भारतमा कोरोना फैलिँदै,नाकामा बल्ल हल्का चालचुल

भारतमा कोरोना फैलिँदै,नाकामा बल्ल हल्का चालचुल

भारतमा कोरोना फैलिदै गएपछि काकडभिट्टा नाकामा सतर्कता अप्नाउन थालिएको छ । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएपछि सरकारले नाकामा पूर्वतयारी अप्नाउन थालेको हो ।

कोरोना संक्रमण घटेसँगै विगतमा नाकाको हेल्थ डेस्कमा ज्वरो नाप्ने थर्मल गन मात्र राखिएकोमा अहिले एन्टिजेन्ट किट, कोरोनाविरुद्धको खोपसहितका स्वास्थ्य सामग्री पनि राखिएको छ ।

अहिले खोपको डोज पूरा गरेको कार्ड देखाएर नाकामा सहज आवतजावत गर्न दिइएको छ । जसका कारण नजिकका भारतीय बजार पानीट्यांकीलगायत क्षेत्र पुगेर दैनिक उपभोग्य सामग्री खरिद गर्नेको भीड हुन्छ । उनीहरूकै कारण नाकामा जोखिम बढेको गुनासो आउन थालेपछि कडाइ गर्न लागिएको हो ।

दैनिक एक हजार बढीले सो नाकाबाट नेपाल प्रवेश गर्ने गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले बताएको छ । तीमध्ये अधिकांश पारीपट्टीबाट दैनिक उपभोग्य सामग्री खरिद गरेर नेपाल फर्कनेहरु हुने गरेको काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनील दाहालले जानकारी दिए ।

स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन माथिल्लो निकायबाट मौखिक निर्देशन आएको उनले बताए । नाकामा दैनिक उपभोग्य सामग्री खरिद गर्नेलाई पनि कडाइ गर्ने निर्देशन आए त्यहीअनुसार अघि बढ्ने डिएसपी दाहालको भनाइ छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले पनि नाकामा कडाइ गरिएको दाबी गरेका छन् । खोप नलगाई नेपाल प्रवेश गरेका नेपाली नागरिकलाई नाकामै खोप लगाइने व्यवस्था गरिएको छ । यस्तै, शंकास्पदलाई नाकामै एन्टिजेन्ट परीक्षणको पनि व्यवस्था गरिएको उनले बताए । ९ पुसबाट नाकामा खोपको कार्यक्रम सुरु गरिएको छ ।

टिप्पणीहरू