माघ २ गतेदेखि जताततै कसरी तानिन्छ गोला ?

माघ २ गतेदेखि जताततै कसरी तानिन्छ गोला ?

न्यायालय सुधार भन्दै सर्वोच्च अदालतबाट थालिएको गोलाप्रथा तल्ला अदालततिर पनि सरेको छ । सबै तहका अदालतमा गोला प्रक्रियाबाट मुद्दाको पेशी तोक्ने सर्वोच्च अदालत फुलकोर्ट बैठकको निर्णय कार्यान्वयनमा लैजान सोसम्बन्धी कार्यविधि बनेसँगै तल्ला अदालतमा पनि गोलाप्रथा लागू हुने भएको हो ।

यसअघि फुलकोर्ट बैठकले माघ २ गतेदेखि सबै तहका अदालतहरुमा गोला प्रणाली लागू गर्न नियमावली संशोधनका लागि रजिष्ट्रारसहितको टोलीलाई जिम्मा दिएको थियो । टोलीले नियमावली संशोधन गरी कार्यविधि निर्देशिका जारी गरेको हो । सो निर्देशिकालाई ‘जिल्ला अदालत गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन सम्बन्धी कार्यविधि निर्देशिका, २०७८’नाम दिइएको छ ।

कार्यविधिमा जिल्ला अदालतमा दर्ता भएका सबै मुद्दाको बाँडफाँड,पेशी चढाउने र पेशी सूची निर्धारण गर्ने प्रक्रिया तथा समग्र पेशी व्यवस्थापनलाई निश्चित मापदण्डमा आधारित,अनुमानयोग्य,पारदर्शी र विश्वसनीय बनाउन पेशी व्यवस्थापनलाई स्वचालित विधिमा लैजाने उद्देश्यअनुरुप निर्देशिका जारी गरिएको बताइएको छ ।

“बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदन, विशेष प्रकृतिका निवेदन,कसूर ठहर भई सजाय निर्धारणका लागि सुनुवाइको लागि पेश हुने मुद्दा, प्रारम्भिक सुनुवाइका लागि पेश हुने निवेदन,हेर्दाहेर्दैको मुद्दा,लगातार कारबाही र सुनुवाइ गर्नुपर्ने मुद्दा, डिसमिस,मुद्दा फिर्ता,मिलापत्र, तामेली, म्याद थप, पक्राउ पुर्जीको अनुमति एवम् जरुरी पक्राउ पुर्जीको स्वीकृतसम्बन्धी निवेदन,कल डिटेलसम्बन्धी निवेदन, सम्पत्ति रोक्का/फुकुवासम्बन्धी निवेदन, संशोधनसम्बन्धी निवेदन,दशीको सामान फिर्ता पाउँ भन्ने निवेदनलगायत अन्य भैपरी आउने र पेशी व्यवस्थापन समितिले तोकेका अन्य मुद्दाहरु साप्ताहिक सूचीमा नचढेको भए पनि इजलासमा पेश गर्न बाधा नहुने किटान गरिएको छ । “

‘अदालत र न्यायिक काम कारवाहीप्रति जनआस्था अभिबृध्दि गर्न पेशी व्यवस्थापनलाई दीर्घकालीन रुपमा कम्प्युटर प्रणालीमा आधारित स्वचालित प्रणालीमा लैजाने मूल उद्देश्यअनुरुप न्यूनतम मानवीय हस्तक्षेप हुने गरी पेशी व्यवस्थापन गरिनु वाञ्छनीय हुने भएकाले सर्वोच्च अदालत नियमावली २०७४ को नियम १६४ ले दिएको अधिकार प्रयोग गरी सर्वोच्च अदालतले यो निर्देशिका जारी गरेको छ’, निर्देशिकाको प्रस्तावनामा भनिएको छ ।

गोला प्रक्रियाद्वारा मुद्दाको बाँडफाँड गर्ने,पेशी सूची तयारी र प्रकाशन गर्ने, दैनिक पेशी सूची,साप्ताहिक पेशी सूची प्रकाशनजस्ता विषय कार्यविधिमा समेटिएका छन् ।

