एमाले अधिवेशनअघि अध्यक्ष र पदाधिकारीको चर्चा

एमाले अधिवेशनअघि अध्यक्ष र पदाधिकारीको चर्चा

आज अन्यत्रझैं नेकपा एमाले रुकुम पश्चिमको पनि आठौ जिल्ला अधिवेशन हुँदैछ । अधिवेशनले एमाले रुकुम पश्चिमको नयाँ कमिटी चयन गर्नेछ । एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) बनेपछि पहिलोपटक हुन लागेको जिल्ला अधिवेशन र आउने नेतृत्वको बारेमा सबैतिर चासो छ ।

अधिवेशनबाट ७५ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ भने कार्यसमितिको १० प्रतिशत सदस्य मनोनित गर्ने प्रावधान छ । चार जना पदाधिकारी, एक जना आर्थिक विभाग प्रमुख र सदस्यहरु अधिवेशनले चयन गर्ने छ ।

नयाँ नेतृत्व छनौटको विषयमा एमाले कार्यकर्ताहरुबीच नै विभिन्न व्यक्तिको छनौट हुन थालेको छ । हालसम्म एमाले जिल्ला अधिवेशन आयोजक समितिका संयोजक टंकप्रसाद ओली र कर्णाली प्रदेश कमिटी सदस्य नारायणकुमार शाहबीच अध्यक्ष पदका लागि प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपि सहमति मार्फत नेतृत्व चयन हुनुपर्ने कुरामा प्रयास जारी राखिएको बताइन्छ ।

उपाध्यक्ष पदको लागि व्युझना पुन देवकोटा र मनवीर घर्तीको नाम बाहिर आएको छ भने सचिव पदको लागि कर्णबहादुर ओली र शशिराम नेपाली आकांक्षी रहेको बुझिएको छ । त्यसैगरी उपसचिव पदमा दिनेश चन्द, लालबहादुर बुढा र मिजास मल्लको नाम चर्चामा आएको छ ।

उपाध्यक्ष, सचिव र सहसचिव पदमा एक एक जना मात्रै रहने व्यवस्था छ । अधिवेशनबाट पालिकाहरुमा रहेका संगठित सदस्यहरुको संख्याको आधारमा जिल्ला सदस्य चयन हुनेछन् ।

यसअघि अधिवेशनमा प्रमुख अतिथिको रुपमा आउने पक्का भएका पोलिटब्युरो सदस्य खेममान खड्का उपस्थित हुन नसक्ने जानकारी दिइएको छ । तर केन्द्रीय सदस्य तीर्था गौतम र चन्द्रबहादुर विश्वकर्मालगायत अतिथिहरुको उपस्थिति रहने आयोजक समितिको तर्फबाट बताइएको छ ।

टिप्पणीहरू