नागरिकता लिन सर्वसाधारणलाई सकसै सकस

नागरिकता लिन सर्वसाधारणलाई सकसै सकस

-लेखनाथ शिकारु

पाँचथर जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र पाउन सेवाग्राहीले अनावश्यक झण्झट र समस्या व्यहोर्नु पर्ने अवस्थाको अन्त्य गर्न जिल्लाका जनप्रतिनिधिहरुले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।

जिल्लामा नागरिकता पाउने सवालमा विभिन्न झण्झट भएको जनगुनासोका आधारमा आज प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई भेटेर पाँचथरका जनप्रतिनिधिहरुले त्यस्तो ध्यानाकर्षण गराएका हुन् ।

पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङसहित स्थानीय तहका प्रमुखहरुले यस्तो समस्या तत्काल समाधान गर्न ध्यानाकर्षण गराएका हुन् । सोक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु समेत सहभागी थिए ।

जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको तीन सातासम्म सेवाग्राहीले नागरिकताको प्रमाणपत्र तथा प्रतिलिपि नपाएको, नागरिकताको प्रमाणपत्रसम्बन्धी सामान्य विषयमा समेत प्रहरी मुचुल्का तयार पार्न प्रशासनले सिफारिस मागेको गुनासो सार्वजनिक भएपछि जनप्रतिनिधिको ध्यानाकर्षण भएको हो ।

नेपाली काँग्रेस पाँचथरले भने यसअघि नै समस्यालाई सहज बनाउन प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराइसकेको थियो ।

समयमा काम नहुँदा सेवाग्राहीले आर्थिक भार व्यहोर्नुपरेको गुनासो आएको छ । जिल्ला प्रशासनको सेवा प्रवाहबारे आमनागरिकमा तीब्र असन्तुष्टी पैदा भएपछि जनप्रतिनिधिहरुले त्यस्तो अवस्था तत्काल हल गर्न आग्रह गरेका हुन् ।

स्थानीय तहको निर्वाचन हुने चर्चापछि नागरिकताको प्रमाणपत्र लिने लगायत सेवाग्राहीको संख्यामा वृद्धि भएपछि प्रशासनको सेवा प्रवाहबारे प्रश्नहरु उठ्न थालेका हुन् ।

प्रशासनमा दैनिक औसत एक सय जना सेवाग्राहीको नागरिकताको प्रमाणपत्र तथा प्रतिलिपि लिनमा लागि पुग्ने गरेको भए पनि दैनिक तीन सयको हाराहारीमा सेवाग्राहीहरु आएपछि केही समय यता सेवा प्रवााहमा समस्या आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सेवाग्राहीको चापपछि बिहान ७ बजेदेखि नागरिकता वितरण भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी धनञ्जय शाहले दाबी गर्नुभएको छ ।

टिप्पणीहरू