प्रहरीमा उजुरी परेको खण्डमा बेलायतको कानून अनुसार अवैध र साइवरसम्बन्धी स्काम चलाउनेलाई कारवाही हुने कानुनविद्हरूको सुझाव छ ।

टिप्पणीहरू