प्रधानमन्त्री देउवा बालकोट जान तयार

प्रधानमन्त्री देउवा बालकोट जान तयार

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको गतिरोध अन्त्यका लागि प्रतिपक्ष एमालेसँग छलफल गर्नुहुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर सदनको अवरोध हटाउनेबारे छलफल गर्न प्रधानमन्त्री देउवा ओली निवास बालकोट जानेसम्मको तयारीमा लाग्नुभएको हो ।

सत्ता गठबन्धनकी नेतृ तथा राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलका अनुसार सदन खुलाउन प्रधानमन्त्रीले प्रतिपक्ष दलका नेतालाई भेट्ने तयारी गर्नुभएको हो । ‘सदनमा देखिएको अवरोध हटाउन प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग छलफल गर्न तयार हुनुभएको छ,’ उनले भनिन् ।

आफ्नो पार्टी विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको र पार्टीले कारबाही गरेकालाई सांसदको मान्यता दिइरहेको भन्दै एमालेले संघीय संसदको नवौं र चालु दसौं अधिवेशनका बैठकमा नाराबाजी गर्दै अवरोध सृजना गरिरहेको छ ।

गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बिहीबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले ओलीसँग भेटेर राजनीतिक गतिरोध अन्त्यका लागि प्रयास थाल्न लागेको जानकारी दिइएको उनले बताइन् ।

‘आज बसेको बैठकमा संयन्त्र संयोजक रामचन्द्र पौडेलले राजनीतिक गतिरोध हटाउन प्रधानमन्त्री देउवाले ओलीसँग छलफल गर्न लाग्नु भएको ब्रिफिङ गराउनुभयो’, पौडेलले भनिन्, ‘ओली बालुवाटार आउनु भएन भने म आफैँ बालकोट जान तयार रहेको देउवाले पौडेललाई बताउनु भएको बैठकमा जानकारी दिइयो ।’

एमाले सांसदको नाराबाजीका कारण सदन बैठक प्रभावित हुँदै आएको छ । नवौं अधिवेशनका सबै बैठकमा नाराबाजी गरेका एमाले सांसदले चालु १०औँ अधिवेशनका बैठकमा पनि अवरोध सृजना गरिरहेका छन् ।

टिप्पणीहरू