झापामा खाना पकाउने ग्यास बिस्फोट : एकको मृत्यु, १२ घाइते

झापामा खाना पकाउने ग्यास बिस्फोट : एकको मृत्यु, १२ घाइते

घरमा लागेको आगो निभाउने क्रममा ग्यास बिस्फोट हुँदा झापामा एक जनाको ज्यान गएको छ । मेचीनगर नगरपालिका ७ स्थित केशव पाठकको घरमा गएराति अचानक आगलागी भएको र आगो निभाउने क्रममा ग्यास पड्कँदा मेचीनगर ८ की ४५ वर्षीया शारदा राजवंशीको मृत्यु भएको हो ।

उक्त बिस्फोटमा अरु १२ जना घाइते भएका छन् । सो घरमा रामेछापका कुमार पाण्डेको परिवार बस्दै आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिनुभएको छ ।

टिनको छानो र चित्राले बारिएको एक तले कच्ची घर पूर्णरुपमा जलेर नष्ट भएको छ । घाइते १२ जनामध्ये ११ जनाको बिर्तामोडस्थित बिएण्डसी असप्तालमा उपचार भइरहेको छ । मेचीनगर ८ की ८ वर्षीया सुशीला अधिकारी उपचारपछि घर फर्किएकी छन् ।

विस्फोटबाट बिर्तामोड ९ का २९ वर्षीय गोविन्दप्रसाद राजवंशी, मेचीनगर ७ का ३२ वर्षीय दिपेन्द्र कार्की, ३८ वर्षीय चन्दन गौतम, ४० वर्षीय सुवलाल राजवंशी, ३५ वर्षीय विनोद गिरी, ३५ वर्षीय नवराज श्रेष्ठ, २३ वर्षीय सन्देश बोहोरा, ४० वर्षीय भवानीशंकर न्यौपाने, ३६ वर्षीय हरि विक र ३६ वर्षीय निर्मल शर्मा एवम् मेचीनगर ८ का ४० वर्षीय लेखनाथ तिमल्सिना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

टिप्पणीहरू