गोला प्रक्रियाद्वारा मुद्दा बाँडफाँड गर्दा सामान्यतयाः १५ दिनमा सबै मुद्दाको अनुपात मिल्ने गरी गरिने कार्यविधिमा छ । एक जनाभन्दा बढी न्यायाधीश भएको जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि सामान्यतयाः १५ दिनभित्र सबै फाँटमा मुद्दाको अनुपात मिल्ने गरी प्रमुख भई काम गर्ने न्यायाधीश र स्रेस्तेदारको उपस्थितिमा फाँटवालाले गोला तानी मुद्दा बाँडफाँड गर्नुपर्ने भनिएको छ ।

“प्रत्येक समूहलाई ’फाँट १’, फाँट २’, फाँट ३’, …. गरी क्रमशः जतिजना न्यायाधीश कार्यरत छन्, सोही संख्या बराबरको फाँट नम्बर उल्लेख गरी मुद्दाको समूह सूची तयार गर्ने भनिएको छ । “

साथै,कार्यविधिमा मुद्दा बाँडफाँड गर्दा सरल,सामान्य र विशेष मार्ग समूहका मुद्दा पर्ने गरी वर्गीकरण गर्नुपर्ने छ । त्यसरी वर्गीकृत मुद्दालाई क्रमशः १,२,३ संकेताङ्क दिई वा समूह बनाई सोहीअनुसारका गोला अपारदर्शी थैलीमा राखिने छ । त्यसपछि फाँटवालालाई क्रमशः ती गोला तान्न लगाएर मुद्दा बाँडफाँड गरिने कार्यविधिमा भनिएको छ । यसरी बाँडफाँड भई फाँटको जिम्मामा आएका मुद्दाको बाँकी कारबाही सोही फाँटबाट गर्नुपर्ने पनि कार्यविधिमा छ ।

तर,बाल इजलासबाट सुनुवाई गर्नुपर्ने मुद्दा भने सम्बन्धित फाँटमा पठाउनु पर्नेछ । एकभन्दा बढी बाल इजलास रहेको अदालतमा बाल इजलासबाट सुनुवाई हुनुपर्ने मुद्दाको संकेताङ्क दिई सम्बन्धित फाँटवालाबीच गोला तान्न लगाएर बाँडफाँड गर्नुपर्ने कार्यविधिमा भनिएको छ । यद्यपि कुनै मुद्दासँग सम्बन्धित कसुरमा वयस्क व्यक्तिउपर समेत अभियोगपत्र दायर गरिएको भए त्यस्तो मुद्दा बाल इजलासको मुद्धा रहेको फाँटमा रहने गरी बाँडफाँट गर्नुपर्ने छ ।

कार्यविधिमा मुद्दा बाँडफाँडसम्बन्धी अन्य व्यवस्था पेशी व्यवस्थापन समितिले निर्धारण गरेबमोजिम हुने भनिएको छ ।

त्यसरी मुद्दा बाँडफाँड भएपछि पेशी सूची तयारी र प्रकाशन हुनेछ । मुद्दामा अंग पुगेपछि सम्बन्धित फाँटवालाले मुद्दा सुनुवाइका लागि पेशी तोक्ने व्यवस्था गरिएको छ । पेसी तोक्दा मुद्दाको प्रकृति,दर्ता मिति,कार्यबोझ, प्राथमिकतासमेतलाई विचार गरी व्यवस्थापन समितिबाट निर्धारित कोटाका आधारमा तोक्नुपर्ने कार्यविधिले भनेको छ । तर,स्थगित भएका वा अन्य कुनै कारणले सुनुवाई हुन नसकेका १८ महिना नाघेका पुराना मुद्दाका हकमा भने १५ दिनभित्र पुनः पेशी चढाउने व्यवस्था कार्यविधिले गरेको छ ।

कार्यविधिअनुसार साप्ताहिक पेशी सूची तोक्दा आगामी हप्ताका लागि तारेख तोकिएका मुद्दाको सम्पूर्ण विवरणसहितको सूची प्रत्येक फाँट प्रमुखले बुधबारसम्म तयार गरी श्रेस्तेदारसमक्ष पेश गर्नुपर्नेछ । स्रेस्तेदारले उक्त सूची नियमावली र समितिले निर्धारण गरेको मापदण्ड अनुकूल भए/नभएको जाँचबुझ गरी प्रत्येक शुक्रबार आगामी साप्ताहिक सूची प्रकाशन गर्नेछ । शुक्रबार बिदा परे सोअगावै अदालत खुलेको अन्तिम दिन प्रकाशन गर्नुपर्ने पनि कार्यविधिमा भनिएको छ ।

