अदुवा कुहिने डरमा किसानहरु

अदुवा कुहिने डरमा किसानहरु

तेह्रथुमस्थित फेदाप गाउँपालिका–३ मा उत्पादित अदुवाले बजार नपाएपछि त्यहाँका किसान चिन्तित बनेका छन् । आफूले रोपेको अदुवाले बजार नपाएपछि किसानहरु चिन्तित बनेका हुन् । सोही गाँउपालिकाका भोगेन्द्र लिम्बुले ६ रोपनी क्षेत्रफलमा अदुवा खेती गर्दै आएका छन् ।

अदुवा बिक्रीबाट मात्रै उनले गत वर्ष तीन लाख रुपैयाँ आम्दानी गरेका थिए । अरु अन्नबालीभन्दा राम्रो आम्दानी हुन थालेपछि उनले परम्परागत खेती मास्दै अदुवा खेती रोजेका थिए ।

निरन्तर अदुवाको मूल्यमा कमी आउनु र उचित बजार नपाउनुले यतिबेला भने लिम्बु चिन्तित बनेका हुन् । किसानले उत्पादन गरेको अदुवाको अहिले निकासीसमेत ठप्प छ । मूल्यमा आएको कमी र निकासी नहुँदा किसानको मुख्य आम्दानी स्रोत नै गुमेको छ ।

अदुवा खेती नै मुख्य आम्दानीको स्रोत भएका किसानलाई परिवार धान्न सकस हुने गरेको छ । ‘पोहोरसम्म व्यापारीहरू घरघरै आउँथे तर, यो साल अदुवा खरिदका लागि व्यापारीले सोधखोजसम्म गरेका छैनन्,’ उनले भने ।

गाउँगाउँमा सडक सञ्जाल जोडिएसँगै ग्रामीण क्षेत्रमा उत्पादन भएको कृषिउपजले बजार पाउँदै गर्दा किसानहरूले उत्पादन गरेको अदुवा भने अहिले बारीमै कुहिन थालेको छ ।

गत वर्ष ५० रुपैयाँ प्रतिकिलो बिक्री भएको अदुवाले यो वर्ष मूल्यमा कमी आएपछि बजार पाउन नसकेको हो । किसानलाई यतिबेला आफूले उत्पादन गरेको अदुवाले बजार नपाउँदा निल्नु न ओकल्नु बनेको छ । राम्रो आम्दानी हुने आशले व्यावसायिक अदुवा खेतीमा लागेका तेह्रथुमका किसान अदुवा बिक्री नहुँदा चिन्तित देखिएका छन् ।

जिल्लामा उत्पादित अदुवालाई प्रशोधन गरी बजारसम्म पुर्याउन प्रशोधन केन्द्रको अभाव भएकाले पनि किसानहरुले उत्पादिन अदुवा बजारसमम लैजान सकेका छैनन् । यातायातको सुविधा नहुँदा त्यतिकै खेर जाने अदुवा गाउँगाउँमा पुगेको सडकले बजारसम्म पुर्याउन सहज भएको थियो ।

जिल्लामा दुई सय ७० हेक्टरमा अदुवा खेती हुँदै आएको कृषिज्ञान केन्द्र धनकुटाका कृषि प्राविधिक विशाल राईले जानकारी दिए । जिल्लाको ६ वटै पालिकामा खेती हुँदै आए पनि आठराई गाउँपालिकामा अदुवा सबैभन्दा धेरै उत्पादन हुन्छ ।

टिप्पणीहरू