किर्ते कागज बनाएर अध्यक्षको छोरोसहित अमेरिका घुम्ने सुर

किर्ते कागज बनाएर अध्यक्षको छोरोसहित अमेरिका घुम्ने सुर

संखुवासभाका एक जनप्रतिनिधिले सरकारी खर्चमा अमेरिका जान किर्ते कागज बनाएको खुलासा भएको छ । चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले आफ्ना छोरासहित नौ जनाको खर्च पालिकाले व्यहोर्ने गरी किर्ते कागज बनाएको पाइएको हो ।

२४ मंसिरमा बसेको गाउँ कार्यपालिकाको बैठकले ४-५ माघमा अमेरिकामा हुने छैठौं स्मार्ट सिटिज टेक्नोलोजी सिम्पोजियम एन्ड एक्जिबिसनमा सहभागी हुने जाने टोलीको खर्च गाउँपालिकाले व्यहोर्ने निर्णय गरेको थियो । त्यसैमा टेकेर अध्यक्ष शेर्पाले अमेरिका भ्रमणका लागि संवैधानिक आयोगका सदस्य र छोरासहित नौ जनाको खर्च व्यहोर्ने गरी २४ मंसिरमा निर्णयको किर्ते कागज बनाएको पाइएको छ ।

किर्ते कागज बनाएर अमेरिका जान लागेको भन्दै एमाले र माओवादी केन्द्रले शेर्पामाथि कारबाही माग गरेका छन् । मंसिर २४ गते कार्यपालिकाको १०१औँ बैठकले गरेको ११ औं नम्बरको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको माओवादी केन्द्र चिचिला गाउँ कमिटीका अध्यक्ष डम्बर जंगगुरुङले बताए ।

एमाले जिल्ला कमिटी संखुवासभाले विज्ञप्ति जारी गर्दे विदेश भ्रमणको कार्यक्रम, सहभागी विनियोजित रकमका बारेका भएको नीतिगत निर्णय र आर्थिक अपचलनको विषय उठाएर अध्यक्ष शेर्पालाई कारबाही गर्नुपर्ने बताएको छ । कागज किर्ते गर्ने गाउँपालिका अध्यक्ष शेर्पामाथि कडा कारबाही हुनुपर्ने एमाले अध्यक्ष जितबहादुर घिमिरेले बताए ।

अध्यक्ष शेर्पाले ९ जनाको टोली अमेरिका पठाउन ७६ लाख ९६ हजार ५० रुपैयाँको अनुमानित खर्च विवरण पास गराएका थिए । आफूसहित राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडा, महिला आयोगकी उपसचिव अञ्जु ढुंगाना, नायब सुब्बा मेगेन्द्र न्यौपाने, छोरा छोरा थिलेन शेर्पा, नरेश रिजाल, सुजिना भट्ट र दिपेश रिजाललाई संगै लैजाने गरि उनले निर्णय गराएका थिए ।

दलित आयोगका अध्यक्ष विश्वकर्मा, महिला आयोगकी सदस्य पौडेल, अध्यक्ष शेर्पागरी तीन जनाले १० दिनको भ्रमण र दैनिक भत्ता (टीएडीए) बापत प्रतिव्यक्ति २२ सय ५० डलर (प्रतिदिन २ सय २५ डलर) पाउने निर्णयमा उल्लेख छ । त्यस्तै, ढुंगाना, थिलेन शेर्पा र रिजालले १२ सय ५०, न्यौपाने, भट्ट र दिपेश रिजालले नौ सय डलर (९० डलर प्रतिदिन) का दरले टीएडीए पाउने निर्णयमा छ ।

गाउँपालिकाको ७७ लाख खर्चमा अमेरिका घुम्ने अध्यक्ष शेर्पाको निर्णयको अहिले चौतरर्फी विरोध भैरहेको छ ।

टिप्पणीहरू