साप्ताहिक पेशी सूची प्रकाशन गर्दा दैनिक पेशी सूचीमा सुनुवाइका लागि पेश हुने मुद्दाको सुनुवाइको प्राथमिकताक्रमानुसार समूहकृत गरी प्रत्येक मुद्दाको फाँट नम्बर अंकित गरी संकेताङ्क र क्रमाङ्कसहित प्रकाशन गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । साप्ताहिक पेशी सूचीमा मुद्दाको प्राथमिकता र दर्ता क्रमका आधारमा प्रत्येक समूहका मुद्दाको सुनुवाइको क्रम १ बाट क्रमशः २, ३, ४, ….गरी राखिनेछ । प्रत्येक समूहलाई ’फाँट १’, फाँट २’, फाँट ३’, …. गरी क्रमशः जतिजना न्यायाधीश कार्यरत छन्, सोही संख्या बराबरको फाँट नम्बर उल्लेख गरी मुद्दाको समूह सूची तयार गर्ने भनिएको छ ।

कार्यविधिमा साप्ताहिक पेशी सूचीमा नपरेको मुद्दा दैनिक पेशी सूचीमा चढाई सुनुवाई नगरिने प्रष्ट व्यवस्था गरिएको छ । तर, बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदन, विशेष प्रकृतिका निवेदन,कसूर ठहर भई सजाय निर्धारणका लागि सुनुवाइको लागि पेश हुने मुद्दा, प्रारम्भिक सुनुवाइका लागि पेश हुने निवेदन,हेर्दाहेर्दैको मुद्दा,लगातार कारबाही र सुनुवाइ गर्नुपर्ने मुद्दा, डिसमिस,मुद्दा फिर्ता,मिलापत्र, तामेली, म्याद थप, पक्राउ पुर्जीको अनुमति एवम् जरुरी पक्राउ पुर्जीको स्वीकृतसम्बन्धी निवेदन,कल डिटेलसम्बन्धी निवेदन, सम्पत्ति रोक्का/फुकुवासम्बन्धी निवेदन, संशोधनसम्बन्धी निवेदन,दशीको सामान फिर्ता पाउँ भन्ने निवेदनलगायत अन्य भैपरी आउने र पेशी व्यवस्थापन समितिले तोकेका अन्य मुद्दाहरु साप्ताहिक सूचीमा नचढेको भए पनि इजलासमा पेश गर्न बाधा नहुने किटान गरिएको छ ।

कार्यविधिअनुसार त्यसरी पेशी चढेका मुद्दाको सुनुवाई गोलाप्रथाद्वारा निर्धारण हुनेछ । सुनुवाइका लागि श्रेस्तेदारले साप्ताहिक र पूरक पेशीमा चढेका मुद्धा र निवेदनका बारेमा संक्षिप्त जानकारी न्यायाधीशलाई पहिले नै गराउनु पर्नेछ । त्यसपछि प्रत्येक दिन बिहान १० बजे प्रमुख भई काम गर्ने न्यायाधीश र अन्य न्यायाधीश,स्रेस्तेदार एवम् पेशी व्यवस्थापनमा संलग्न कर्मचारी र सूचना प्रविधि प्राविधिकको उपस्थितिमा गोला प्रक्रियाद्वारा दैनिक पेशी सूची निर्धारणको कार्य प्रारम्भ हुनेछ ।

कार्यविधिमा गोला प्रक्रियाका लागि समान रुप,रंग आकार र बनोटका गोटीको प्रयोग गरिने उल्लेख छ । त्यस्ता गोटीलाई अपारदर्शी (नदेखिने) थैलीमा राखिनेछ र जोर गते भए वरिष्ठताको अघिल्लो क्रममा रहेका न्यायाधीशको क्रमबाट र बिजोर गते भए वरिष्ठताको पछिल्लो क्रममा रहेका न्यायाधीशको क्रमबाट गोला तानिने छ । त्यसपछि न्यायाधीशले आफूले तानेको गोटी सबैलाई देखाउने र त्यहाँ उल्लेख भएको फाँट नम्बर अंकित समूह सूची प्रष्ट बुझिने गरी सुनाउनुपर्ने छ । सोको अभिलेख ह्वाइट बोर्डमा उल्लेख गरी कम्प्युटरमा राख्नुपर्ने छ ।

 

टिप्पणीहरू